माथिल्लो त्रिशूली ३-बी जलविद्युत् आयोजनाको शिलान्यास

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३–बी जलविद्युत आयोजनाको शिलान्यास गरेका छन्।

नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) सहितको लगानी रहेको आयोजना निर्माणको काम आइतबारबाट शुरु भएको हो। यसअघि उक्त आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएता पनि विशेष कारणले स्थगित भएपछि मन्त्री पुनले शिलान्यास गरेका हुन्।

‘इन्जिनियरिङ, खरीद तथा निर्माण’ मोडेलमा निर्माण गरिने आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रहेको छ।

२९ फागुन २०७७ फागुनमा सक्ने लक्ष्य लिइएको आयोजना निर्माणका लागि २९ माघ २०७४ मा चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार मुख्य सुरुङ (३८०० मिटर), विद्युत् गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम शुरु गर्ने अवस्थामा रहेको छ।

रसुवा र नुवाकोटमा निर्माण हुने आयोजना प्राधिकरणले हाल निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली ३–ए को क्यास्केड हो। क्यास्केड भएकाले आयोजनाको बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन। आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशतसँगै रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत शेयर छ। त्यस्तै, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ।

कम्पनीका प्रबन्ध–सञ्चालक मोहन गौतमका अनुसार विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुनेछ। आयोजनाको विद्युत् गृहबाट करीब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सब–स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ।

ताजा समाचार

सम्बन्धित समाचार