काठमाडौं–प्लास्टिकका झोलाका कारण वातावरणीय प्रदूषण निम्तने गर्छ। प्लास्टिकलाई खाडलमा गाड्दा पनि वर्षाैसम्म गल्दैन भने जलाउँदा त्यसबाट निस्कने धुँवा झनै हानिकारक हुन्छ। जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
प्लास्टिक झोला नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरेपनि यसको कार्यान्वयनको पाटो फितलो देखिएको छ । हाकाहाकीकर्मी नवीन लुईटेलले केही विद्यार्थीलाई प्लास्टिकको न्यूनीकरण कसरी गर्ने भनेर सोधेका छन् ?
भूमिका कुँवर – कक्षा ९ , इन्द्रेणी माध्यमिक विद्यालय ठेचो
प्लाष्टिकको झोलाको साटो कपडाको झोलाको प्रयोग गर्ने बानी बसालौँ। हामी जतासुकै फोहोर देख्दा सबैभन्दा बढी प्लास्टिककै फोहोर देख्छाँै। कृपया फोहोर फाल्दा प्लास्टिकलाई अलग्गै व्यवस्थापन गरौँ।
सारीका मर्हजन– सेन्टमेरिज हाइस्कूलल कक्षा ११
प्लास्टिकले मानव स्वास्थ्यमा असर गर्छ भनेर मान्छेहरूलाई जगाउनुपर्छ। प्लास्टिक बाल्दा हानीकारक ग्यास समेत आउँछ। प्लास्टिकको प्रयोग घटाउन नियम मात्र बनाएर हुँदैन यसको विकल्पका बारेमा पनि उचित ढंगले सोच्नुपर्छ।
आशिष स्याङ्तान– कक्षा ९ सरस्वती मावि, लेले
सरकारले प्लास्टिक झोला नियन्त्रणका लागि बनाएको नीतिनियम आमजनतालाई पनि बुझाउन जरुरी छ। हाम्रा पाठ्यपुस्तकमा पनि यसबारेमा स्पष्ट ढंगले उल्लेख गरेमा झनै सहयोग पुग्छ।
यसको नकारात्मक पक्ष र कानुनी पक्षका कुरा खुलाउनुपर्छ। ठाउँठाउँमा प्लास्टिक र प्लास्टिक बाहेकका फोहोर छुट्याएर राख्ने डष्टविनको ब्यवस्था गरेमा सहज हुन्छ होला।
दीपीका तिमल्सिना– कञ्चन मावि कक्षा ८
प्लास्टिकको प्रयोग कम गरेर र प्रयोगमा आएका प्लास्टिकको पुनः प्रयोग गरेर पनि घटाउन सकिन्छ। जथाभावी प्लास्टिक फोहोर फाल्नु पनि हुँदैन।
सुम्निमा राई– कक्षा १० , हिलटप मावि
हामीले खाने बस्तुमा प्रयोग गर्ने सामग्रीमा प्लास्टिकको प्रयोग हटाउने नीति सरकारले लिनुपर्छ। जताततै फोहोर देख्दा ती सबैमा प्लास्टिककै झोला देखिन्छ।
प्रसुन मर्हजन– सेन्ट जेभियर्स स्कूल, कक्षा ८
हामीले सपिङ जाँदा पोलिथिन झोलाको सट्टा कागज या कपडाको झोला प्रयोग गर्नुपर्छ । हाम्रोे स्कुलमा प्लास्टिक झोला प्रतिबन्ध छ। यस्तै सबै ठाउँमा प्रतिबन्ध गर्नुपर्छ।
प्रभातप्रकाश तिमल्सिना– कञ्चन मावि कक्षा ९
बजारमा किनमेल गर्न जाँदा कागज वा कपडाका झोलाको प्रयोग गर्नुपर्छ। घरमा पनि प्लास्टिकका साटोमा अन्य बस्तुको प्रयोग गरेमा प्लास्टिकबाट हुने प्रदूषण नियन्त्रण गर्न सहज हुनेछ। प्रयोग गर्नै परे पुनः प्रयोगमा ल्याउने तर, नजलाउने।





