काठमाडौं–काठमाडौं उपत्यकामा विस्तार गर्ने भनिएको ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथ आयोजना अलपत्र परेको छ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला छुने गरी निर्माण गर्न लागिएको बाहिरी चक्रपथ आयोजना शहरी विकास मन्त्रालयले रोकेपछि त्यतिकै अलपत्र बनेको हो।
पहिलो खण्डमा चोभारदेखि गाम्चाहुँदै सतुंगल सम्मको ६ किलोमिटर सडक निर्माण गरिने भनिएको थियो। गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत भइसकेको छ।
तर, पहिलो खण्डको जग्गामा कित्ताकाटको समस्या देखिएपछि निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पहिलो खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ वटा सानाकित्ता परेपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेकाले निर्माण कार्य रोकिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने बताउँछन्।
‘पहिलो खण्डमा भएको तीन आनाभन्दा कम २ हजार ९ सय ५३ वटा कित्ता जग्गालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ, त्यसले गर्दा अहिले निर्माण कार्य अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘योसँगै अब खण्ड–खण्डमा गर्नुको सट्टामा एकैपटक ७२ किलोमिटरलाई नै हेरेर डीपीआर तयार पार्ने र काम गर्ने होकी भन्ने विषयमा पनि छलफल भइरहेको छ।’
उनका अनुसार आयोजनाको काम अघि बढाउन जग्गासँगै प्राविधिक समस्या देखिएपछि शहरी विकास मन्त्रालयले जवाफ मागेको थियो। ‘विस्तृत जानकारीसहित जवाफ पठाइसकेका छौँ,’ उनले भने, ‘अब मन्त्रालयको निर्णय आएपनि काम पुनः सुचारु हुन्छ।’
तर, शहरी विकास मन्त्रालय भने प्राधिकरणले विस्तृत जानकारी नपठाएकाले तत्काल आयोजना अगाडि बढाउन नसकिने बताएको छ। प्राधिकरणले पठाएको प्रतिवेदन स्पष्ट नभएकाले यस विषयमा छलफल भइरहेको शहरी मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडी बताउँछन्। ‘हामीले पहिलो खण्डमा देखिएको कित्ताको समस्याको विषयमा विस्तृत जानकारी मागेका थियौँ,’ प्राधिकरणले त्यसमा थोरै मात्र जानकारी पठाएको छ,’ उनले भने, ‘कसको जग्गामा कति पर्ने हो, सार्वजनिक कति छ र खर्च कति लाग्ने हो यो विषयमा केही पनि जानकारी प्राप्त भएको छैन।’
प्रतिवेदन अस्पष्ट भएकाले पुनःविस्तृतमा जानकारी पठाउन प्राधिकरणलाई पत्राचार गर्ने तयारी रहेको उनको भनाइ छ ।
कस्तो बन्नेछ बहिरी चक्रपथ ?
बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। सडकका दुवै भागमा साइकल ट्रयाकका साथै ग्रिन बेल्टसहितको फुटपाथ निर्माण हुने बताइएको छ। फुटपाथसहित ५० मिटरको बाटो बन्ने छ भने बाटोको दुवैभागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्नेछ।
चक्रपथले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई छुनेछ, भने तराई जोड्ने फास्ट ट्रयाकका साथै अरनिको, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गसँग जोडिने छ। यसका साथै चक्रपथमाचारवटा फ्लाइओभर बन्नेछ। ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथको निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
कुन जिल्लामा कति किलोमिटर ?
बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ। त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।
बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।
बाहिरी चक्रपथका फाइदा
बाहिरी चक्रपथ निर्माण भएमा काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । सरकारले सडक आसपासमा विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थल लगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना अगाडि सारेको छ।
यसका साथै अरनिको र पृथ्वी राजमार्गसहित फास्ट ट्रयाकसँग जोडिने भएकाले बाहिरी चक्रपथ निर्माण पश्चात उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने अपेक्षा गरिएको छ।





