Wednesday, October 2, 2024

तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

१६ असोज, सुनसरी

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा सुरू भएको हो ।

पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । ३ घण्टाको अवधिमा तरहरा क्षेत्रमा ७२.७ मिलिमिटर र मोरङको केराबारी क्षेत्रमा ५२.४ मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले जानकारी दिए ।

उनका अनुसार सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि मध्यम वर्षा जारी छ । आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको परियारले बताउनुभयो ।

भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार