जनकपुर– प्रदेश २ सरकारले ८ वटै जिल्लामा ५० हजार बोटबिरुवा रोपेर ‘हरित प्रदेश’ अभियानको शुरुवात गरेको छ।

८ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार बिहान पर्साको पर्सागढी गाउँपालिकास्थित सबैया जंगलमा बिरुवा रोपेर ‘हरित प्रदेश अभियान’को शुभारम्भ गरे। अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री रावतले ‘हरित प्रदेश अभियान’ देखावटी नभएर प्रदेशको पहिचान बनाउने अभियान रहेको बताए।
त्यसलगत्तै प्रदेश सरकारका मन्त्रीहरूको नेतृत्वमा प्रदेशका ८ वटै जिल्लामा एकैसाथ जामुन, अशोक, टिक र मसलाका बिरुवा राेपियाे। प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार डिभिजन वन कार्यालयको समन्वयमा ८ वटै जिल्लामा ५० हजार बोटबिरुवा रोपिएको छ।
वृक्षरोपणका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल बाराको फेटा गाउँपालिका खैरातीमाई सामुदायिक वनमा, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सर्लाहीमा, समाजिक विकास मन्त्री नवल किशोर साह महोत्तरीमा, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव धनुषामा र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव सिरहा पुगेका थिए। त्यस्तै, रौतहटमा भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री गोगेन्द्र राय र र सप्तरीमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको नेतृत्वमा वृृक्षरोपण गरिएको हो।
अभियान अन्तर्गत ८ वटै जिल्लाका गाउँ र शहरका सामुदायिक, साझेदारी राष्ट्रिय वनसँगै सार्वजनिक जमिन, चाेकमा बाेटबिरूवा राेप्ने याेजना रहेकाे मन्त्री यादवले जनाए। यसैगरी, हरित प्रदेश अभियान अन्तर्गत हरित गाउँ, हरित नगर, हरित सडक, हरित पोखरी, हरित मन्दिर लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७५–०७६ को लागि नीति तथा कार्यक्रममा वन तथा वातावारण जोगाउन सबैभन्दा पहिले ‘चुरे जोगाऊ मधेश बचाऊ’ भन्ने नाराका साथ प्रदेश सरकार विभिन्न जनचेतनामुलक तथा अभियानमुलक कार्यक्रम ल्याउने घोषणा गरेको थियो।
यसैगरी, सरकारले हरित सडक, हरित नगर, हरित पोखरी, हरित पोखरी, हरित मन्दिर, हरित नहर जस्ता कार्यक्रम सञ्चालन गर्ने र प्रदेशको विभिन्न स्थानमा इको पार्क,चिडियाखाना,उद्यानलगायतको संरचना तथा क्षेत्र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सम्बन्धित समाचार : प्रदेश २ : एकैदिन ५० हजार बिरूवा राेपिने





