प्रदेश २ : एकैदिन ५० हजार बिरूवा राेपिने

जनकपुर– प्रदेश  २ को सरकारले एकैदिन ५० हजार बिरूवा राेप्ने भएकाे छ।

मन्त्रिपरिषद्को साेमबारकाे बैठकले सरकारको नीति तथा कार्यक्रमअनुरूप हरित प्रदेश योजना कार्यान्वयन गर्ने र १२ असाेजमा ५० हजार बिरूवा राेप्ने निर्णय गरेकाे हाे।

प्रदेश सरकारकाे योजनालाई सार्थकता दिन वृक्षरोपण कार्यक्रमका लागि आठ जिल्लाका वन कार्यालयले समन्वय गर्ने  मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

उनका अनुसार वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुनेछन्।   हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुने प्रदेश सरकारले जनाएकाे छ।

प्रदेश २ सरकारले अार्थिक वर्ष २०७५/७६ को लागि नीति तथा कार्यक्रममा वन तथा वातावारण जोगाउन सबैभन्दा पहिले चुरे जोगाउ मधेश बचाउँ भन्ने नाराका साथ प्रदेश सरकार विभिन्न जनचेतनामुलकु तथा अभियानमुलक कार्यक्रम ल्याउने घाेषणा गरेकाे थियाे।

यसैगरी, सरकारले हरित सडक, हरित नगर, हरित पोखरी, हरित पोखरी, हरित मन्दिर, हरित नहर जस्ता कार्यक्रम सञ्चालन गर्ने र  प्रदेशको विभिन्न स्थानमा इको पार्क,चिडियाखाना,उद्यानलगायतको संरचना तथा क्षेत्र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

हरित प्रदेशका लागि  कृषिमा आत्मनिर्भर बनाउन अन्न उत्पादन, तरकारी खेती, माछा पालन, फलफूलखेतीलाई प्रोत्साहनकाे कार्यक्रमलार्इ पनि अगाडि बढाएकाे मुख्यमन्त्री राउतले १ सय दिने उपलब्धी सार्वजनिक कार्यक्रममा बताएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार