निकुञ्ज बाहिर ९ वटा बाघ

काठमाडाैं–सरकारी तथ्यांकअनुसार नेपालमा रहेका २ सय ३५ वटा पाटे बाघमध्ये ९ वटा राष्ट्रिय निकुञ्ज बाहिरका  छन्।

७ असोजमा सार्वजनिक भएको राष्ट्रिय बाघ गणना, २०१८ अनुसार नेपालमा रहेका चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको वनजंगलमा पनि बाघको बासस्थान रहेको देखिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार बाघ गणनाको क्रममा लिइएका फोटोहरूलाई तथ्यांकीय विश्लेषण गरेर तुलना गर्दा ९ वटा बाघका फोटो निकुञ्ज बाहिरका रहेको पाइएको हो।

पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्र र बाहिरको मनहरी जंगल, चितवनको मध्यवर्ती क्षेत्र र नवलपरासीको राजमार्ग छेउैको चोरमारा, दुम्किबास लगायतका जंगलमा क्यामेरा ट्रयापिङबाट लिएका केही बाघका तस्बिर निकुञ्ज बाहिर नै देखिएको उनले बताए।

पढ्नुहाेस् : नेपाल बाघको ‘हट स्पट’ बन्ला ?

यसैगरी बर्दिया निकुञ्ज नजिकको खाता करिडोरको जैविक मार्ग, बाँकेसँग सीमा जोडिएको कम्दी जैविक मार्गको जंगल र शुक्लाफाँटाको भारतसँग सीमा जोडिएको कञ्चनपुरको ब्रम्हदेवको जंगलमा राखिएका क्यामेराबाट लिइएको तस्बिरमा केही फोटो निकुञ्जभित्र लिइएको फोटोसँग मेल नखाएको विभागका बाघ गणनाको नतिजा प्रतिवेदनमा उल्लेख छ।

उनका अनुसार ती बाघ भारतसँग सीमा जोडिएका जंगलमा रहने भएकाले भारततिर भने वारपार गर्ने सम्भावना रहन्छ।
करीब २२ वटा बाघ भने निकुञ्ज र बाहिरका वनजंगलमा ओहोर–दोहोर गर्ने गरेको विभागका उपमहानिर्देशक भट्टराई बताउँछन्। ‘फोटो विश्लेषण गर्दा ती २२ वटा बाघका फोटो निकुञ्ज र बाहिर आसपासका जंगलमा पनि भेटिएकाले ती बाघ भित्र–बाहिर गर्ने अनुमान गरिएको छ,’ उनले भने, ‘आहारा, बासस्थान तथा अन्य कारणले बाघभित्र बाहिर आउने जाने गरेका छन्।’

चितवनमा ९३, बर्दिया ८७, शुक्लाफाँटामा १६, पर्सामा १८ र बाँकेमा २१ वटा बाघ रहेका छन्। सन् २०१३ को तथ्यांकको तुलनामा ३७ वटा बाघको संख्या थपिएको छ। भने चितवनमा २७ वटा बाघ घटेको छ ।

पढ्नुहाेस् : देशभर बाघ बढ्दा चितवनमा किन घटे?

ताजा समाचार

सम्बन्धित समाचार