काठमाडौं–बागमती सफाइ महाभियान २ सय ८२ सातमा पुग्दा पनि सहायक नदी इच्छुमती (टुकुचा) सफाइ शुरु हुन सकेको छैन।

टुकुचा जस्ता सहायक नदी सफाइ शुरु नहुँदा बागमती सफा हुन सकेको छैन। टुकुचामा अहिले पनि सीधैं ढल हालिएको छ। भृकुटीमण्डप, खसीबजार र तरकारी बजारको फोहाेरसमेत टुकुचामै हाल्ने गरिएको छ।
काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार टुकुचाको सफाइका लागि खानेपानी संस्थानले २०५० तिर एशियाली विकास बैंकको सहयोगमा आयोग गठन गरेको थियाे। आयोग गठन गरिए पनि प्रतिवेदन सार्वजनिक गरेर नदी सफाइ एवं संरक्षणको काम नभएको उनले गुनासो छ। ‘भृकुटीमण्डप अघिको तरकारी बजारको पुलमुनी रहेको इच्छुमतीको घाटसमेत लोप भएको छ, नदी किनारका सभ्यता लोप भएको छ, यसको संरक्षणमा कसैको ध्यान गएन,’ उनले भने।
नदी ४५ फिट चौडाइको भए पनि २०५२ तिर नाप्दा ३५ फिट मात्र रहेको वडा कार्यालयले जनाएको छ। अहिले ३५ फिटबाट समेत मिचेर साँघुरो बनाइएको छ। कार्यालयले सरोकार भएका निकाय एवं स्थानीयवासीको सहभागितामा टुकुचा सफाइ अभियान शुरु गर्ने तयारी गरेको अध्यक्ष तण्डुकारले बताए।
माथिबाट फालिएको फोहाेरजति बगाएर बागमतीकाे थापाथली दोभानमा ल्याएर नदी प्रदूषित देखिएपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पानी छान्न खोजेकाे थियाे। तर, प्रयास सफल हुन सकेको छैन। दोभानमा फोहाेरको थुप्रो जम्मा हुने गरेको स्थानीयवासीको गुनासो छ। रासस





