Wednesday, November 20, 2024

डढेलोले उजाड बन्दै महोत्तरीका वन

बर्दिवास – बसन्त लागेपछि नयाँ पालुवा फेरिन नपाउँदै महोत्तरी जिल्लाका वनक्षेत्रमा वर्षेनी लगाइने डढेलोले यहाँको वनक्षेत्र उजाड बन्दैछ। प्रत्येक वर्ष फागुन लागेसँगै बढ्ने डढेलो नियन्त्रणका लागि पूर्वसजगता नअपनाइँदा वन क्षेत्र उजाड हुने क्रम बढेको हो।

“वसन्त ऋतुलाई रुखबिरुवाले नयाँ पालुवा फेरेर नयाँ जीवन शुरु गर्ने मौसमका रूपमा अथ्र्याइन्छ, तर हाम्रो वनक्षेत्रका रुखबिरुवा वसन्तपूर्व नै डढेलोले सखाप हुन्छन्” जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछी बस्तीका मीन रहपालले आफ्नै बस्तीछेउको वनक्षेत्रमा डढेलोले ठुट्याएको सालका ठुटा देखाउँदै भने। वनक्षेत्र वर्षेनी फागुन लागेसँगै बढ्ने डढेलो र लाथ्रा (कलिला रुख) काट्ने क्रमले नाङ्गिदै गएको रहपालको थप भनाइ छ।

बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने वनक्षेत्रमा डढेलो लगाउने र लाथ्रा काटिने क्रम बढेपछि महोत्तरी जिल्लाको वन क्षेत्र नाङ्गिने क्रम बढेको हो । पूर्व–पश्चिम राजमार्ग वारिपारिको वन क्षेत्रमा डढेलो लगाउने र लाथ्रा काट्ने क्रम ह्वात्तै बढेपछि यहाँका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा अब रुखभन्दा ठुटा (डढेलोले डढाएर र काटिएर बाँकी रहेको रुखको भाग) बढी देखिने गरेको वनक्षेत्र नजिकको बस्तीका बासिन्दा बताउँछन्।

डढेलोसँगै साल र अन्य संरक्षित जातिका कलिला लाथ्रा काट्ने क्रम नरोकिएपछि वन क्षेत्र उजाड बन्दै गएको वनक्षेत्र नजिकका बासिन्दाको भनाइ छ। “खै वन हेर्ने, रुङ्ने कोही देखिँदैनन्, काट्नेले काटेकै छ, दिनहुँ लाग्ने डढेलोले त घरमा सन्चसँग सुत्न पनि पाइँदैन” वनक्षेत्र छेउकै बेलगाछीको ढल्केवरकी शुकमाया म्रिङचिङ्ले भनिन, “वनमाराका झिक्रा घरमा बाल्न ल्याउने गरीबगुरुवालाई हप्कीदप्की गर्ने वनका सिपाहीले डढेलो लाउने र लाथ्रा काट्ने चैँ देख्दैनन् क्या र ?”

फागुन शुरु भएसँगै बढेको डढेलो लगाउने क्रम नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम ह्वात्तै बढेको स्थानीयवासीको भनाइ छ । वन रक्षक सेवाको काम नभएर जागिर भएको बुझ्ने प्रवृत्ति र वन कार्यालयको उदासीनताले वन उजाड हुँदै गएको वन क्षेत्रसँगै जोडिएको गौशाला नपाकै लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन्। “दिनदिनै डढेलोले वन खरानी बनाउँदै छ” आफ्नो बस्ती नजिकको डढेलोले खरानी बनाएको वन प्लट देखाउँदै महतोले भने, “न डढेलो लगाउने समातिएका छन्, न लाथ्रा काट्ने नै १” वन कर्मचारीको कामप्रतिको उदासीनताले वन सखाप भइरहेको महतोको आरोप छ।

फागुन लागेसँगै वनमा डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको यस क्षेत्रका बुढापाकाको ठम्याइ छ । त्यसैगरी स–साना काँचा लाथ्रा काट्न सामान्य घरेलु हतियार (खुकुरी, खुर्पा, बञ्चरो) भए हुने, यस्ता लाथ्रा काट्न धेरै समय नलाग्ने र चाँडै सुक्ने भएकाले वन पसेका सर्वसाधारणले ससाना बुट्यान काट्ने गरेका लक्ष्मीनियाँकै बटुवा बस्तीका सूर्यनारायण महतो बताउँछन्।

वनसम्बद्ध कार्यालयले डढेलो नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दा एक मुखले बताउँछन्। ठूला रुख तस्करकोे र ससाना बुट्यान वन क्षेत्र वरिपरिका बासिन्दाको चपेटामा पर्नु र डढेलो नियन्त्रण नहुनुले जिल्लाको वन क्षेत्र उजाड बन्दै गएको बर्दिवास–११ खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक बिपी श्रेष्ठले चिन्ता व्यक्त गरे।

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको जिल्लास्थित वन कार्यालयले जनाएको छ तर, पछिल्ला केही वर्षयता वन क्षेत्र रुखबिहीन बन्दै गएको छ । “भन्न त नक्सामा देखिने वन क्षेत्र २४ हजार हेक्टरभन्दामाथि देखिन्छ” वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले भने, “तर, वर्षेनी अतिक्रमण नरोकिनु, डढेलो बढ्दै जानु, लाथ्रा काट्ने क्रम बढ्नु र बूढा रुख काटेपछि नयाँ रोप्ने चलन नबसाइएपछि अब वनक्षेत्र १६ हजार हेक्टरमुनि झरिसकेको छ ।” यादवले अगाडि भने,“वनका रुख मानव प्रयोगका हुन्, यि बूढा भएर धोद्रिएपछि उपयोगविहीन हुनसक्छन्, त्यसैले पाका रुख काटने र नयाँ रुख रोप्ने वैज्ञानिक प्रणाली नबसालेसम्म साँचो अर्थमा रुखको उपयोग र वन संरक्षण हुन सक्दैन।”

यता वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको वनसम्बद्ध कार्यालयका कर्मचारी पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको बताउँछन् । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने भएकाले डढेलो नियन्त्रण र लाथ्रा काट्ने क्रम समुदायकै सहभागिता र सहयोगमा निरुत्साहित गर्न सकिने इलाका वन कार्यालय बर्दिवासका सहायक वन अधिकृत चन्देश्वर यादव बताउँछन्। –गोपालप्रसाद बराल/रासस

ताजा समाचार

सम्बन्धित समाचार