बलराम घिमिरे
२९ भदौ, रसुवा।
बिहानको खाजा खाएर रसुवाको नादङचे चोरी–शिकार नियन्त्रण समूहका युवाको टोली जब लाङटाङ राष्ट्रिय निकुञ्जको भिरालो र अप्ठ्यारो जंगलतिर उक्लन्छ, उनीहरूका आँखा रूखका हाँगा र जमिनका झाडीतिर सोझिन्छन् ।
बाटोभरि पहिरोको जोखिम, उकालोओरालो भिर अनि वन्यजन्तु र शिकारीको डर ।
कुनै सरकारी सेवासुविधा वा बीमाको व्यवस्था छैन । तर, रसुवाको ठूलोस्याफ्रुका युवा भने दुर्लभ रेडपान्डा र अन्य वन्यजन्तु जोगाउन अहोरात्र खटिरहेका छन् ।
अवस्था हेरेर यो टोली १ देखि ४ दिनसम्म निरन्तर जंगलमै बिताउँछ । पासो धेरै भेटिए गस्तीका दिन लम्बिन्छन् । महिनामा कम्तीमा एकपटक अनिवार्य गस्ती हुन्छ । तर चोरीशिकारी आएको सूचना पाउनासाथ टोली महिनामा ३ पटकसम्म पनि जंगल पस्छ ।
उनीहरूलाई पछ्याउँदै निकुञ्जका कर्मचारी र सेनाका जवानहरू पनि जाने गर्छन् । यी युवाहरू अरू केहीका लागि होइन, वन्यजन्तुका लागि मृत्युको धराप बनेका पासो खोज्न र फुकाल्न गस्तीमा निस्किएका हुन् ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुभन्दा माथिल्लो क्षेत्रमा पर्ने चोलाङपाटी, पोलाङपाटी र ढोकाचेजस्ता उच्च हिमाली तथा विकट जंगलमा स्थानीयले टोली नै बनाएर गस्ती गर्दै आएका छन् । रेडपान्डाको मुख्य बासस्थान मानिने यी क्षेत्रमा चोरीशिकारको जोखिम उच्च रहने भएकाले संरक्षणका लागि उनीहरू आफैँ अग्रसर भएका हुन् ।
रेडपान्डा अर्थात् हाब्रे हेर्दैमा माया लाग्ने सुन्दर जनावर हो । विश्वबाटै लोपोन्मुख यो वन्यजन्तु आईयूसीएनको रेड लिस्ट र साइटिसको अनुसूची आइमा पर्छ । नेपालीमा हाब्रे भनिने यसलाई तामाङ भाषामा ओपारक्पा तथा पूर्वतिर पुन्डे र कुन्दो पनि भन्ने गरिन्छ ।
हिमाली भेगमा पाइने यो दुर्लभ जनावर बिहान र बेलुका बढी सक्रिय हुन्छ । एकान्तमा बस्न रूचाउने रेडपान्डा आफ्नो बासस्थान वरपर सामान्य गतिविधि वा मानवीय हस्तक्षेपबाट समेत संवेदनशील हुन्छ । बासस्थान वरपर छिसिक्क केही भयो भने जन्माएको बच्चासमेत छाडेर हिँड्ने भएकाले बच्चा हुर्काउने समयलाई विशेष संवेदनशील मानिन्छ ।
यही संवेदनशील वन्यजन्तुको बासस्थान जोगाउन स्थानीय युवा जोखिमपूर्ण यात्रा तय गर्दै वन क्षेत्रमा पुग्छन् । उनीहरूले जंगलमा थापिएका पासो हटाउने, अवैध गतिविधिको निगरानी गर्ने र वन्यजन्तुको अवस्थाबारे जानकारी राख्ने काम गर्दै आएका छन् ।
रेडपान्डाको मुख्य आहार र बासस्थान रहेको क्षेत्रमा निगालो घारी जोगाउन, मानवीय अतिक्रमण रोक्न तथा चोरीशिकार नियन्त्रण गर्न स्थानीय युवासम्मिलित नादङचे चोरीशिकार नियन्त्रण समूह गठन गरिएको छ । समूहले नियमित गस्ती र अनुगमन गर्दै आएको छ ।
