पत्रपत्रिकामा आज : मुहान किनेर पानी, दुई तिहाइ हिउँ पग्लने चेतावनी, आफ्नै वनका काठ कुहिए ।

काठमाडौं– आजका दैनिक पत्रपत्रिकामा जलवायु परिवर्तनको प्रभाव, काठ , विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार प्रकाशित छन् ।

कान्तिपुर
दुई तिहाइ हिउँ पग्लने चेतावनी शिर्षकमा गोविन्द पोखरेलले समाचार लेखेका छन् । समाचारमा भनिए अनुसार विश्वमा १ दशमलव ५ डिग्री तापक्रम बढ्दा हिमाली क्षेत्रमा २ दशमलव १ डिग्री तापक्रम बढ्ने संभावना छ ।

विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने बताइएको हो ।

५ वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ वटा संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले यस्तो चेतावनी दिएको हो ।

जलावायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) ले शताब्दीको अन्त्यतिर १ दशमवल ५ डिग्री सेल्सियसमा कायम गर्नुपर्ने सुझाव दिइरहेका बेला हिन्दुकुश हिमालयमा क्षेत्रमा २ दशमलव १ डिग्री तापक्रम बढ्ने प्रतिवेदन आएपछि यसले हलचल ल्याएको छ ।

विश्वमा धेरै हरित गृह ग्यास उत्सर्जन गर्नेमा अमेरिका, चीन, भारतजस्ता मुलुक पर्छन् । यो प्रतिवेदनले यी देशलाई जलवायु परिवर्तनको असरका बारेमा झक्झकाउने बुझिएको छ ।

शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने प्रतिवेदनमा उल्लेख छ ।

इसिमोडका अनुसन्धानकर्ता एवं उपमहानिर्देशक एकलव्य शर्माले भने, ‘शताब्दीको अन्त्यतिर संसारमा १ दशमलव ५ डिग्री तापक्रम पुग्दा पनि हिमालय क्षेत्रमा २ दशमलव १ डिग्री सेल्सियस तापक्रम पुग्छ ।’
शर्माका अनुसार अहिलेकै अवस्थामा विश्वमा कार्बन उत्सर्जन भइरहने हो भने हिमालयका केही क्षेत्रमा ५ डिग्री सेल्सियस तापक्रम बढ्छ ।

यस्तै, रिमोट सेन्सिङबाट गरिएको अध्ययनबाट सन् १९८० देखि ठूला हिमतालमा हिउँले ढाकिएको भाग घटदै गएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सन् १९७० देखि हिन्दुकुश हिमालयको १५ प्रतिशत हिउँ पग्लिएको छ ।

मौसमविद्समेत रहेका इसिमोडका सिनियर क्लाइमेट चेन्ज स्पेसलिस्ट अरुणभक्त श्रेष्ठले भने, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर मनसुनी वर्षामा देखिन्छ ।

प्रतिवेदनले यस क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तत्काल उपाय अपनाउन सुझाव दिँदै हिमालय क्षेत्रको तापक्रम वृद्धिको तथ्यांकसमेत दिएको छ । प्रतिवेदनमा सन् १९०१ देखि १९४० सम्म हिन्दुकुश हिमालयमा तापक्रम बढेको र १९४० देखि १९७० सम्म तापक्रम घटेको उल्लेख छ ।

यस्तै, सन् १९७० देखि अहिलेसम्म यस क्षेत्रमा तापक्रम बढिरहेको देखाइएको छ । पछिल्लो ५० वर्षयता हिन्दुकुश हिमालयमा शून्य दशमलव २ प्रतिशत प्रतिदशकको दरले तापक्रम बढिरहेको उक्त प्रतिवेदनले देखाएको छ ।

हिउँ पग्लिने मुख्य कारण वायु प्रदूषणलाई मानिएको छ । मुख्य रूपमा हावामा रहेका घुलित कण (एरोसोल), कार्बन र धूलो हिउँमा टाँसिने र तापक्रम सोस्ने गर्छन् । जसका कारण तापक्रम वृद्धि भई हिउँ पग्लन्छ । यस क्षेत्रमा हिमताल विस्फोटनको खतरा पनि उत्तिकै बढेको औंल्याइएको छ ।

