हेटौंडा–मकवानपुरका अधिकांश बस्ती भू–क्षय र पहिरोको उच्च जोखिममा छन्। चुरे क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिकाको राप्ती खोला पारीका विभिन्न ५ र मनहरी गाउँपालिकाका ४ वटा वडा पनि वर्षायाम शुरु भएसँगै जोखिममा पर्ने गर्छन्।
हेटौडा नगरका ७, ८, १२, १३ र १४ वडा र मनहरीका १, २, ३ र ४ नम्बर वडा हरेक वर्ष वर्षायाम शुरु भएसँगै जोखिममा रहन्छन्। भू–बनोटको दृष्टिकोणले यस जिल्लाको लागि चुरे क्षेत्र चुनौतीको रूपमा रहेको छ। जिल्लाको कुल भूभागको ४८ दशमलव ७५ प्रतिशत क्षेत्रफल चुरे क्षेत्रले ओगटेको छ।
चुरे क्षेत्रको खहरेबाट वर्षेनि मकवानपुरको २ सय विगाहाभन्दा बढी उर्वरा जमिन बगरमा परिणत हुँदै आएको छ, भने १ सयभन्दा बढी परिवार सुकुम्बासी बन्ने गरेका छन्। वर्षाका कारण खोला छेउका जमिन बगर परिणत हुन्छ तर, २ देखि ४ वर्षमा पुनः स्थानीयले पहिलेकै अवस्थामा फर्काउन खेतीयोग्य बनाउने प्रयास पनि गर्ने गरेका छन्।
हेटौंडा–१३ का १ सय वर्षीय ज्येष्ठ नागरिक उमाकान्ता आचार्यले चुरे र खहरेको उतार चढाबलाई धेरै पटक नियाल्ने मौका पाएका छन्। अन्य वर्षको तुलनामा २०५०, २०६१ र २०७३ सालमा खहरेमा धेरै ठूलो बाढी आएको स्मरण गर्दै उनी भन्छन्, ‘खहरे हरेक वर्ष आउँछ, दुःख दिन्छ तर, २०५० सालको जस्तो ठूलो क्षति अरू बेला भएको छैन।’
सो साल कति जनधनको क्षति भयो भन्ने एकीन तथ्यांक नभेटिएपनि १ सयभन्दा बढी व्यक्ति हताहत भएको आचार्यसहित अन्य बृद्धबृद्धाको अनुमान छ। खहरेले दुःख दिने क्षेत्र आसपासमा बस्नु स्थानीयको रहर हैन, बगर छेउमा बसोबास गर्नेको अन्यत्र बासस्थान र जग्गा जमिन छैन। मकवानपुरको मनहरी–३ हाँडिखोला मसिने खहरे किनारमा बस्दै आएका शंकर थोकर वर्षेनी बाढीले दुःख दिने गरेको बताउँछन्।
‘थोरै पानी पर्ने बित्तिकै ह्वात्तै बाढी आउँछ, पानी पर्न छोडेपछि फेरि ह्वात्तै सुक्छ, हामीलाई समस्या छ, सामान्य रूपमा बाँधेको बाँध पहिला पनि भत्काएको हो, बाढी आएर भागेको पनि हो,’ उनले गुनासो गर्दै भने, ‘हाम्रो त अन्त जग्गा छैन साहुको घर हो यहि घर पनि खहरले लग्यो भने के गर्ने थाहा छैन, हामी त मजदुरी गर्ने, जाल हानेर माछा पनि मार्ने मान्छे हो।’
यस्तो समस्यासँग जोडिएका थोकर प्रतिनिधि पात्र मात्रै हु्न्। वर्षा मौसम शुरु भएसँगै धेरै स्थानीय सधैं त्रासमा हुन्छन्। खहरेका छेउमा बस्ती भएकाले बाढीपहिरो कुन बेला घरमा क्षति पुर्याउने हो भन्दै शसंकित रहनुपर्ने उनीहरू बताउँछन्। खहरेबाट मकवानपुरको पूर्वी भेगको बकैया र बागमती गाउँपालिका पनि प्रभावित छ। तत्कालीन जिल्ला संरक्षण कार्यालय मकवानपुरको तथ्यांक अनुसार जिल्लाभर १ सयभन्दा बढी खहरे खोला रहेको अनुमान छ।
भू–क्षय र पहिरोको दृष्टिकोणले जिल्लाको कुल भू–भागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर अर्थात् ६ दशमलव ४९ प्रतिशत जमिनमात्र सुरक्षित छ। ७४ हजार एक सय ३२ हेक्टर जमिन अर्थात् कुल जमिनको ३० दशमलव ७३ प्रतिशत जमिन खहरे र बाढीपहिरोबाट सधैँ जोखिममा छ। ततकालीन भू–संरक्षण कार्यालयका प्रमुख राजु दाहालका अनुसार जिल्लाको ६३ प्रतिशत जमिन अर्थात् ५१ हजार हेक्टर भुभाग भूक्षयका दृष्टिले उच्च जोखिममा छ।
मनहरी, हाँडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हाडीखोला, छतिवन, फापरवारी, राइगाउँ र धियाँल चुरे क्षेत्रमा पर्छन्। ती क्षेत्रमा रहेका राष्ट्रियसँगै सामुदायिक वन मासिने क्रममा छ। फलस्वरुप आगामी दिनमा चुरे क्षेत्रको भूक्षयमा बढोत्तरी हुने अनुमान गर्न सकिन्छ।
