नेपाल इँटा उद्योग महासङ्घले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ ।
देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले इँटा अभावले भूकम्पपछिको पुनः निर्माण प्रभावित भएको बताउँदै नयाँ नयाँ प्रविधि प्रयोग गरी इँटा उत्पादन क्षमता बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराम कवांले वायु प्रदूषणको सम्पूर्ण दोष इँटा उद्योगी–व्यवसायीलाई दिन थालिएकाले त्यो सत्य होइन भन्ने पुष्टि गरेर देखाउन देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधितर्फ लान प्रशिक्षण दिइएको बताए । ‘काठमाडौँ उपत्यकामा जिगज्याग प्रविधिमा सञ्चालित इँटा उद्योगले गर्ने प्रदूषण सरकारले तोकेको प्रदूषण मापदण्डभन्दा आधा पनि छैन’, उनले भने ।
ऊर्जा तथा वातावरणविज्ञ डा उत्तम कुँवरले पहिलेको तुलनामा अहिले कोइला खपत धेरै कम भएको र प्रदूषण पनि धेरै न्यून भएको जानकारी दिए । प्रशिक्षणमा देशका ४० भन्दा बढी जिल्लाका व्यवसायी सहभागी छन् । प्रशिक्षणमा दिइएको सैद्धान्तिक ज्ञानलाई भक्तपुरको चाँगुनारायण नपा–९ ताथलीस्थित श्वेतभैरव इँटा उद्योगमा प्रयोग गरिने व्यवस्था मिलाइएको स्थानीय संयोजक भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले बताए ।