इटालीको संविधानमा वातावरणीय र सांस्कृतिक धरोहरको संरक्षण आधारभूत सिद्धान्तका रुपमा रहे पनि सांस्कृतिक धरोहर मन्त्रालयको भेनिस जोगाउन कुनै प्रभावकारी प्रावधान छैन न त अधिकारीहरु भेनिसका स्मारकहरु संरक्षण गर्न कुनै आयोजना छ मात्र जनतालाई भविष्यमा कसरी हातमुख जोराउन सकिन्छ भन्नेमै सरकार केन्द्रित छ ।
साल्भातोरे सेटिस, पिसा, इटाली
भेनिसलाई एउटा भयानक प्लेगले सखाप पारेको छ र यो कुनै कोलेरा होइन जुन नोबेल पुरस्कार विजेता थोमस मनको १९१२ मा निस्केको उपन्यास ‘डेथ इन भेनिस’को पात्र गुस्ताभ भोन एस्चेनबाकजस्तो मृत्युतर्फ धकेलिएको नै होस् । बरु यो त भेनिसको आन्तर्यमा रहेको अति लोभी पर्यटक मोहको रोग हो, जसले यस प्राचीन सहरलाई नै सखाप पार्नेतर्फ उद्यत छ ।
हरेक वर्ष भेनिसका गल्ली र नहरहरूमा लाखौँ पर्यटकहरु ओइरिन्छन्, जसले यहाँको जनसंख्या र अर्थतन्त्रलाई गम्भीरतापूर्वक फेरबदल गरिदिन्छन् । पर्यटकीय कारणले यहाँ मानिस ओइरिने र पर्यटकलाई होटल तथा रेष्टुराँमा सेवा दिने तथा उपहार र महोत्सवका मास्क बेच्ने गर्छन् ।
पर्यटनले भेनिसको सामाजिक लिसो क्रमशः चुँडालिरहेको छ र सामाजिक संस्कृति भक्षकमा परिणत भइरहेको छ । टर्की र ट्युनिसियाजस्ता मुलुकमा आतङ्क र अस्थिरताका कारण इटाली र खासगरी भेनिसमा पर्यटकहरु अझै ओइरिने क्रम बढ्नेछ । यसको अर्थ हो, यहाँका २४ सय होटल र रात्रिकालीन बास बस्ने ठाउँ झन् भरिभराउ हुनेछन् । भेनिसका ऐतिहासिक थलोमा दैनिक ५० हजारभन्दा बढी पर्यटकहरुले भरिनेछन् ।
भेनिसको मुख्य जलमार्ग ग्रान्ड कनालमा मात्रै विगत १५ वर्ष यता सरकारी संस्थाहरु अदालत, बैंक, जर्मन कन्सुलेट, अस्पताल र विभिन्न पसलहरू बन्द गरिएका छन् ताकि ती ठाउँमा नयाँ होटल खोल्न सकियोस् । नभन्दै त्यहाँ १६ होटलहरू निर्माण भएका छन् ।
यसबाट आजित संयुक्त राष्ट्रसंघीय संस्था युनेस्कोले गएको महिना सूचना निकाल्दै विश्व सम्पदामा भेनिसले छेडछाड गरिरहेको भन्दै उपयुक्त प्रगति नहुञ्जेल आउँदो फरवरी महिनासम्म सूचीबाट नाउँ स्थगन गर्ने चेतावनी दिएको छ । युनेस्कोले सहरको पर्यावरणीय प्रणालीमा गम्भीर आघात पुगेको जनाएको छ । युनेस्कोको विश्व सम्पदाको सूची एक हजारभन्दा बढी छ तर उसको चेतावनी नमान्दा अहिलेसम्म एउटा मात्र सहरले सम्पदासूचीबाट निष्कासित हुनु परेको छ । जर्मनीको ड्रेस्डेन सहरले आफूखुसी भवन र नदीमा बनेको पुललाई परिवर्तन गर्दा युनेस्कोले सूचीबाट हटाएको थियो । के अब उसो भए भेनिस पनि सोही अप्रीतिकर सूचीमा पर्न लागेको हो त ?
