काठमाडौं–सरकारले खाद्य तथा पेय प्रदार्थ प्याकिङ गर्न प्रयोग हुने प्लास्टिकको कार्यविधि तयार गर्न शुरु गरेको छ।
‘खाद्य स्वच्छता तथा जनजीविकाका सवाल’ का लागि भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खाद्य तथा पेय प्रदार्थ प्याकिङमा प्रयोग हुने प्लास्टिकको कार्यविधि तयार गरेर उक्त मापदण्डमा नपर्ने प्लास्टिक प्रतिबन्ध लगाउने तयारी गरेको हो।
उपभोक्ताले प्रयोग गर्ने कतिपय खाद्य तथा पेय पदार्थ प्याकिङ गर्न प्रयोग हुने गरेका प्लास्टिक मानवस्वास्थ्यका लागि हानिकारक हुने भएकाले सरकारले कार्यविधि बनाउन लागेको जनाएकाे छ। कार्यविधि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरिरहेको हो।
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार कार्यविधि तयार भइसकेपछि प्याकिङ प्लास्टिकको गुणस्तर पास गरेर मात्र प्रयोग गर्न पाइनेछ। ‘अहिलेसम्म नेपालमा खाद्य तथा पेय प्रदार्थलाई प्याकिङ गर्न प्रयोग हुने प्लास्टिक तथा प्लास्टिकका बोतल कति गुणस्तर भनेर प्याकिङ सामग्रीकोे गुणस्तर पास भइसकेको छैन,’ उनले भने, ‘कार्यविधि बनाएर लागू हुनेछ।’
खाद्य वस्तु प्याकिंङ सामग्री गुणस्तर नहुँदा त्यसको असर सोझै खाद्य प्रदार्थमा पर्न उनी बताउँछन्। ‘प्लास्टिकजन्य वस्तुमा खाद्य प्रदार्थ प्याक गरेर बेच्दा स्वास्थ्यका लागि हानिकार छैन भनेर प्रमाणित गरेर मात्र प्याकिंङ गर्न पाइनेछ,’ सुवेदीले भने।
कार्यविधि बनेपछि खाद्य तथा पेय प्रदार्थमा मानविय स्वास्थ्यमा असर गर्न प्लास्टिकको प्रयोगमा पूर्णरुपमा रोक लगाइने उनले बताए।
‘स्वास्थ्यका लागि हानिकारक नहुने प्लास्टिकको प्रयोग, कस्तो खालको प्लास्टिकको बोतल प्रयोग गर्ने त्यसको लागि विस्तृत कार्यविधि बन्दै छ,’ उनले भने, ‘उद्योग दर्ता तथा नवीकरण गर्न उद्योगलाई बनेको कार्यविधि अनुसार मापदण्ड पूरा गर्ने सर्तमा मात्र उद्योग दर्ता तथा नवीकरण गरिने छ।’





