५ साउन, काठमाडौँ ।
लगातारको वर्षापछिको बाढी र पहिरोका कारण देशभरका ७ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् ।
अवरूद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।
यात्रुहरूलाई यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न उनले आग्रह गरे ।
नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरिखोला (तातोपानी जाने बाटो) तथा भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छन् ।
त्यस्तै भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ । उक्त सडकमा बिहान ४ देखि साँझ ६ बजेसम्म भने अवस्थाअनुसार सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरूद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।
रासस