गएको जुलाईमा युनेस्कोले प्रकाशन गरेको रिपोर्टमा विश्व सम्पदामाथि ‘गम्भीर चासो’ व्यक्त गर्दै पछिल्लो समय गरिएको परिवर्तन, पूर्वावस्थामा गरिएको छेडछाडले सहर र यसको समुद्रतालसँगको सम्पूर्ण सम्बन्धमा परिवर्तन आउने चेतावनी दिएको थियो । यसले भेनिस सहरको अखण्डता र प्रामाणिकतामा खलल पुग्ने उसको भनाइ थियो ।
युनेस्कोको यो अन्तिम चेतावनी त्यसै आएको भने होइन, यसअघि पनि उसले यस्ता कैयौँ सचेतना दिँदै आएको हो । पहिलो पटक चेतावनी दिँदा उसले सहरका बासिन्दा र पर्यटकहरुको सन्तुलन बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेको थियो । (हुन पनि १९५१ मा सहरको जनसंख्या १ लाख ७४ हजार ८ सय ८ थियो भने २०१४ मा ५६ हजार ३ सय ११ मा झरेको थियो ।) पछिल्लो समय विकसित पानीभित्र यातायातका साधन र गहिरो पानी उत्खननका कारण सहरभित्रै पहिरो जाने खतरासँगै सहरी प्रणालीको पर्यावरणीय समस्या चुलिने युनेस्कोले औँल्याएको थियो ।
१५ सय वर्ष पुरानो उपलब्धिलाई गिज्याउँदै हिजोआज नियमित रुपमा भीमकाय पानीजहाजले पियाजा सान मार्कोमा परेड खेल्ने गर्छ, जुन सहरको मुख्य ठाउँका रुपमा परिचित छ । यो ठाउँलाई व्यवस्थापन गर्नुभन्दा २२२ फिट अग्लो त्यो पानीजहाज दैनिक रुपमा हिँड्छ जुन १४ औं शताब्दीमा बनेको डोगेको दरबारभन्दा दोब्बर अग्लो छ । यो ठाउँ हुँदै दैनिक दर्जनौँ स–साना पानीजहाज दौडिरहेका हुन्छन् ।
यस्तो अव्यवस्था रोक्न इटालेली अधिकारीहरुलाई आग्रह गरिए पनि उनीहरुको चिसो व्यवहारले यहाँ चाँडै कुनै कारबाही होला भन्ने कुरामा आशा छैन । त्यसो त सन् २०१२ को जनवरीमा टस्कनीमा कोस्टा कोन्कर्डियाको पानी जहाज दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । त्यसयता इटालेली सरकारले ठूला पानी जहाजलाई समुद्री किनारभन्दा दुई माइल परै रोकी सो किसिमको दुर्घटना र क्षतिबाट जोगाउनुपर्ने आदेश दिएको थियो । तर आशंका गरिएझैँ इटालेली सरकारले आफ्नै आदेश परिपालना गराउन सकेको छैन र भविष्यमा त्यस्तै दुर्घटना नहोला भन्ने अवस्था पनि छैन किनभने कुस्त रकम भएका पर्यटकीय कम्पनीहरुले सरकारको मुख टालिनैरहेका छन् । खासगरी भेनिसजस्ता ठाउँमा कानुनी छिद्रको बाटो पक्डँदै पर्यटन अराजकता रोक्न सरकारलाई हम्मे परेको छ । त्यसैले ऐतिहासिक महत्वको थलो पियाजा सान मार्कोजस्तो ठाउँ हुँदै ठूला पानी जहाजलाई रोक्नु कठिन भएको छ भने यही कारण शताब्दीऔँ पुराना थलोलाई हानि पुग्ने सम्भावना पनि उत्तिकै छ ।
यसका अतिरिक्त सन् २०१४ मा भेनिसका मेयर जर्जियो ओर्सोनीले सामुद्रिक बाँध बनाउने विवादास्पद नीति अघि बढाउँदा अर्बौं डलरको घुस दिइएको खुलासा भएपछि यस काण्डले राजिनामा समेत दिनु परेको थियो । उनीपछि आएका अर्का मेयर लुइगी बु्रग्नारोले भेनिसको पर्यटनलाई उचाइमा पु¥याएका छन् । ब्रुग्नारोले महाकायका पानीजहाजलाई सहरकै महत्वपूर्ण थलोसम्म छिराएनन् मात्र सहरको म्युजियमबाट अति प्राचीन कला बेचेर भेनिसको घाँटीसम्म आइपुगेको ऋण तिर्ने प्रस्तावसमेत ल्याए ।
भेनिसको विध्वंश इटालीको फाइदामा पक्कै छैन तर अधिकारीहरु त्यसो गर्न बाध्य छन् । क्षेत्रीय र सहरका स्थानीय अधिकारीहरुको मिल्ती रोमको सरकारसँग छैन । त्यति मात्र होइन, भेनिसको आम्दानीको विविधतामा ध्यान दिइएको छैन । निकै कम भेनेसेलीहरु मात्र काम गर्छन् । भेनिसको आर्थिक जीवनलाई पुनर्जीवन दिन नयाँ नीतिहरु कडाइका साथ लागू गर्नुपर्छ ताकि भेनेसेली नवयुवा सहर छाडी अन्य ठाउँमा पलायन नहोऊन् । सहरभित्रै उत्पादनमूलक कारखाना तथा पर्यटनइतरका व्यवसाय मौलाउने वातावरण दिइनु पर्छ । कतिपय खाली पुराना भवनहरुलाई पुनर्प्रयोग गर्न विश्वविद्यालय तथा शोधकेन्द्रहरु खोलिनुपर्छ ।
सांस्कृतिक धरोहर मन्त्रालयले अहिलेसम्म भेनिसका लागि कुनै पनि प्रभावशाली प्रावधान ल्याएको छैन ।
इटालीको संविधानमा वातावरणीय र सांस्कृतिक धरोहरको संरक्षण आधारभूत सिद्धान्तका रुपमा रहे पनि सांस्कृतिक धरोहर मन्त्रालयको भेनिस जोगाउन कुनै प्रभावकारी प्रावधान छैन न त अधिकारीहरु भेनिसका स्मारकहरु संरक्षण गर्न कुनै आयोजना छ मात्र जनतालाई भविष्यमा कसरी हातमुख जोराउन सकिन्छ भन्नेमै सरकार केन्द्रित छ ।
यदि इटालीले भेनिसलाई अझै बढी रोगग्रस्त हुनबाट जोगाउने हो भने र यसको सुन्दरता र सामूहिक स्मृतिलाई कायम राख्ने हो भने यसले आफ्नो क्षुद्र व्यापार त्याग्दै आफ्नै टिकाउ संविधान, सांस्कृतिक धरोहर, शिक्षा र शोधमा टेकेर आफ्ना सम्पूर्ण प्राथमिकताहरुलाई पुनर्समीक्षा गर्नुपर्छ ।
(साल्भातोरे सेटिस लुभ्र म्युजियमको वैज्ञानिक सल्लाहकार काउन्सिलका अध्यक्ष हुन् । उनले लेखेको ‘इफ भेनिस डाइज’ नामक पुस्तक निकट भविष्यमा प्रकाशन हुँदैछ ।)
इन्टरनेसनल न्युयोर्क टाइम्स