स्थानीय उपभोक्तालाई दिइने काठको खपत घटाउन वैकल्पिक निर्माण सामग्रीको प्रयोगलाई समेत प्रोत्साहन गरिएको छ । संरक्षण अभियानलाई व्यवस्थित बनाउन लाङटाङ निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा ‘नादङचे चोरीसिकार नियन्त्रण समूह’ गठन गरिएको हो ।
समूहमा १५ जना स्थानीय युवा आबद्ध छन् । ४४ वर्षीय सुब्बा तामाङको अध्यक्षतामा रहेको यो टोलीले आवश्यक पर्दा महिनामा २ देखि ३ पटकसम्म निकुञ्ज प्रशासन र नेपाली सेनासँग मिलेर संयुक्त रूपमा वन गस्ती गर्दै आएको छ ।
‘हामीलाई सरकार वा निकुञ्जबाट कुनै तलब वा बीमा छैन । तर आफ्नो ठाउँको पर्यटन र दुर्लभ रेडपान्डा जोगाउन हामी जोखिम मोलेरै भए पनि जंगल छिर्छौँ,’ अध्यक्ष सुब्बाले भने । उनीहरूको गस्ती क्षेत्र गोसाइँकुण्ड गाउँपालिका ५ ठूलो स्याफ्रुभन्दा माथि पर्ने चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचे खर्कसम्म फैलिएको छ ।
संरक्षणको यो यात्रा सहज भने छैन । विगतमा पासोमा परेर एउटा रेडपान्डा मरेको दुःखद घटना देखेपछि युवाहरू चोरीशिकारविरूद्ध अझ कडा रूपमा प्रस्तुत भएका हुन् । अध्यक्ष सुब्बा सम्झन्छन्, ‘म अध्यक्ष भएपछिको पहिलो गस्तीमै हामीले जंगलभरि थापिएका ४ सयवटा पासो फुकालेर निकुञ्जलाई बुझाएका थियौँ ।’
निकुञ्जभित्र ढोकाचे, पाङ्ले खर्क, नोस्यालाङ, मेरागाङ, कोल्मु र जरन खर्क क्षेत्रमा १२– १७ भदौ २०८१ मा गरिएको गस्तीका क्रममा नाइलनको डोरीका ३ सय ११ थान र तारजालीका ५४ थान गरी ३ सय ६५ थान पासो फेला पारिएको थियो । ती पासो निकुञ्जलाई बुझाइएको थियो ।
पछिल्ला विभिन्न अभियानमा गरी उनीहरूले फुकालेका पासोको संख्या ४ सय नाघिसकेको छ । भौगोलिक विकटता र वन्यजन्तुको जोखिमयुक्त यो काममा खटिने युवाहरूले अहिलेसम्म कुनै ठूलो दुर्घटना भोग्नुपरेको त छैन । तर उनीहरू पूर्णतः जोखिमकै भरमा छन् ।
निरन्तरको गस्तीका कारण अहिले उक्त क्षेत्रमा नयाँ पासो भेटिन छाडेको र चोरीशिकारका गतिविधिमा समेत उल्लेख्य कमी आएको अध्यक्ष सुब्बा बताउँछन् । पछिल्ला वर्षमा वातावरणीय सचेतना र धार्मिक–सांस्कृतिक मान्यताका कारण निकुञ्ज क्षेत्रमा चोरीशिकारका घटनामा ठूलो कमी आएको निकुञ्ज प्रशासनको भनाइ छ ।
पछिल्लो १–२ वर्षयता चोरीशिकारका कुनै पनि घटना दर्ता नभएको वरिष्ठ संरक्षण अधिकृत साहले बताए ।
अभियानसँगै सुरक्षित बन्दै रेडपान्डा बासस्थान
वर्षाको समयमा लौरीविनायक र सूर्यकुण्डमुनिका क्षेत्रमा रेडपान्डा प्रत्यक्ष देखिने गरेका छन् । तिनका बासस्थान सुरक्षित रहेको टोलीको भनाइ छ । पछिल्लो समय सो क्षेत्रमा चौँरीगोठको संख्या घट्दै गएकाले पनि वन्यजन्तुका लागि अनुकूल वातावरण बन्दै गएको उनीहरू बताउँछन् ।
