Wednesday, October 2, 2024

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्–आत्तिनु पर्दैन

१६ असोज, काठमाडौं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज (बुधबार) र भोलि (बिहीबार) मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थान, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘कोशी, वाग्मती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ’, उनले भने, ‘तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।’

महाशाखाले जारी गरेको ३ दिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । विभागका अनुसार हाल कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी प्रदेश र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम/क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाको अनुरोध छ ।

ताजा समाचार

सम्बन्धित समाचार