काठमाडौं– बढ्दो प्रदूषण, वनजंगलको फडानी, जलवायु परिवर्तनको असर र अन्य मानवीय कारणले चार दशकको अवधिमा विश्वमा वन्यजन्तुको संख्या ६० प्रतिशतले घटेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को एक अध्ययनले देखाएको छ।
कोषको ‘लिभिङ प्लानेट’ रिपोर्ट २०१८ अनुसार सन् १९७० र सन् २०१४ को बीचमा विभिन्न ४ हजार प्रजातिका जीवजन्तुको संख्या घटेको हाे। कोषले वैज्ञानिक प्रविधीको प्रयोग गरेर सो प्रतिवेदन तयार पारेको जनाएकाे छ। अध्ययनका अनुसार ९० प्रतिशतभन्दा बढी सिवर्डको पेटमा प्लास्टिक रहेको छ, जुन सन् १९६० मा जम्मा ५ प्रतिशत मात्र थियो।
वन्यजन्तुकाे संख्या घट्दाे क्रममा रहेकाे बारे निरन्तर जानकारी गराउँदा पनि सम्बन्धित निकायले खासै ध्यान नदिएको रिपाेर्टमा उल्लेख छ । यस अघि कोषले सन् २०१६ मा एक प्रतिवेदन सार्वजनिक गर्दै यस शताब्दीको अन्त्यसम्म वन्यजन्तुको संख्या ६७ प्रतिशतले घट्नसक्ने प्रक्षेपण गरेको थियो। कोषले मानवीय गतिविधीको कारणले नै यसो हुन लागेको भनेर सचेत गराएको थियो।