लाङटाङ निकुञ्ज क्षेत्रमा पछिल्लो समय चोरीशिकार नियन्त्रण र नेपाली सेनाको उपस्थितिका कारण रेडपान्डाको संख्या बढेको अनुमान गरिएको छ । हालैका दिनहरूमा नौकुण्ड तथा लाङटाङ जाने पदमार्गअन्तर्गत दोभान क्षेत्रमा समेत रेडपान्डा प्रत्यक्ष रूपमा देखिएकाले यसको संख्या वृद्धि भइरहेको संकेत मिलेको लाङटाङ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
रेडपान्डाको मुख्य आहार मानिने निगालो सो क्षेत्रमा प्रसस्त पाइने र हालसम्म मानवीय कारणले हुने ठूला डढेलो नलागेकाले बासस्थान सुरक्षित रहेकाले पनि रेडपान्डालाई सहज भएको छ । ‘पदमार्ग र होटलबाट हुने मानवीय गतिविधि नियन्त्रण गरी प्राकृतिक बासस्थानलाई यथास्थितिमा राख्न निकुञ्ज प्रशासन संवेदनशील रहँदै आएको छ,’ साहले भने ।
समुद्री सतहदेखि २ हजारदेखि ४ हजार ५ सय मिटरको उचाइसम्म रेडपान्डा पाइन्छ । यसको मुख्य आहारा निगालो हो । लाङटाङ, गोसाइँकुण्ड र नौकुण्ड रूटमा तीन हजारदेखि चार हजार मिटरको उचाइमा रेडपान्डा बेलाबेलामा पर्यटकीय आकर्षणका रूपमा समेत देखिने गरेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका ५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क रेडपान्डाका मुख्य बासस्थान क्षेत्र हुन् । रेडपान्डामाथि विद्यावारिधि गरेका संरक्षणविद् प्रह्लाद योञ्जनले समेत यही क्षेत्रमा अनुसन्धान गरेका थिए ।
योञ्जनको निधन भइसकेको छ । २०७६ मा उक्त क्षेत्रमा एकैपटक ५ वटा रेडपान्डा भेटिएको निकुञ्जले बताएको छ । रेडपान्डाको मुख्य आहार र बासस्थान रहेको क्षेत्रमा निगालो घारी जोगाउनु यहाँको संरक्षणको अर्को महत्वपूर्ण पाटो हो ।
अर्कोतर्फ, पछिल्ला वर्षहरूमा चौँरीगोठहरू घट्दै गएका कारण चौँरी चरनले रेडपान्डाको बासस्थानमा पार्ने असर र दबाब पनि कम हुँदै गएको छ । प्राकृतिक विपत्ति, पहिरो र स्रोतसाधनको अभावका बाबजुद स्थानीय युवाको यो स्वयंसेवी प्रयासले लाङटाङ क्षेत्रको जैविक विविधता जोगाउन र भोलिका दिनमा पर्यटकीय आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको निकुञ्जले जनाएको छ ।
संरक्षणकर्मीसँग छैनन् उपकरण र बीमा
नादङचे चोरीशिकार नियन्त्रण समूहका अध्यक्ष सुब्बाका अनुसार गस्तीमा जाने युवाहरूको खाना, बास र यात्रा खर्च रेडपान्डा अक्षय कोषको ब्याजबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले बेहोर्ने गरेको छ । वर्षमा सरदर १० देखि १५ दिन पालैपालो जंगलमा खटिने यी १५ जना स्वयंसेवक युवाहरूलाई राज्य र निकुञ्ज प्रशासनको सहयोग भने शून्यप्रायः छ ।
‘हामीलाई निकुञ्जबाट गस्तीका लागि चाहिने अत्यावश्यक उपकरण, जुत्ता, ज्याकेट, सञ्चार साधन वा प्राथमिक उपचारका सामग्री केही पनि दिइएको छैन,’ गस्तीमा जाने एक स्थानीय युवाले भने, ‘निकुञ्जसँग पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।’
