काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तका कारण नेपालमा ठूलो असर परेकाले निराकरणका उपाय खोज्न आह्वान गरेकी छन्।
आइतबार राजधानीमा आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण हिमताल पग्लिएर बाढी लगायतका समस्या देखा परेको उल्लेख गर्दै ती सबैका साझा विषय भएकाले बेलैमा सजग हुनुपर्नेमा जोड दिइन्। ‘जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको छ। नेपालका सुन्दर हिमशृंखला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको छ,’ राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन्।
वातावरण संरक्षण, सम्वद्र्धन र व्यवस्थापनमा सिंगो समाज नै अग्रसर हुनुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमिकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्रा्ष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु।’
सरकारले वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने उनले विश्वास व्यक्त गरिन। राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु¥याउनुपर्ने औंल्याइन्।
एकीकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा आयोजित कार्यक्रममा वन तथा वातारवण मन्त्री शक्तिबहादुर बस्नतले जलवायु परिवर्तनका कारण मानवमा परेको असरबारे समाधानका उपायहरू खोज्ने बेला आएको बताए। जलवायु परिवर्तन, वातावरण र बढ्दो शरहीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढंगले सम्बोधन गर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।






