२७ फागुन, काठमाडौँ।
नेपालको प्रमुख दाृत्त निकाय विश्व बैंकले वायु प्रदूषण न्यूनीकरणमा ७ अर्ब ६४ करोड रूपैयाँभन्दा धेरै ऋण प्रदान गर्ने भएको छ ।
सो बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको हो । स्वच्छ वायु र समृद्धि परियोजनामार्फत नेपालको वायु प्रदूषण न्यूनीकरण गरेर स्वच्छता व्यवस्थापनलाई बलियो पार्न यो सहायताले मद्धत मिल्ने विश्व बैंकको अपेक्षा छ ।
यो परियोजनाले फाइन पार्टिकुलेट म्याटर (पीएम२.५) उत्सर्जन घटाउने र विशेषगरी औद्योगिक क्षेत्रबाट हुने उत्सर्जनमा कमी ल्याउन सहयोग पुग्नेछ । साथै वायु गुणस्तर व्यवस्थापनका लागि राष्ट्रिय प्रणालीलाई मजबुत बनाउने बैंकले जनाएको छ । यो परियोजना सो बैंकको क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको एक हिस्सा हो ।
सो बजेट वायु प्रदूषणले ल्याउन सक्ने जोखिमका क्षेत्रहरू केन्द्रित भएर विभिन्न किसिमका कार्यक्रमहरू अघि बढाउने बताइएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनको बुझाइमा वायु प्रदूषण केवल एक सार्वजनिक स्वास्थ्य संकट नभई नेपालका लागि आर्थिक बोझ पनि हो ।
उनले भनेका छन्, ‘यसले देशमा हरेक वर्ष स्वास्थ्य लागत बढाउने र श्रम उत्पादकत्व घटाई कुल गार्हस्थ्य उत्पादनको ६ गुणा बढी खर्च गराइरहेको छ ।’ सिस्लेनका अनुसार यो परियोजनाले हानिकारक प्रदूषणबाट दशौँ लाख मानिसलाई संरक्षण गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाली उद्यमहरुले स्वच्छ र प्रभावकारी प्रविधि अपनाउन मद्धत गर्नुका साथै कम सञ्चालन खर्च, प्रतिस्पर्धामा सुधार र दिगो औद्योगिक वृद्धिमा परियोजनाले सहयोग गर्नेछ ।