जंगलमा गस्ती गर्दा कुनै दुर्घटना भइहालेमा क्षतिपूर्ति वा बीमाको समेत कुनै व्यवस्था नरहेको अध्यक्ष सुब्बा बताउँछन् । राज्यको तर्फबाट स्रोतसाधन र सुरक्षाको ग्यारेन्टी नहुँदा पनि स्थानीय युवा भने आफ्नै स्रोत र जोखिममा रेडपान्डालगायत वन्यजन्तु जोगाउन अहोरात्र खटिएका छन् ।
पासोको गणना, भएन रेडपान्डाको गणना
स्थानीय युवा र निकुञ्जको नियमित गस्तीका कारण जंगलमा पासो राख्ने क्रम र चोरीशिकार विस्तारै घट्दै गएको छ । जंगल जाँदा रेडपान्डा देखिने घटना पनि पहिलेको तुलनामा बढेका छन् । जंगलबाट उखेलिएका पासोको हिसाबकिताब त राखियो । तर, ती पासोले जोगिएका रेडपान्डाको यकिन संख्या भने कसैलाई थाहा छैन ।
जंगलमा भेटिने पासोहरू रेडपान्डा, कस्तूरी मृग, बँदेल वा भालुमध्ये कुन वन्यजन्तुका लागि थापिएका हुन् भन्ने पुष्टि हुँदैन । अझ भदौमा भेटिएका ३ सय ६५ वटा पासो खास कसलाई लक्षित थिए भन्ने यकिन छैन । निकुञ्ज क्षेत्रमा रेडपान्डा बारम्बार देखिन्छन् ।
तर, अहिलेसम्म तिनको वैज्ञानिक गणना भएको छैन । निकुञ्ज प्रशासनका अनुसार भौगोलिक विकटताका कारण सरकारले अहिलेसम्म रेडपान्डाको गणना गर्न नसकेको हो । यहाँसम्म कि रेडपान्डाको आवतजावत र संख्या अनुगमन गर्न क्यामेरा ट्र्यापसमेत राखिएको छैन ।
नेपालमा हिउँचितुवाजस्ता दुर्लभ वन्यजन्तुको गणना भइसके पनि प्राथमिकताको कमी र कठिन भूगोलका कारण लाङटाङ क्षेत्रमा रेडपान्डाको औपचारिक गणना हुन सकेको छैन । निकुञ्ज क्षेत्रभित्र ५० भन्दा बढी मानव बस्ती र पदमार्ग रहेकाले मानवीय गतिविधिले रेडपान्डाको संख्यामा पारेको प्रभावबारे यकिन गर्न र संरक्षणको थप रणनीति बनाउन अब भने यसको वस्तुनिष्ठ गणना गर्न आवश्यक देखिन्छ ।
नेपालमा दुर्लभ वन्यजन्तु रेडपान्डाको एकीकृत र प्रत्यक्ष गणना गर्न असम्भवप्रायः रहेकाले अब जेनेटिक्स प्रविधिको प्रयोग गरी संख्या पत्ता लगाउने तयारी भइरहेको छ । रेडपान्डा नेटवर्कले नेपाल सरकारसँगको सहकार्यमा जेनेटिक्स विधिमार्फत गणना गर्ने योजना अघि बढाइएको रेडपान्डा नेटवर्कका संरक्षण कार्यक्रम व्यवस्थापक सोनाम टासी लामाले बताए ।
लामाका अनुसार तराईका ठूला वन्यजन्तु (बाघ, गैँडा)को तुलनामा हिमाली क्षेत्रका साना तथा दुर्लभ वन्यजन्तुको प्रत्यक्ष गणना गर्न कठिन हुने भएकाले यो प्रविधि अपनाउन लागिएको हो ।पछिल्लो समय रेडपान्डाको चोरीशिकारी तथा छाला तस्करीको घटनामा कमी आएको छ । सन् २०२१/२२ सम्म हरेक १०–१२ दिनमा रेडपान्डाको छाला बरामद भएका समाचार सार्वजनिक हुने गरे पनि हाल अनुगमनका क्रममा त्यस्ता घटना घटेको पाइएको रेडपान्डा नेटवर्कका लामाले बताए ।
संरक्षण अभियान जंगलबाहिर पनि
