Friday, September 20, 2024

पर्सा निकुञ्ज जोगाउन रेलमार्गको रुट परिवर्तन गरिने

काठमाडौँ– प्रस्तावित रक्सौल– काठमाडौँ रेलमार्गको रुट परिवर्तन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ।

प्रारम्भिक रुट अनुसार रेलमार्ग पर्सा राष्ट्रिय निकुञ्ज भएर बनाउनुपर्ने देखिएको थियो। तर, निकुञ्ज भएर रेलमार्ग बनाउन विभिन्न समस्या हुने र वनजंगल तथा वन्यजन्तुलाई समेत असर गर्ने देखिएपछि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भएर रेलमार्ग बनाउने गरी डीपीआर बनाइन लागिएको हो। रेल विभागका सिडिइ अमनचित्रकारले भने, ‘वन्यजन्तु तथा वनजंगल जोगाउन रुट परिवर्तन गरिएको हो।

यसअघिको प्रारम्भिक रुट अनुसार रक्सौल–काठमाडौं रेलगमार्गको दूरी १ सय १३ किलोमिटर अनुमान गरिएको थियो। तर, अब रुट परिवर्तन गरेमा करीब ८७ किलोमिटर दूरी थप भएर २ सयको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।

‘पर्सा हुँदै आउँदा दूरी कम हुने भए पनि त्यहाँ भएको वनजंगल तथा वन्यजन्तुलाई असर हुने देखियो,’ उनले भने, ‘दूरी केही बढेपछि निकुञ्जभित्रबाट रेलमार्ग बनाउँदा उपर्युक्त नहुने देखिएपछि अहिले निजगढ हुँदै जाने रुटको अध्ययन भइरहेको छ।’

रेलमार्गले पुर्याउने क्षतिको एकीन तथ्यांक नभएपनि निकुञ्जभित्रको वन, तथा वन्यजन्तुको सुरक्षाको लागि रुट परिवर्तन गर्न लागिएको उनको भनाइ छ।  उनकाअनुसार अब रेलमार्ग काठमाडौँ–निजगढ हुँदै रक्सौल जोड्ने गरी बनाइने छ।

गत भदौमा नेपाल र भारतबीच रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि प्रारम्भिक रुटका रुपमा काठमाडौँ–पर्सा–वीरगञ्ज–रक्सौल लाई लिइएको थियो।

अहिले भारतीय रेलमार्गनिर्माण कम्पनीले दोश्रो रुटका लागि प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्बे (पिइटी) गरिरहेको छ। उक्त सर्वे पश्चात डीपीआर तयार पारी निर्माण कार्य सुरु हुने उनको भनाइ छ। उनी अझै पनि अध्ययन नै भइसकेकाले दूरीमा भने घटबढ हुनसक्ने बताउँछन्।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य निकुञ्जभित्र बाट रेलमार्ग बन्दा जंगल नासिने तथा वन्यजन्तुलाई असर पार्ने देखिएकोमा अब भने ढुक्क भएको बताउँछन्।

वन न वन्यजन्तु नै निकुञ्जको सम्पति भएको बताउँदै उनले भने, ‘रेलमार्ग बन्दा वन र वन्यजन्तुलाई प्रत्यक्ष असर पाथ्र्यो, यति नै असर पुग्थ्यो भन्ने तथ्यांक नआएपनि असर पथ्र्यो नै अब अाशावादी बनेका छाैं।’

ताजा समाचार

सम्बन्धित समाचार