Wednesday, November 20, 2024

तीन पुस्तादेखि जंगल क्षेत्रमा बास, छैन लालपूर्जा

नेपालगञ्ज–राप्ती नदीको किनारासँग जोडिएको जंगलको छेउमा रहेको भम्का गाउँमा खुना समुदायको बस्ती छ। खुना समुदायको मुख्य पेशा माछा मार्ने, सुन चाल्ने र डुंगा चलाउने हो।

राप्ती सोनारी गाउँपालिकाको कसुमस्थित भम्का गाउँमा रहेको खुना समुदायको घर।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कसुमस्थित भम्का गाउँमा करीब २ सय घर खुना परिवारको छ। तीन पुस्तादेखि यहाँ बसाबोस गर्दै आएपनि आफूहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जासम्म पाउन नसकेका खुना समुदायका अगुवा क्षेत्रप्रसाद खुनाले बताए।

भम्का गाउँ पुग्न कुसुम बजारबाट करीब एक किलोमिटर दक्षिणतर्फ गएर राप्ती नदी पार गर्नुपर्छ। तीन पुस्तादेखि खुना समुदायको बसोबास गर्दै आएको क्षेत्रमा पुग्न अहिले पनि जोखिम पूर्ण अवस्थामा काठको सानो डुंगा तर्नु पर्छ । राप्ती नदीमा झोलुङ्गे पुलसम्म नबनेका कारण खुना समुदायका मानिसलाई कसुम बजारसम्म पुग्न र घर फर्कन निक्कै गाह्रो छ। सानो डुंगा चढेर उनीहरु ओहोरदोहोर गर्दै आएका छन्।

गाउँमा कक्षा ५ सम्म पठनपाठन हुने बिद्यालय भए पनि कक्षा ६ भन्दा माथिल्लो तहमा पढ्ने खुना सुमदायका बिद्यार्थीहरु हरेक दिन जोखिमपुर्ण रुपमा डुंगाबाट राप्ती नदी वारपार गरेर विद्यालय जाने र घर फर्कन गर्न बाध्य छन्।
डुंगाबाट नदी वारपार गर्दा किताव, कापी, डे«स र झोला भिज्ने, नदीमा बग्ने जस्ता समस्या खेप्नु परिरहेको कक्षा ७ मा अध्ययनरत रञ्जित खुनाले बताए। भम्का गाउँबाट दैनिक करीब २५ जना बिद्यार्थी डुंगाको सहायताले नदी पार गर्छन र, विद्यालय जान्छन्।

राप्ती नदीमा बालुवा चालेर सुन खोज्ने, माछा मार्ने खुना समुदायको पेशा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि संकटमा परेको हो। बालुवा चालेर सुन खोज्ने, माछा मार्ने पेशा संकटमा परेपछि खुना समुदायका युवाहरु मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्, भने बाँकी युवा बुटबल, नारायणघाटदेखि काडमाडाैं तथा भारतका सीमावर्ती शहरमा जाने गरेका छन्।

राप्ती नदीमा पुल नहुँदा जोखिमपूर्ण रुपमा नदी पार गर्दै भम्का गाउँका खुना समुदायका मानिसहरु ।

खुना समुदायका व्यक्ति परापूर्वकालमा दाङको देउखुरीको खोनपुरुवबाट बसाइँ सरेर बाँकेको कुुसुमस्थित भम्का गाउँमा बसोबास गर्न थालेका हुन्। दाङ, बाके र कञ्चनपुरमा खुना समुदायको बसोबास छ। थारु समुदायसँग घुलमिल भएकाले खुना समुदाय पनि थारु समुदाय जस्तै देखिएपनि खुना समुदायको आफ्नै रीतिरिवाज र संस्कृति रहेको माया खुनाले बताइन्।

सूचीकृत भएका अल्पसंख्यक र सीमान्तकृत समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा, सुविधा दिँदै आएको छ ।

नयाँ संविधानले अधिकाश अल्पसंख्यक उत्पीडित, सीमान्तकृत समुदायलाई सूचीकृत गरेर विभिन्न सेवा र सुविधा उपलब्ध गराएको भए पनि बाँकेको राप्ती सोनारीमा बसोबास गर्दै आएका अल्पसंख्यक खुना सुमदाय भने सूचीकृत हुन पाएका छैनन्। विभिन्न समयमा राष्ट्रपति, प्रधानमन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको शिक्षक भुवन खुनाले बताए।

ताजा समाचार

सम्बन्धित समाचार