रेडपान्डा संरक्षणका लागि नेपालमा डा. प्रह्लाद योञ्जनले सुरू गरेको अध्ययनलाई माइलस्टोन मानिन्छ । हाल रेडपान्डा नेटवर्कले संरक्षित क्षेत्रभन्दा बाहिरका मध्यवर्ती तथा अन्य क्षेत्रमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्थाले नुवाकोट क्षेत्रका मध्यवर्ती इलाकामा स्थानीय युवा र जनप्रतिनिधिलाई परिचालन गर्दै रेडपान्डा संरक्षणलाई पर्यापर्यटनसँग जोडेर प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सरकारले रेडपन्डालाई उच्च प्राथमिकतामा राखी संरक्षणका प्रयास गर्दै आएकाले आगामी दिनमा मैदान तहमा थप प्रभावकारी काम गर्न सहकार्य भइरहेको लामाले बताए ।
स्थानीय बासिन्दासँगै स्थानीय संघसंस्था पनि रेडपान्डा संरक्षणमा सक्रिय छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षणमा युवा पुस्तालाई जोड्ने उद्देश्यले लाङटाङ क्षेत्रमा आयोजना हुँदै आएको ‘रेडपान्डा ट्रफी’ ले युवामाझ संरक्षणको सन्देश फैलाउँदै आएको छ ।
लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले २०६८ देखि हरेक वर्ष वैशाखमा पर्ने ‘वन्यजन्तु सप्ताह’ को अवसर पारेर भलिबल खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । युवाहरूलाई खेलकुदका माध्यमबाट एकीकृत गरी रेडपान्डा संरक्षणमा प्रत्यक्ष रूपमा सहभागी गराउनु प्रतियोगिताको मुख्य लक्ष्य रहेको लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजका अध्यक्ष सन्तोष घलेले बताए ।
‘युवाहरूलाई संरक्षणमा सहभागी गराउन र लाङटाङ क्षेत्रको पहिचानको रूपमा रहेको रेडपान्डा जोगाउन खेलकुद एकदमै प्रभावकारी माध्यम बनेको छ,’ घलेले भने, ‘खेलकुदका माध्यमबाट हामीले युवाहरूलाई एकै ठाउँमा जम्मा गरेर संरक्षणको जनचेतना जगाउने काम गरिरहेका छौँ ।’
सुरूवाती चरणमा विश्व वन्यजन्तु कोष नेपालको ‘पवित्र हिमालय भूपरिधि कार्यक्रम’ को आर्थिक सहयोगमा सुरू भएको प्रतियोगितालाई अहिले लाङटाङ निकुञ्ज, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकायले साथ दिइरहेका छन् । उनीहरूकै समन्वय र सहयोगमा प्रतियोगिताले बर्सेनि निरन्तरता पाइरहेको छ ।
कोभिड–१९ महामारीका कारण बीचमा केही वर्ष प्रभावित भए पनि आयोजकले हालसम्म प्रतियोगिताको १३औँ संस्करण सम्पन्न गरिसकेको छ । खेलकुद र संरक्षणलाई सँगसँगै लैजाने यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने संस्थाको योजना छ ।
लाङटाङ क्षेत्रमा बढ्दो पर्यटक, पदमार्ग र होटलका कारण रेडपान्डाको प्राकृतिक बासस्थानमा असर पर्न सक्ने भन्दै मानवीय गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ । समूहमा हिँड्ने पर्यटकहरूको हल्ला र फोटो खिच्ने क्रियाकलापले सामान्य असर पुर्याउने भएकाले उच्च हिमाली क्षेत्रका बासस्थानलाई प्राकृतिक रूपमै छाड्न आवश्यक छ । निकुञ्ज क्षेत्रमा नयाँ पदमार्ग र होटल निर्माणमा रोक लगाउँदै मानवीय हस्तक्षेप कम गर्न सके मात्र दुर्लभ रेडपान्डाको बासस्थान पूर्णरूपमा सुरक्षित रहने लाङटाङ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताए ।