मकवानपुरमा मात्र एक सय ५० किलोमिटरभन्दा बढी लम्बाइमा चुरे पहाड छ। त्यहाँ वन विनासका कारण खहरेले चुरे आसपासका बस्ती र उर्वर भूमिलाई क्रमशः बगरमा परीणत गर्दै गइरहेको छ, भने शिवालिक क्षेत्रको जंगल पनि त्यही गतिमा मासिँदै गएको छ। तत्कालीन जिल्ला विकास समितिले निर्देशिका जारी गर्दै चुरे क्षेत्रमा आफूखुसी योजना सञ्चालन गर्न नमिल्ने भनेपनि पालना भएको छैन।
चुरे शिवालिक क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थाले काम गरिरहेका छन् । तर, प्रभावकारिता भने अत्यन्त न्यून छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको चुरे क्षेत्रको विनास र भूक्षय वर्षेनि २ दशमलव ७५ प्रतिशतले हुने गरेको छ। यो क्रम नरोकिएमा वर्षेनि जंगलको विनास र भूक्षयको प्रतिशत बढ्दै जाने भएकाले कम्तिमा २५ वर्षमा मुलुकको अन्नभण्डारको रुपमा चिनिएको तराईका जिल्लाका उर्वर जमिन बालुवामा परिणत हुने तत्कालीन जिविसको ठहर थियो ।
चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ। २०६८ सालबाट नै भुसंरक्षण कार्यालयले चुरे संरक्षण कार्य सुरु गरेको थियो। आर्थिक वर्ष २०७१-०७२ बाट चुरे र खहरेको जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०७१-०७२ मा ४ करोड ५९ लाख २०७२-०७३ मा ४ करोड ८१ लाख २०७३- २०७४ मा र २०७४-२०७५ मा करिब ७-७ करोडको काम भएको समितिका मकवानपुर प्रमुख बसन्त गौतमले जानकारी दिए।
उक्त कार्यक्रमले चुरे संरक्षणको कामलाई गतिदिएको छ। मकवानपुरमा वकैया गाउँपालिकालगायतका केही क्षेत्रमा संरक्षणका काम पनि भएका छन्। ८ सय ८५ किमी लामो रहेको उक्त चुरे क्षेत्र पहाडी तथा तराइका गरी ३४ जिल्लामा फैलिएको छ। पर्वतीय श्रृखंलामध्ये सबैभन्दा कान्छो र होचो पहाडको रुपमा रहेको चुरे क्षेत्रको माटो अस्थिर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भू–क्षय तथा पहिरोबाट ग्रसित हुने गर्दछ। मुलुकको १२ दशमलव ७ प्रतिशत भुभाग ओगटेको चुरे क्षेत्रको विनास आफंैमा मात्रै सीमित नरहेर तराईको उर्वर भूमिको विनासको कारण बन्न पुगेको छ।
मकवानपुरको कूल क्षेत्रफल २ लाख ४२ हजार ६ सय हेक्टरमध्ये कुल खेतीयोग्य क्षेत्रफल ४ लाख १३ हजार ३८ हेक्टर रहेकोमा हाल ३ लाख ६५ हजार ४२ हेक्टर जमिनमा खेती भइरहेको छ। मकवानपुरमा १ सय ८५ हेक्टर (शून्य दशमलव ५ प्रतिशत) खेतीयोग्य जमिन बाढीको जोखिममा रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ।
२०२१ सालदेखि २०३६ सालसम्ममा प्रतिवर्ष १८ हजार ८ सय हेक्टरका दरले जंगल र जमिन विनास हुँदै गएको थियो। चुरे क्षेत्रको वनावट नै अति भिरालो एवं कमलो माटो, गेग्रिरिन र वालुवा मिलेर बनेको छ जसले गर्दा मानविय गतिविधि बिना नै जोखिममा छ। उक्त क्षेत्रमा अहिले मानविय गातिविधि र सडक र अन्य पूर्वाधार विकाससँग जोडिएकाले चुरे क्षेत्रमा भू–स्खलन बढ्दो छ।
चुरेको आयुसँग तराई क्षेत्रको उर्वरा जमिनको भविष्य पनि गाँसिएको छ त्यसैले चुरे क्षेत्रको दीगो संरक्षण, सम्वद्र्धन र विकासका कार्य एकद्धार प्रणालीवाट गर्नु पर्ने विज्ञहरु बताउँछन्। खहरेको पिरलो बढ्नुमा चुरे दोहन नै प्रमुख कारण भएको चुरेको विषयमा विद्यावारिधी गरेका विजयसिंह दनुवारको भनाइ छ। उनले भने, ‘राजमार्ग विस्तारमा केहि मात्रामा चुरे दोहन हुन्छ भने त्यसपछि हुने बस्ती विकासले थप समस्या हुन्छ।’
राजमार्गले चुरे क्षेत्र चिरा चिरा पारेको उनको तर्क छ। राजमार्ग निर्माण गर्दा चुरेको भौगर्भिक अध्ययन गरेर चुरे विनास नहुने गरी गरिनुपर्नेमा डा दनुवार जोड दिन्छन्। ‘अवैज्ञानिक खेती प्रणाली, भूमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रुपमा पहिरो र भुक्षयको जोखिममा रहेको छ,’ उनले भने।
भू–क्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो नम्वरमा पर्छ। भौगर्भिक सूचना प्रणाली अध्ययनपछि मकवानपुरले उच्च सतर्कता अपनाउनुपन तत्कालीन जिल्ला भुसंरक्षण कार्यालय मकवानपुरले जनाएको छ। भुसंरक्षणका महत्वपूर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठूलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको हो।
भौगर्भिक सुचना प्रणालीवाट अध्ययनपश्चात मकवानपुरमा एक हेक्टर क्षेत्रफल भन्दा सानो पहिरोको संख्या ७ सय ५१ रहेका छन् भने एकदेखि २ हेक्टर भित्रका पहिरो एक सय ५६ वटा, दुईदेखि तीन हेक्टर सम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ।
तीन हेक्टरदेखि दश हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेको तत्कालीन भू–संरक्षण कार्यालय प्रमुख दाहालले जानकारी दिए। उनका अनुसार ५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील रहेको छ। संवदेनशिल पहिरो मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गाउँपालिकामा पर्ने साविकको नामटार गाविसमामात्र १३ वटा छन्। भूकम्पले मात्र साविकको नामटार गाविसको १, २ र ३ नम्वर वडाको जमिन चिराचिरा पारेको छ।
उक्त क्षेत्रका भूकम्पपीडित बस्ती नै छाडेर अन्यत्र टहरा बनाएर बसेका छन्। नामटारका अधिकांश भुूम्पपीडितले बस्ती नै स्थानान्तरणको माग गरिरहेका छन्। स्थानीयको मागका विषयमा कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाले पहल गरिरहेको जनाएको छ। भूमीको व्यवस्थापन नहुँदा पनि समस्या भएको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए।
नामटारको तारेभीर, भीमफेदी गाउँपालिको अन्तर्गत पर्ने साविकको भैसे–५ को रातो पहिरो, राक्सिराङ गाउँपालिकामा पर्ने राक्सिराङ गाविस–५ को परेवाभीरको पहिरो संवेदनशील छन्। त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाको साविकको मार्खु गाविस–९ को छहरे पाखोको पहिरो पनि संवेदनशील छ। ती पहिरोका कारण नामटार तथा राक्सिराङको बस्ती र मार्खुको पहिरोले कुलेखानी जलाशय उच्च जोखिममा रहेको दाहालले बताए। ‘समयमै ती पहिरो रोकथाम र जोखिम न्यूनिकरण गर्नेतर्फ सवैको ध्यान जानु जरुरी छ,’ उनले भने।
चुरेबाट बग्ने खहरेको नियन्त्रणका लागि पहल भइरहेको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय हेटौंडाका प्रमुख मनोहर रिजालले बताए। पहिले बाराको परवानीपुरमा रहेको कार्यालयले २ वर्ष अगाडिबाट हेटौंडाबाट छुट्टै रुपमा काम गर्न थालेको हो। नदी, खोला, खहरेको क्षेत्रमा काम गर्नुपर्ने भएको भएपनि भर्खर नदीको मात्र काम शुरु गरिएको उनले बताए। रिजालले भने, ‘अहिले हामी मकवानपुरमा रहेका राप्ती खोला र कर्रा खोलाको बिषयमा काम गरिरहेका छौं, अब खहरेको काम शुरु गर्न लागेका छौं।’
तर, डिभिजन कार्यालको खारेजी भन्ने भएकोले काम कसरी अगाडि बढाउने भन्ने बिषयमा भने द्विविधा रहेको उनले बताए। खहरे नियन्त्रणका लागि ५० भन्दा बढी निबेदन परेको रिजालले जानकारी दिए। खहरे नियन्त्रणका लागि सानोतिनो बजेटले नभ्याउने उनको भनाइ छ।
‘खहरे नियन्त्रणका लागि जहाँ क्षति हुन्छ, त्यहाँ मात्र गरेर हुँदैन यसको मुहानसम्म नै पुग्नुपर्छ, त्यसैले यसको लागि करोडौं खर्च हुन्छ, एउटा खहरेको लागि करोडौं खर्च गर्ने बजेट आउन मुश्किल छ,’ डिभिजन प्रमुख रिजालले भने। खहरेको बाढी एवं चुरेको पहिरो वर्षेनि दोहोरिने भएकाले नियन्त्रणका लागि बजेट विनियोजनका लागि प्रदेश सरकारसँग माग गरिएको उनले जानकारी दिए।





