बाघ बढ्दै, आहारा व्यवस्थापन कसरी गर्ने ?

काठमाडाैं–नेपालमा बाघको संख्यामा वृद्धि भएपनि आहारा प्रजातीलाई व्यवस्थापन गर्न समस्या देखिएको छ।

सन् २०१८ मा सार्वजनिक राष्ट्रिय बाघ गणना अनुसार नेपालमा पाटेबाघको संख्या २ सय ३५ रहेका छन्। बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको संख्या पनि सोही अनुसार वृद्धि भएमा आहारा शृङ्खलामा मद्दत पुग्ने विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छन्। पछिल्लो गणनामा भेटिएका २ सय ३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, ती आसपासका वन क्षेत्र र जैविक मार्गमा छ।

सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातीको संख्या घटेको पाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी बाघको आहारा पाइएको छ। बाघको आहारा प्रजातिको घनत्वका आधारमा लिइएको तथ्यांकमा बर्दियामा सबैभन्दा बढी आहारा भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। राष्ट्रिय बाघ गणना २०१८ मा सार्वजनिक गरिएको आहारा प्रजातिको घनत्वमा प्रतिवर्ग किलोमिटरका हिसाबमा आहारा प्रजाती निकालिएको छ। आहारा प्रजातीको सर्वेक्षण लाईन ट्रान्जेक्ट विधिबाट गरिएको विभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए।

बर्दियामा एक वर्गकिलोमिटर क्षेत्रमा त्यहाँ ७७ वटा बाघका आहारा भेटिए। यसअघि सन् २०१३ को गणनाका क्रममा एक वर्गकिलोमिटर क्षेत्रमा त्यहाँ ९३ वटा बाघका आहारा भेटिएका थिए।

बर्दियामा अन्य निकुञ्जको तुलनामा आहारा प्रजाती बढी रहेपनि अघिल्लो तथ्यांकको तुलनामा कमी आएको हो। बर्दियामा अहिले ८७ वटा वयस्क बाघ छन्। यसअघि त्याहाँ २०१३ मा गरिएको गणनामा ५० वटा बाघ रहेका थिए।

आहाराको तुलना गर्दा चितवनमा पनि बर्दियापछि आहारा प्रजातिको अवस्था राम्रो छ। चितवनमा प्रतिवर्ग किलोमिटर करीब ७१ वटा आहारा पाइएको छ। यसअघिको गणनाका क्रममा एक वर्गकिलोमिटरमा ७४ वटा आहारा पाइएको थियो। त्यहाँ १ सय २० बाट घटेर पछिल्लो गणनामा ९३ वटा बाघ गणना गरिएको छ। समग्रमा त्यहाँ आहारा पनि घटेको पाइएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा १६ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ६८ वटा आहारा पाइएको छ। यसअघिको गणनामा १७ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ७९ वटा आहारा पाइएको थियो। यहाँ पनि आहारा प्रजाति घटेको देखिएको छ।

पर्सा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको एक वर्गकिलोमिटरमा क्रमशः २२ र ८ वटा आहारा पाइएको छ। पर्सामा यसअघि २५ वटा र बाँकेमा यसअघि १० वटा आहारा प्रजाती प्रतिवर्ग किलोमिटरमा गणना गरिएको थियो। अघिल्लो गणनामा ७ वटा बाघ रहेकोमा अहिले १८ वटा बाघ छ। यस्तै अघिले गणनामा ४ रहेकोमा अहिले २१ रहेको छ।

बाँकेमा बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ। ‘बाघको संख्या बढ्नु निकै राम्रो हो,’ बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत दिलबहादुर बुर्जा पुनले भने, ‘संख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको छ, बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ।’

विश्वमै खतराको सूचीमा रहेको मांसाहारी जनाबर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँधेल, लगुना, रतुवा, गौरीगाई, निलगाई ,लंगुर, बाह्रसिंगे, चौका, बाँदर छन्। बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातीका जनावर र धेरै चित्तल छन्।

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार पर्सामा बदेंल, मृग, निलगाई, गौरीगाई बाघका मुख्य आहारा हुन्। यसैगरी चितवन र बाँकेमा विभिन्न मृग प्रजाती, बदेंल, हरिण, चित्तल बाघका आहारा रहेका छन्। बर्दियामा लंगुर, चौका मुख्य आहारा र शुक्लाफाँटा बाह्रसिंगे, चित्तल, बदेंल मुख्य आहारा रहेको उनी बताउँछन्।

बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल आहारा त्यत्ति घटे पनि बाघको संख्यालाई असर नगर्ने बताउँछन्। ‘त्यस्तो धेरै मात्रामा आहारा प्रजाती घटेको छैन, अलिअलि आँकडामा मात्र कमी हुँदा त्यसले प्रभाव पार्दैन,’ उनी भन्छन्, ‘पर्सा र बाँकेमा आहारा प्रजाती कम भएपनि किन बाघ बढ्यो त। बासस्थान र चोरीशिकार नियन्त्रण राम्रोसँग हुँदा बाघको संरक्षण हुन्छ।’

विभागका महानिर्देशक खड्का बाघ ठूलो प्रजाती भएकाले बाघले ठूलो प्रजाती नै खान खोज्ने बताउँछन्। उनी भन्छन्, ‘प्राथमिकतामा ठूलो जनावर हुन्छ किनकी त्यसले धेरै दिनसम्म पुग्छ।’ उनका अनुसार बाघले औसतमा हप्तामा एउटा मृग खान्छ तर भोकाएको बेला वन कुखुरा , खरायो र बाँदर पनि खान्छ।

बाघका मुख्य आहारा प्रजातीमा पछिल्लो समय असर परिरहेको उनी स्वीकार्छन्। ‘आहारा प्रजातीमा केही असर परेको छ,’ उनले भने, ‘मिचाहा प्रजातीको झारले तीनका पनि आहारामा कमी, जलवायु परिवर्तन, घाँसे मैदानको कमी र ताल सुकेका छन्।’ पारिस्थितीकीय प्रणलीको सूचक बाघ, खाद्य चक्र पनि राम्रो हुन्छ। स्वस्थ वातावरणको सांकेतिक प्रजाती हो।’

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ। जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ। अहिले नै निकुञ्जभित्र आहाराको कमी हुँदा निकुञ्जका बाघ मानव बस्तीको वरपर आएर बसेका पनि भेटिन्छन्।

ताजा समाचार

सम्बन्धित समाचार