११ जेठ, काठमाडौँ ।
नेपालमा अभिलेख भएका पक्षीहरूको संख्या ९ सय पुगेको छ ।
सप्तरीको कोशी बाँधस्थलमा ‘सर्ट टेल्ड सिरवाटर’ नामक सामुद्रिक पक्षी भेटिएसँगै नेपालमा अभिलेख भएका पक्षीका प्रजातिहरूको संख्या थपिएको हो । चराविद् अनिष तिम्सिनाले सो क्षेत्रमा कैद गरेको तस्बिर, भिडियोको तथ्य परीक्षण गर्दा यो पक्षी नेपालका लागि पहिलो पुष्टि भएको हो ।
गत २० वैशाख, विहान ९ बजे आसपासमा देखिएको उक्त सामुद्रिक पक्षीलाई नेपालका पक्षीविद्हरूले ‘छोटो पुच्छ्रे समुद्री चरा’ नाम दिएका छन् । कोशी बराजको पिनटावरबाट कोशी बाँध जलाशयको दक्षिणभेग तर्फ करिब आधा घण्टासम्म यो पक्षीले पौडी खेलिरहेको अवसरलाई तिम्सिनाले क्यामेरामा कैद गरेका छन् ।
यो पक्षी नेपालका लागि नयाँ हुनसक्ने ठहर गर्दै उनले आफूले कैद गरेका तस्बिर, भिडियो गत २२ वैशाखमा नेपाल बर्ड रेकर्ड कमिटिलाई पठाएका थिए । नेपाल पक्षीविद् संघको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुवेदीले हाकाहाकीसँग भने, ‘हामीले विभिन्न विवरण अध्ययन ग-यौँ, राष्ट्रिय/अन्तर्राष्ट्रिय पक्षीविद्हरूको पनि राय सुझाव लिँदा ‘सर्ट टेल्ड सिरवाटर’ नेपालका लागि पहिलो रेकर्ड बन्यो ।’ झट्ट हेर्दा हाँसझैँ देखिने यो पक्षी हाँस प्रजातिको नभएको उनले प्रष्ट्याए ।
सुवेदीका अनुसार यो पक्षी अस्ट्रेलिया, अन्टार्क्टिका, क्यानडा, कोस्टारिका, फिजी, जापान, नेदरल्याण्ड, रूस र दक्षिण कोरियाको आवासीय हो । दक्षिण एसियाका भारत र श्रीलंकाको समेत रैथाने ‘छोटो पुच्छ्रे समुद्री चरा’ बाटो विराएर नेपालतर्फ आएको हुनसक्ने पक्षीविद्हरूको ठहर छ । छोटो अवधिका लागि कुनै भूगोलमा देखिने पक्षीलाई विज्ञहरू फिरन्ते प्रजाति मान्छन् ।
नेपालमा अहिले देखिएको यो पक्षी यसअघि भुटानमा पनि भेटिएको थियो । प्राय माउबाट छुट्टिएका अल्प वयस्क चराहरू नयाँ विचरण क्षेत्र खोज्न स्वभावका हुन्छन् । यस्तै क्रममा ‘छोटो पुच्छ्रे समुद्री चरा’ कोशी आएको हुनसक्ने डा. सुवेदीले बताए । ‘अहिले भेटिएको पक्षी वयस्क हो या अर्धवयस्क पुष्टि भएको छैन तर पक्षीहरू प्राय नयाँ गन्तव्यको खोजीमा रहन्छन्’, उनले भने ।
सुवेदीले नयाँ तथ्य सुनाए, ‘सर्ट टेल्ड सिरवाटर’बारे विदेशी विज्ञहरूको राय लिने क्रममा अष्ट्रेलिया लगायतका देशमा पनि पक्षीहरूले केही वर्षयता नियमित भन्दा फरक स्वभाव देखाइरहेका, पक्षीहरू नयाँ ठाउँमा पुगेका घटना विज्ञहरूले हामीलाई बताउनुभएको छ ।’
यसअघि गत २५ चैतमा दक्षिण इलामको सुखानी क्षेत्रमा भिओलेट कुक्कु (बैजनी कोइली) भेटिएको थियो । पक्षी अनुसन्धाता राजेन्द्र गुरूङ लगायतको टोलीले फेला पारेको सो पक्षी नेपालका लागि ८ सय ९९ औँ अभिलेख हो ।