काठमाडौं– प्रदेश सभाद्वारा गठीत विशेष सुझाव समितिले प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा राख्न प्रस्ताव गरेपछि विरोध भइरहेको छ।
सामुदायिक वन मासेर राजधानी बनाइन लागिएको र त्यसले पर्यावरणमा असर पुर्याउने भएकाले एकपटक सोच्नुपर्ने वन संरक्षणकर्मीहरूको भनाइ छ।

सुझाव समितिका संयोजक तारा लामा तामाङले ९ असोजमा प्रदेश सभा बैठकमा प्रस्तूत गरेको सु्झाव प्रतिवेदन अनुसार ‘तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तरपश्चिम, गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि दक्षिणतिरको चारकिल्ला भएको क्षेत्र राजधानीका लागि उपर्युक्त’ छ।
राजधानी प्रस्ताव गरिएको तेघरी सामुदायिक वनका अध्यक्ष मदन शर्मा हाल प्रस्ताव गरिएको क्षेत्रमा राजधानी बनाइएमा ‘सामुदायिक वन नै नरहने’ र रूख फाँड्दा गोदावरी खोलाको बाढी र कटान बढ्ने चिन्ता व्यक्त गर्छन्। उनका अनुसार तेघरी सामुदायिक वनको कुल क्षेत्र ४ सय ६० हेक्टर हो।
संसदको विशेष समितिले प्रस्ताव गरेको क्षेत्रमा राजधानी बनाउँदा करीब ३ सय ८० हेक्टर वन क्षेत्र मासिने उनकाे अनुमान छ। ‘वन जोगाउँदा गोदावरीको बाढी र कटानबाट मुक्ति पाएका थियौं,’ हाकाहाकीसँग कुरा गर्दै अध्यक्ष शर्माले भने, ‘उहाँहरूले यस क्षेत्रमा राजधानी प्रस्ताव गर्नुभयो। विकास त होला। तर, नदीको कटान बढ्ने डर छ।’
चुरेको फेद रहेको उक्त वनमा खयर, सिमल, हल्दुसँगै अन्य प्रजातीका रूखबिरुवा रहेको बताउँदै अध्यक्ष शर्माले भने, ‘५–६ सय ठूला रूख काटिन्छन् होला।’ कुल २–३ हजार रुख, बुट्यान काटिने उनको अनुमान छ।

समितिका संयोजक तामाङ प्रस्तावित क्षेत्र २ सय हेक्टर क्षेत्रफलको हाराहारीमा रहको र रूख नभइ बुट्यान मात्र काटिने दाबी गर्छन। ‘सालको जंगल फडानी हुने भयो भन्ने किसिमले हल्ला आइरहेको छ। सालको जंगल भएको क्षेत्र राष्ट्रिय वनमा पर्छ। हामीले प्रस्ताव गरेको क्षेत्रमा बुट्यान मात्र छन्,’ हाकाहाकीसँग कुरा गर्दै संयोजक तामाङले भने, ‘राजधानी प्रस्तावित भएको क्षेत्रमा पर्ने सबै ‘बुट्यान’ काटिदैनन्। संरचना बनाइने क्षेत्रका मात्र काटिन्छन्।’
राजधानीको प्रशासनिक क्षेत्र एउटै ठाउँमा बनाएर ‘ग्रिन राजधानी’ अर्थात ‘हरित राजधानी’ बनाउने उद्देश्य रहेको उल्लेख गर्दै तामाङले भने, ‘सबै वन क्षेत्र कटान हुँदैन। बरु संरचना बनाइसकेपछि हरियाली बनाइन्छ।’
सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका पूर्वमहासचिव दण्डिराज सुवेदी चुरेको फेदीको वनजंगल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पर्ने बताउँछन्। ‘गोदावरी क्षेत्रमा त्यसैपछि पानी सुक्दै गइरहेको छ। चुरे विनास छँदैछ। फेदीकै जंगल मास्दा कति असर गर्छ भनेर सोच्न जरुरी छ,’ उनले भने। स्थायी राजधानी सिफारिस गरिएको स्थान हाल अस्थायी मुकाम रहेको धनगढीदेखि करीब १८ किलोमिटर उत्तरमा पर्छ।
सम्बन्धित समाचार
विकासका नाममा नासिँदै कैलालीको वन