जलवायु परिवर्तनका कारण इन्दुस, गंगा र ब्रह्मपुत्रजस्ता नदीमा पानीको बहाव बढ्नेछ ।

राजधानी
आफ्नै वनका काठ कुहिए, विदेशबाट पौने ६ अर्बको आयात शिर्षकमा सविन शर्माले लेखेको समाचार राजधानीले प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै ५ अर्ब ७५ करोड रुपैयाँबराबरको काठ आयात भएको छ ।

नेपालको वनमा काठ कुहिएको अवस्था भए पनि त्यसको व्यवस्थापनमा सरकारको ध्यान नहुँदा आयात बढेको विज्ञहरूको भनाइ छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएको थियो ।

इन्डोनेसिया, मलेसिया, म्यानमार, युक्रेनलगायत मुलुकबाट १ अर्ब ५१ करोड ५० लाख १५ हजार रुपैयाँबराबरको गोलिया काठ आयात भएको भन्सार विभागले जनाएको छ ।

‘गत आर्थिक वर्षमा भारत, चीन, म्यानमार, इन्डोनेसिया, सिंगापुरलगायत मुलुकबाट १ अर्ब ६३ करोड ६३ लाख ७० हजार रुपैयाँबराबरको चिरान काठ आयात भएको छ,’ विभागका महानिर्देशक तोयम रायाले भने, ‘यसबाहेक भारत, चीनलगायत मुलुकबाट ६३ करोड ८३ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको काठका प्लाई तथा बोर्ड आयात भएको देखिन्छ ।’
नेपालमा प्लाई काठ सबैभन्दा बढी भारत र चीनबाट आयात हुने गरेको छ । साथै झ्याल ढोकामा प्रयोग हुने फ्रेमदेखि दाँत कोट्याउने टुथपिनसम्मका काठका सामान पनि विदेशबाट आयात हुने गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा मुलुकमा कुल वस्तु आयात १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँ मूल्यबराबरको भयो । निर्यात भने जम्मा ८१ अर्ब १९ करोड रुपैयाँको मात्र भएको देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मुलुकभित्र राष्ट्रिय, सामुदायिक र निजी वनक्षेत्रबाट गरी कुल १ करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने वार्षिक ३ करोड घनफिटको हाराहारी रहेको छ ।

काठको आपूर्ति व्यवस्था झन्झटिलो भएर जंगलमा काठ सडेर खेर जाने अवस्था छ । वनको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा मागअनुसार स्वदेशमै काठ उत्पादन हुन नसकेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन् ।

अन्नपूर्ण पोष्ट
मुहान किनेर पानी शिर्षकमा प्रदीपचन्द्र राई र सन्तोष गौतमले भोजपूरबाट समाचार लेखेका छन् ।
भोजपुर दिङ्ला बजारका घनश्याम श्रेष्ठ, हेमराज श्रेष्ठ, खिलराज श्रेष्ठ र डुन्डी श्रेष्ठले २०÷२० हजार रुपैयाँ उठाएर खानेपानी मुहान खरिद गरेको उल्लेख छ । षडानन्द–८ तुंगेछास्थित पोष्टबहादुर चापागाईंका नाममा रहेको खानेपानी मुहानलाई उनीहरूले ८० हजारमा लगाएर किनेका हुन् ।

पानी उम्रिएको चार आना जमिन किनेपछि मात्र श्रेष्ठ दाजुभाइले खानेपानी जोहो गर्न सके । ‘जग्गाधनीले पानी लैजानका लागि मुहान र वरपर रहेको जग्गा किन्नै पर्ने सर्त राखे’, हेमराजले भने, ‘हामीसँग कुनै विकल्प भएन । खानेपानीको संकट टार्न पनि मुहान खरिद गरेर घरसम्म पाइपमार्फत पानी ल्यायौं ।’

