१ असोज, अर्घाखाँची ।
कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् ।
संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।
सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको संख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा ठूलो संख्यामा गिद्ध मरेका भेटिएपछि यसका कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो ।
डाइक्लोफेनेक प्रयोग गरिएको गाईवस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब २ दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो ।
दक्षिण एसियामा पाइने ९ प्रजातिका गिद्धमध्ये ४ प्रजाति अतिसंकटापन्न, १ संकटापन्न र २ प्रजाति संकटको नजिक पुगेका थिए । गिद्धको संख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए ।
बंगलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पु-याएको हो ।
हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डंगर गिद्धको संख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको भनाइ छ । अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डंगर गिद्धको संख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ । यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सह–अध्यक्षसमेत रहेका भुसालले बताए ।
सडकमार्गमा नियमित रूपमा गिद्ध गणना गर्नुका साथै गुँडको निगरानी गरेर यस्तो निष्कर्ष निकालिएको हो । भुसालका अनुसार गिद्धको संख्या घटिरहेको अवस्थालाई रोक्दै पुनः वृद्धि हुने अवस्थामा पु-याउने नेपाल पहिलो मुलुक बनेको छ । यस अध्ययनमा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्यागसमेत प्रयोग गरिएको थियो ।
कुल ७० वटा डंगर गिद्धलाई ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक तथा अध्ययनका सह–लेखक वेदकुमार ढकालले जानकारी दिए ।
गिद्धको संख्या बढ्नुमा बाँच्ने दर मात्रै होइन, प्रजनन् सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ । नेपालमा सन् २००७ देखि गिद्धका गुँडको अनुगमन हुँदै आएको छ । सन् २००७ देखि २०२५ सम्म ६ हजार ४ सय १० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित विलाश जोशीले बताए ।
समयसँगै गुँडको सफलता दरसमेत बढ्दै गएको छ । विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरूत्थान अवधिमा प्रजनन सफलतामा सुधार देखिएको छ । यसले नेपालमा गिद्धको संख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै राम्रो प्रजनन्ले पनि महत्वपूर्ण योगदान गरेको पुष्टि गर्छ ।
नेपालमा गिद्धको संख्या तीव्र रूपमा बढेपछि अनुसन्धानकर्ताकासामु अर्को प्रश्न खडा भएको थियो–के भारतबाट ठूलो संख्यामा गिद्ध नेपाल प्रवेश गरेकाले यहाँको संख्या बढेको हो ? ‘स्याटेलाइट ट्याग’ लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको संख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ ।
वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो ।
त्यसैले नेपालमा गिद्धको संख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था भएको देखिएको छ । गिद्ध संरक्षणमा चर्चित बनेका जटायु रेस्टुरेन्टले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको संख्या बढ्नुका कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ ।
जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै गिद्धको संख्या तीव्र गतिमा बढेको नभई देशका अन्य क्षेत्रमा वृद्धि देखिएको छ । यसले सुरक्षित आहार, औषधि नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागिता सहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको संकेत गरेको छ ।
गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध संकटबाट पूर्ण रूपमा बाहिर आइसकेको अवस्था भने छैन । नेपाल पन्छी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको संख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा संख्या अझै निकै कम छ ।
अहिले प्राप्त सफलता जोगाउन संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने सुझाव दिएका छन् । भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिन्छ । सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ । नेपालको आकाशमा फेरि गिद्धका बथान देखिन थालेका छन् ।
प्रेमनारायण आचार्य/रासस