रेडपान्डा एक संरक्षित वन्यजन्तु हो । तर, यसको बजार र मूल्यबारे समाजमा फैलिएको भ्रमका कारण अवैध चोरीसिकार बढ्दा लोपोन्मुख अवस्थामा पुगेको संरक्षणविद् तथा ग्रिनहुड नेपालका निर्देशक कुमार पौडेलले बताए । ‘यस प्रकारका भ्रमहरू चिर्न सरकार र संरक्षण संस्थाहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी संरक्षणका पहलहरू बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।
रेडपान्डा जन्मेको १८ देखि २० महिनामा प्रजनन्का लागि योग्य हुन्छ । रेडपान्डाले मुख्यतः जेठ १५ देखि साउन १५ सम्म बच्चा जन्माउने गर्दछ । पुस १५ देखि फागुन १५ सम्म बच्चा जन्माउनका लागि रेडपान्डा सहवासमा बस्ने समय मानिने रेडपान्डा नेटवर्कका लामाले बताए ।
भाले लागेको १ सय १२ दिनदेखि १ सय ५८ दिनभित्र बच्चा जन्मन्छ । एकपटकमा १ देखि ४ वटासम्म बच्चा जन्माउने गर्दछ । ८ देखि १० वर्ष आयु हुने यसको शरीर एक मिटरसम्म लामो र तौल ६ केजीसम्म हुन्छ । नेपालसहित भारत, चीन, बर्मा र भुटानमा मात्र पाइने रेडपान्डाको विश्वमा करिब १० हजार रहेको अनुमान छ ।
सर्वेक्षणअनुसार नेपालको ताप्लेजुङदेखि कालिकोटसम्म २५ वटा जिल्लामा रेडपान्डा भेटिएका रेडपान्डा नेटवर्कका लामाले बताए । सर्वेक्षणले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रूकुम, जाजरकोट, जुम्ला, मुगु, डोल्पा, लमजुङ, भोजपुर र कालिकोटमा रेडपान्डा रहेको देखाएको छ ।
‘नेपालको संरक्षित क्षेत्रमा ३० प्रतिशत र संरक्षित क्षेत्रभन्दा बाहिर ७० प्रतिशत रेडपान्डा रहेको अनुसन्धाबाट देखिएको छ’, लामाले भने । नेपालमा रेडपान्डाको संख्या १ हजार ६१ देखि २ सय ३७ सम्म रहेको अनुमान गरिएको छ । लाङटाङ निकुञ्जमा करिब १ सयको हाराहारीमा रहेको अनुमान छ । तर, यकिन संख्या राख्न कठिन भूगोलका कारण गणनामा चुनौती रहेको साहले बताए ।
रेडपान्डा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । यसको चोरीसिकार गरेमा १ लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसारपसार गरेमा ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
स्थानीय युवाहरूको सक्रियताले पासो थाप्ने क्रम रोकिएर रेडपान्डा देखिने क्रम बढेको छ । तर, राज्यले न त संरक्षणमा खटिने युवालाई न्यूनतम उपकरण र बीमा सुविधा दिन सकेको छ, न त रेडपान्डाको यकिन तथ्यांक नै राख्न सकेको छ ।
कान्तिपुर टेलिभिजन अनलाइनमा प्रकाशित । यो समाचार नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार भएको हो ।





