काठमाडाैं–घरबाट निस्कने विभिन्न फोहोरलाई मोहोरमा परिणत गर्ने प्रयास दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ५ स्थित भारदेउका महिलाहरूले गरेका छन्।
घरबाट निस्कने कागज, कार्टुन, कपडा, गाइवस्तुलाई दिएर बचेका केही घाँस, गोबर लगायतलाई सदुपयोग गर्दै उनीहरूले गड्यौले मल (भर्मिकम्पोष्ट) बनाइरहेका छन्।
विगत ५ वर्षदेखि उनीहरूले सो मल बनाइरहेका छन्। कम मिहिनेत र थोरै लगानीमा प्रतिफल पाइने हुनाले महिला गड्यौले मलप्रति आकर्षित भएका छन्। आफ्नो घरको काम सकेर बचेको केही समयमा उनीहरू गड्यौले मल बनाउन लागि परेका छन्। न त धेरै समय लाग्ने, न त धेरै मिहिनेत नै पर्ने हुँदा ग्रामीण भेगका महिलाहरू यसप्रति तानिएका हुन्।११ जना महिलाले सुनौलो गड्यौले मल समूह गठन गरेर गड्यौले मललाई आम्दानीको स्रोत बनाएका हुन्।
समूहकी सदस्य लक्ष्मी श्रेष्ठ सडकको छेउमै किराना र चिया नास्ता पसल गरेर बसेकी छिन्। उनी दिनभर पसलमा व्यस्त भएपनि वर्षमा ३–४ पल्ट गड्यौले मल बेचेर २० हजारसम्म आम्दानी हुने गर्छिन। ‘खासै मिहिनेत छैन, दिनभर पसलमै हुन्छु,’ उनले भनिन्, ‘हप्ताको एक दुई पटक मल बनाउन चाहिने कपडा, कागज, अरु केही कसिङ्गरमा पानी हालेर छम्किन्छु।’
सरस्वती श्रेष्ठ पनि गड्यौले मललाई आम्दानीको स्रोत बनाइरहेकी छिन्। उनले गड्यौले मल तयार पार्ने दुईवटा भाडो बनाएकी छिन्। ‘गड्यौलालाई गाइवस्तुलाई जस्तो दिनहुँ खानेकुरा दिनुपर्दैन,’ उनले भनिन्, ‘कम लागतमै आम्दानी गर्न सकिन्छ।’ गड्यौला र गड्यौले मलबाट वार्षिक ५० हजारसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताइन्। उनका अनुसार किसानहरु गड्यौले मल खरिद गर्न घरमै आइपुग्छन्।
उनीहरूले करीब ४ हजारको लगानीमा मल राख्ने भाडो बनाएका छन्। बोरामा बेच्ने मलको प्रतिकेजी २० रुपैयाँ र प्लाष्स्किमा राखेर बेच्ने मलको प्रति केजी २५ दर कायम गरिएको श्रेष्ठले बताइन्। उनीहरुले ३ महिनामा एउटा लट मल तयार गर्छन् ।
सोही गाउँकी गीता श्रेष्ठ खेतबारीमा गड्यौले मलको प्रयोग गर्दै आएकी छन्। ‘गड्यौले मलले किराफट्यांग्रा भगाउँछ,’ अनुभव सुनाउँदै उनले भनिन्,।
गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तान गड्यौले मलको अझ प्रचार एवं प्रयोगमा ल्याउन सके वातावरण संरक्षण, फोहोर व्यवस्थापन र आयआर्जनको बाटो पनि बन्ने बताउँछन्।
वरिष्ठ माटो विज्ञ डा जनार्दन खड्का गड्यौलाले माटो मलिलो बनाउन सहयोग गन भएकाले गड्यौले मल माटोका लागि फलदायी हुने बताउँछन्। ‘गड्यौले मल बालीनालीका लागि अति नै राम्रो हुन्छ, यसलाई व्यवहारिक ढंगले लैजानुपर्छ,’ उनले भने, ‘शहरी भेगमा जैविक फोहोर नै राख्ने ठाउँको अभाव हुनसक्छ त्यस्तो ठाउँमा गड्यौले मल उत्पादन गर्न सकिन्छ।’
के हो गड्यौले मल ?
गड्यौलालाई व्यवस्थित पालन गरेमा प्रांगारिक मल तयार गर्न सकिन्छ। गड्यौलालाई प्राांरिक पदार्थ खुवाएर त्यसबाट विष्टाको रुपमा निकालिएको सडेगलेको कम्पोष्ट मलको समिश्रणलाई नै गड्यौले मल भनिन्छ।
विष्टा एक प्रकारको ह्यूमस हो। यसमा बोटबिरुवालाई चाहिने घुलनशिल नाइट्रोजनतत्व एमोनियाको रुपमा र अरु घुलनशिल खाद्यतत्वहरु हुन्छन्।
हाम्रो घरको भान्सा कोठाबाट दैनिक निस्कने विभिन्न प्रकारका फाहोरलाई संकलन गरेर कुहिने जतिलाई छुटाएर बेस्टविनमा राखेर उक्त ठाउँमा गड्यौला पालन गरी त्यसबाट उत्पादीत उर्वरक मल सहितको माटो करेसाबारी, गमला, कौसी खेती आदी ठाउँमा प्रयोगमा ल्याउन सकिन्छ ।