काठमाडाैं–नेपालमा हालै भएकोे ‘राष्ट्रिय बाघ गणना–२०१८’ ‘स्पाइटली एक्सप्लीसीट क्याप्चर–रिक्याप्चर एसइसिआर’ मोडल प्रयोग गरी ‘क्याप्चर–रिक्याप्चर’ विधिबाट भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

सन् २०१८ को गणनाअनुसार पाँच वर्षको अवधिमा ३७ वटा बाघ थपिदै संख्या २ सय ३५ पुगेको छ।
बाघ गणनाका लागि क्यामेरा ट्रयापिङ प्रविधि प्रयोग गरिएको थियो। तराई भू–परिधि क्षेत्र अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती र आसपासका वन क्षेत्रका १६ हजार २ सय ६१ वर्ग किमी क्षेत्रमा गरिएको सर्वेक्षणमा करीब १२ सय क्यामेराको प्रयोग गरिएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक खड्काका अनुसार प्रत्येक २ वर्ग किमीमा २–२ वटा क्यामेरा राखिएको थियो। ती क्यामेराले वारिपारिबाट दुईवटा फोटो खिचेका थिए। अघिल्ला गणनाभन्दा यसपाली एसइसिआर सफ्टवेयरबाट गणनाको पनि विश्लेषण गरिएको महानिर्देशक खड्का बताउँछन्।
विभागले बाघ गणनाका लागि चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स, शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्स गरी तराईका ३ वटा भु–परिधि क्षेत्र छुट्टाएर क्यामेरा ट्रयापिङ प्रविधिबाट गणना गरिएको विभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए। गणनाका लागि २ हजार ८ सय १२ ग्रिड बनाई एक हजार ६ सय ४३ क्यामरा ट्«यापको प्रयोग गरिएको हो।
चितवन–पर्सामा १२ सय ४२ सर्वे ग्रिडमा ८ सय १४ क्यामेरा ट्रयाप गरिएको थियो, भने बाँके–बर्दियामा ९ सय २६ दशमलब १ सर्बे ग्रिडमा ५ सय ७७ क्यामेरा ट्रयाप गरिएको थियो। यसैगरी, शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा ६ सय ४४ सर्वे ग्रिडमा २ सय ५२ क्यामेरा ट्रयाप गरिएको उनले बताए।
सन् २०१७ नोभेम्बर ३१ देखि २०१८ मे सम्म गणना गरिएको थियो। चितवन–पर्सामा १ सय ३७ प्राविधिकले ६३ दिन लगाएर गणना गरेका थिए। बाँके–बर्दियामा ७१ प्राविधिकले ८१ दिन लगाएर र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा ८१ दिनमा २० दिन लगाएर गणना गरेका थिए।
बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिइएको थियो। बाघको आहारा प्रजातिको सर्वेक्षण लाईन ट्रान्जेक्ट विधिबाट गरिएको विभागका उपमहानिर्देशक भट्टराईले जानकारी दिए।

तथ्यांक विश्लेषण
गणनाका क्रममा २६ वटा तथ्यांकलाई विश्लेषण गरिएको जनाइएको छ। एउटा निकुञ्जको विश्लेषण गर्न २५ दिन लागेको थियो। क्याप्चर रिक्याप्चर विधिबाट डब्लुडब्लुएफ नेपाल,जेड एसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, विभगाका प्रतिनिधिले विश्लेषण गरेका हुन्।
एसइसिआर सफ्टवेयरका कारण फोटो एउटा खिचेपछि त्यही क्यामेराले त्यही बाघको अर्को फोटोलाई सिस्टममा लिदैन। शुरुमा ४ हजारभन्दा फोटो कैद भएकोमा २ सय ९ वटा मात्र फोटो नदोहरिएको परेका थिए। तथ्यांक विश्लेषण गरेका विज्ञहरूले कम्तिमा २ सय २१ र बढीमा २ सय ७४ बाघ रहेको अनुमान गरेका छन्।
साढे ३ करोडमा गणना
बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल, जेड एसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, युएस एड हरियो वन कार्यक्रम, अंग्रेजी चलचित्र टाइटानिकका नायक लियोनार्दो डीक्याप्रयो, के एफ डब्लु जर्मनी, प्यान्थेरा, वाइल्ड क्याट कन्जरभेसन एलाइन्सलगायतका संस्थाले आर्थिक तथा प्राविीध सहयोग थिए।
बाघ गणनाका क्रममा साढे ३ करोड खर्च लागेको विभागका महानिर्देशक खड्का बताउँछन्। ५० हजारभन्दा माथिको मूल्य रहेका प्रति क्यामेरा डब्लुडब्लुएफ र जर्मनीको केएफडब्लुले सहयोग गरेका थिए।
गणनाको सर्वेक्षणमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारी, वन तथा भुसंरक्षण विभागका कर्मचारी, राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृतिक संरक्षण कोषका प्राविधिक, डब्लुडब्लुएफ नेपाल, जेड एसएल नेपाल, निकुञ्जमा खटिएका नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन उपभोक्ता, चोरीशिकार नियन्त्रण इकाइका युवा, प्रकृति पदर्शक, विश्वविद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो।
बाघ गणनामा हात्तीको प्रयोग
३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गरेको हाे।
जसमा चितवन १५ वटा हात्ती, पर्सा र शुक्लाफाँटामा ७–७ वटा हात्तीको प्रयोग गरिएको थियो, भने बाँके र बर्दिया ४–४ वटा हात्तीको प्रयोग गरिएको विभागले जनाएको छ ।





