मातातीर्थ सव–स्टेशनका लागि रूख काट्न ‘फास्ट ट्रयाक’ बाट अनुमति

काठमाडौं– सरकारले काठमाडौंस्थित मातातीर्थ  सव-स्टेशन लाइनका लागि रूख कटानकाे अनुमति दिएको छ।

काठमाडौं उपत्यकामा विद्युत भित्र्याउन बनाइन थालिएको उक्त सव-स्टेशनमा भूमिगत प्रशारण लाइन निर्माण हुने क्षेत्रमा ३ सय ३६ वटा रूख कटानका लागि मन्त्रिपरिषद्को हालैको बैठकले अनुमति दिएको हो।

नुवाकोटको सिम्लेदेखि काठमाडौंको मातातीर्थसम्मको ४५ किलोमिटरमा १ सय ४२ वटा टावर खडा गरी प्रशारण लाइन निर्माणको काम हुँदैछ।

तर, प्रशारण लाइन निर्माणका लागि २६ वटा सामुदायिक वनका कतिपय क्षेत्रमा रूख काट्नु पर्ने भएपनि मातातीर्थ सामुदायिक वनका रूख काट्न वन मन्त्रालयल अनुमति दिएको थिएन।

गत साउनमा मात्र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग ३ सय ३६ वटा रूख कटानका लागि ‘फास्ट ट्रयाकमार्फत् निर्णय गरिदिन’ अनुरोध गरेका थिए।

त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले नेपाल विद्युत प्राधिकरण हुँदै अगाडि बढाएको फाइल स्वीकृत गर्दै वन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेपछि निर्णय भएको हो। अब रूख कटानका लागि वन तथा भू–संरक्षण विभाग र आयोजनाबीच सम्झौता हुनेछ।

आयोजना प्रमुख फणिन्द्रराज जोशी रूख कटानको अनुमति पाएपछि कामलाई तीव्रता दिन सहज हुने बताउँदै आएका थिए।

उक्त आयोजना सन् २०१६ को जुन ३० सम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको थियो। तर, भूकम्पलाई कारण देखाउादै सन् २०१९ अप्रिल ३० सम्मका लागि म्याद थप गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार