Wednesday, November 20, 2024

अन्याेलमा बाहिरी चक्रपथ : बीचैमा गायव भयो आयोजनाको प्रतिवेदन

काठमाडौँ – उपत्यकाको तीन जिल्लालाई छुनेगरी निर्माण गर्न लागिएको बाहिरी चक्रपथको काम शहरी विकास मन्त्रालय र आयोजनाबीच समन्वय नहुँदा बीचैमा अलपत्र परेको छ।

पहिलो खण्डको चोभारदेखि गाम्चा हुँदै सतुंगल सम्मको ६ किलोमिटर सडक खण्डको कित्ताकाटको विषयमा टुंगो नलाग्दा आयोजनाको काम त्यतिकै अलपत्र परेको हो।

बाहिरी चक्रपथ आयोजना र शहरी विकास मन्त्रालयबीच समन्वय नहुँदा उक्त आयोजना बीचैमा अलपत्र परेको आयोजनाका प्रमुख दिलीप भण्डारीले बताए।

उनी मन्त्रालयले बाहिरी चक्रपथलाई प्राथमिकतामा नराखेकाले कुनै पनि काम अगाडि बढ्न नसकेको बताउँछन्।

पहिलो खण्डको खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ वटा सानाकित्ता परेपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि मन्त्रालयले आयोजनालाई पुनः सर्वे गरी प्रतिवेदन मन्त्रालय पठाउन भनेको थियो । आयोजनाले उक्त कार्य सम्पन्न गरेर प्रतिवेदन मन्त्रालयमा पठाएको तर मन्त्रालयबाट केही पनि जवाफ नआएको उनको भनाई छ ।

‘हामीले गर्ने सबै काम सकेर प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छौँ उनले भने, ‘मन्त्रालयल र अन्य कसैले पनि बाहिरी चक्रपथलाई प्राथमिकता दिएका छैनन्, त्यसैले काम ठप्प छ ।’

तर, मन्त्रालय भने आयोजनाले पठाएकाे प्रतिवेदन प्राप्त नभएकाे बताउँछ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडी  आफूले अहिलेसम्म कुनै पनि प्रतिवेदन प्राप्त नगरेकोले काम अगाडि बढाउन नसकेकाे बताउँछन्।

‘पहिलो चरणमा निर्माण गरिने भनिएको चोभार–सतुंगल खण्डमा कित्ताकाटको समस्या देखिएपछि पुनः अध्ययन गरेर प्रतिवेदन पठाउन भनेका थियौँ, उनले भने, उताबाट फाइल पठाइयो भन्ने सुनेको हो तर म कहाँ आइपुगेका छैन् ।’

आयोजनाले पठाएको प्रतिवेदन मन्त्रालयमा नपुगी बीचैमा गायव भएपछि बाहिरी चक्रपथको काम शून्य भएको हो।

यो सँगै ७२ किलोमिटर लामो बाहिरी चक्रपथको डिपिआरको विषयमा पनि टुंगो लाग्न सकेको छैन्। यसअघि खण्ड खण्ड गरी डिपिआर तयार पार्दै निर्माण कार्य अगाडि बढाउने भनिएपनि बीचमा फेरि ७२ किलोमिटरको डिपिआर एकैचोटी बनाउने आवाज उठेको थियो । यस विषयमा पनि अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन्।

बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ। त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।

बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार