निजगढ विमानस्थल : वनमन्त्रीलाई डाक्दै प्राकृतिक स्रोेत समिति

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हुने भनिएको रुख कटानको विषयमा चासो देखाएको छ।

विमानस्थल निर्माणका लागि पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटानकाे प्रक्रियाको थालनी भइरहेका बेला प्राकृतिक स्रोत समितिले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग छलफल गर्ने भएको हो।

पहिलाे चरणमा रूख कटानका लागि संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय २१ असारमा वन तथा वातावरण मन्त्रालयसँग कार्ययाेजना अगाडि बढाइदिन प्रस्ताव गरेपनि मन्त्रिपरिषदमा पेश भएकाे छैन।

जेष्ठ सदस्यकाे हैसियतमा समितिकाे सभापतित्व ग्रहण गरिरहेका सांसद सत्यनाराण शर्माले विमानस्थलका लागि रुख कटानको विषयमा समितिको पनि ध्यानाकर्षण भएको जनाउँदै के भइरहेको भनेर वनमन्त्री र वन सचिवसँग छलफल गर्ने तयारी भइरहेको बताए।

‘निजगढ विमानस्थल निर्माण अगाडि बढाउँदा रुख कटान गर्नुुपर्ने र त्यसबाट वातावरणीय एवं जैविक विविधतामा क्षति पुग्ने भनेर आवाज उठिरहेको छ, त्यसबारे छलफल गर्न लागिएको हो,’ उनले भने। शर्माले आवश्कताका आधारमा मात्र रुख कटान गर्नुपर्ने समितिको धारणा रहेको बताए।

विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिना नै रुख कटानको तयारी गरिएको तथा बोटबिरुवा रोप्ने टुंगो नरहेको भन्दै वातावरणविद्हरूले आपत्ति जनाइरहेका छन्।

निजगढ विमानस्थलको विषयमा ३१ भदौमा केही सांसदहरुले प्रतिनिधिसभामा आवाज उठाइसकेका छन्। कांग्रेस सांसद दीव्यमणिराज भण्डारी रुख कटानको विषयको जवाफ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिनुपर्ने माग ३१ भदौमा प्रतिनिधिसभामा राखेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार