Thursday, October 3, 2024

सेतीकाे प्रदूषण रोक्न तिब्बती मदिरामा प्रतिबन्ध

बझाङ–तिब्बती मदिराको अनियन्त्रित प्रयोगका कारण सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थालेपछि साइपाल गाउ“पालिकाले आयातमा प्रतिबन्ध लगाएको छ।

गत असारमा सम्पन्न दोस्रो गाउँसभाले नीतिगत निर्णय गरेर आर्थिक वर्ष २०७५-०७६ बाट मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

बझाङको उरै भञ्जाङ नाका हुँदै तिब्बतको ताक्लाकोटबाट वार्षिक तीन करोड बराबरको मदिरा अबैध रुपमा आयात हुने गरेको साइपाल गाउँपालिकाको अनुमान छ। यो बाटो भएर करीब २५ हजार भेडा च्याङ्गग्रा, दुई सयभन्दा बढी खच्चर, चौंरी र भरीयामार्फत् यो परीमाणको मदिरा बझाङ भित्रिने गर्दछ।

यसरी आयात भएको मदिरा आधाभन्दा बढी सेती नदीको मुहान आसपास र जडिबुटी संकलन क्षेत्र रहेको उच्च हिमाली भुभागमा खपत हुने गर्दछ। यार्सा तथा जडिबुटी संकलक, उरै भञ्जाङको बाटो भएर चीनको तिब्बत जाने यात्री र यस क्षेत्रका नदी किनारमा खोलिएका अस्थायी होटलले मदिराका खाली बोतल सेती नदीको मुहान क्षेत्रमा जथाभावी फाल्ने गरेका छन्।

सदरमुकाम चैनपुर बजार नजिकै सेती नदी किनारा। जहाँ सिसा लगायत अन्य फोहोर फाल्ने गरिएको छ।

कैलाश मानसरोवर जाने तीर्थयात्री र यार्सा लगायत अन्य जडिबुटी संकलनकर्ताका लागि लक्षित गरेर काँडाको धुलीदेखि खोपा भन्ने ठाउँसम्म सेती नदीको किनारमा खोलिएका अस्थायी होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोर सेती नदीमा बिर्सजन गर्दा नदीमा फोहोर थुप्रिदै गएको हो।

समुन्द्र सतहदेखि झण्डै ५ हजार मिटरको उचाइँमा रहेको कालंगामा सेतीको मुख्य मुहान छ । यहाँ रहेका होटलले प्लास्टिक, सिसालगायत होटलबाट निस्कने फोहोर फाल्ने ठाउँ सेतीकै मुहानकाले नियन्त्रण गर्न मदिरा आयातमा कडाइ गरिएको साइपाल गाउ“पालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए।

कालंगाभन्दा तल खोलिएका ४ दर्जन होटल र पसलको फोहोर सेती नदीमा नै फाल्ने र पानी अभावका कारण सेतीको पानी पिउने, पकाउने र सरसफाइ गर्ने कामको लागि उपयोग गर्ने गरेको उनले बताए।

‘सेती नदी मात्र हैन, जडिबुटी संकलन क्षेत्रमा पनि मान्छे हिँड्न नमिल्ने गरी सिसा फालिएको छ,’ धामीले भने, ‘यसलाई समयमै रोक्न नसके नदी मात्र हैन यहा“को पर्यावरण र जैविक विविधता नै संकटमा पर्ने खतरा भएकोले तिब्बती मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाएका हौं।’

उनले साउन महिनाको दोस्रो सातादेखि नै सीमा प्रहरी चौकी धुलीको सहयोगमा मदिरा आयात हुने सम्भावित ठाउँमा गाउँपालिका र प्रहरीको संयुक्त टोली खटाइएको र ४ जनाभन्दा बढीलाई कारबाही गरिसकेको बताए।

साइपाल गाउँपालिकाले अहिले त्यहाँ रहेको सिसालाई कसरी सुरक्षित तरिकाले विर्सजन गर्न सकिन्छ, भन्ने विषयमा पनि छलफल गरिरहेको गाउँपालिका उपाध्यक्ष कल्पना बोहराको भनाइ छ । ‘आउने मदिरा त रोकियो। अहिले फालेका सिसा र फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने अर्काे समस्या छ,’ उपाध्यक्ष बोहराले भनिन्, ‘यसपालाको गाउँसभाले मुहान क्षेत्र सफा गर्न केही बजेट समेत विनियोजन गरेको छ। तर, सामान्य प्रयासले यो काम सम्भव छैन।’

उनले यसका लागि स्थानीय व्यक्ति र बाहिरबाट आउने जडिबुटी संकलकलाई आफूले उत्पादन गरेको फोहोर आफैं सुरक्षित तरिकाले विर्सजन गर्ने पद्धति विकास गर्ने बारे छलफल भइरहेको बताइन्। अनियन्त्रित सिसा र फोहोर बढ्दै जाँदा उरै पदमार्ग, साइपाल हिमालको बेस क्याम्प आदि पर्यटकीय क्षेत्रको शोभा समेत बिग्रदै गएको उनको भनाइ छ।

सेती नदीमा सिसै-सिसा

ताजा समाचार

सम्बन्धित समाचार