उनका अनुसार गाउँ नजिकका मुहान सुक्न थालेका छन् । ‘पहिले पानी उम्रिने ठाउँमा अहिले मुहानै सुकिसके । गाउँघरमा एउटा–दुईटा मात्र मुहान बाँकी छन्’, उनले भने, ‘बाँकी मुहान सुके भने पानी नपाएर मरिन्छ होला । उम्रिएको पानी त्यत्तिकै उपभोग गर्न नदिने भनेपछि हामीले दाजुभाइ मिलेर एउटा मुहान नै किन्नुर्पयो ।’

दिङ्लाकै २२ परिवारले पनि मिलेर मुहान भएको १२ रोपनी जग्गा स्थानीय प्रेमनाथ चापागाईंसँग किने । जग्गा नकिने पानी उपभोग गर्न नपाइने भएपछि उनीहरूले ३० लाख रुपैयाँ संकलन गरे ।

तीन किलोमिटर पर रहेको मुर्कुटे धाराको मुहान भएको जग्गा खरिद गरिएको स्थानीय पवन कुलुङले बताए । प्रतिपरिवार १ लाख ३६ हजार रुपैयाँभन्दा बढी र्पयो । पानीको स्रोत नहुँदा वैकल्पिक उपायका रूपमा मुहान भएको जग्गा किनेर घर–घरमा धारा र्पुयाइएको उनले सुनाए ।

‘पानीका लागि हामीसँग अन्य विकल्प थिएन । खानेपानी पाउन नसकेर तनाव बेहोर्नुर्पयो’, उनले भने, ‘गाउँघरमा जग्गाधनीसँग मुहान किन्नु हाम्रो बाध्यता हो । मुहान किनेर ल्याएको पानी प्रयोग गर्ने गरिएको छ ।’

स्थानीय होटल व्यवसायी नारायण श्रेष्ठलगायत चार परिवारले पनि ४ लाखमा दुई रोपनी जग्गा किनेर पानी व्यवस्थापन गरेका छन् । आसपासमा मुहान नहुँदा दिङ्ला बजारका धेरैजसो स्थानीयले समस्या झेल्नुपरिरहेको उनले बताए । ‘कसैले पानी माग्दा दिने अवस्था भएन ।

होटल व्यवसाय चलाउन त झन् गाह्रो भयो’, उनले भने, ‘त्यही भएर पनि मुहान खरिद गर्नै पर्ने अवस्था आयो । मुहान किनेर ल्याएको पानीले सजिलो भएको छ ।’

बेला–बेला मुहान मर्मत नगरे त्यही पानी पनि नआउने उनले सुनाए । भने, ‘मुहान टाढा भए पनि मान्छे र वस्तुभाउलाई चाहिने भएपछि दुःख गर्नै पर्छ ।’
केउरेनीपानी खानेपानी उपभोक्ता समितिले पनि २०७३ मा किमालुङ, खार्तम्छा र तुंगेछाको सिमानामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउन योजना ल्याएको थियो ।

२०७६ भित्र बजारमा पानी आपूर्ति गर्ने लक्ष्य छ । मजदुरको ज्यालाका लागि उपभोक्ता समितिका ३ सय ६० परिवारबाट १ हजार २ सय ३० रुपैयाँका दरले रकम संकलन गरिएको योजना समितिका अध्यक्ष जितेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार १ हजार ५ सय घरधुरी लाभान्वित हुने गरी ७० हजार लिटर क्षमताको ट्यांकी बनाउने काम भइरहेको छ ।
नगरपालिकाले भने खानेपानीका लागि निर्णय गरेको छैन ।

खानेपानीलाई प्राथमिकतामा राखिएको मेयर वीरबल राईले बताए । ‘दिगो विकासका लागि कामको थालनी पनि बिस्तारै हुन्छ’, उनले भने, ‘आउँदो परिषद्को नयाँ योजनाबाटै बजार क्षेत्रमा खानेपानीको सुलभ पहुँचका लागि भौतिक संरचना निर्माण र योजनालाई प्राथमिकतामा राखेर अगाडि लानेछौं ।’

ताजा समाचार

सम्बन्धित समाचार