Thursday, October 3, 2024

चौंरीपालनका लागि बैकल्पिक खर्कको खाँचो

मनाङ– मनाङमा पुर्खौली पेशाको रूपमा रहेको चौंरीपालन पछिल्लो समय संकटमा पर्न थालेको छ। चौरी उच्च हिमाली भेगमा जडीबुटी चरेर बाच्ने भएपनि पछिल्लो समय हिमपहिरोका कारण चरन क्षेत्रको अभाव हुन थालेको छ। र, बैकल्पिक खर्चको खाँचो पर्न थालेको छ।

अचेल हिमालमा पनि तापक्रम बढ्न थालेपछि हिमपहिरो जाने क्रम बढ्न थालेको हो, जसको प्रत्यक्ष असर चौरीपालन व्यवसायमा पर्न थालेको छ। हिमाली क्षेत्रमा हिजोआज बेमौसमा हिमपात हुने, हिमपहिरोले खर्क पुरिने समस्याले चौरी पाल्न असहज भएको पालकहरू बताउँछन्।

निस्याङ ३ का याङदुङ गरूङ अचेल खर्कमा घाँस नै पाइन छाडेको बताउँछन्। ‘पहिले अचेल जस्तो सधंै हिमपात हँुदैनथ्यो, हिउँदमा मात्र हिमपात हुन्थ्यो,’ उनी भन्छन्, ‘खर्कमा प्रशस्त घाँस हुन्थ्यो। तर, हिउँपहिरोले सबै खर्क पुरिएका छन्। घाँस उम्रन छाडेको छ।’ हिमपातले कठ्याङ्ग्रिएर चौरी मर्ने गरेको चौरीपालक गुरुङले बताए।

८० बसन्तमा लागेका ओंगेल गुरूङ २० वर्ष अघिसम्म गर्मीयाममा समेत भागं्रा भोटोसँगै बाक्ला लुगा लगाउँथे। तर, अचेल ज्याकेटको भरमा पनि जाडो कट्ने गरेको उनी सुनाउँछन्।

उनी भन्छन्, ‘पहिले मनाङको धारापानी गाउँदेखि नै हिउँ पर्थ्याे, अहिले यो सर्दैसर्दैमाथि मनाङ पुगिसक्यो। हिमालका ग्लेयसियर हिउँले ढकमक्क हुन्थे।’

गरुङको भनाइमा पहिले हिउँका दानेदार रेखाले मनमोहक बनाउँथ्यो। अहिले बगरमा परीणत भएका ग्लेसियर उदाङ्ग देखिन्छन् । ‘चौरी खर्कभरी सेता हिउँका थुप्रा महिनौ दिनसम्म बिलाउँदैनथे। तर अहिले हिउँ पर्दा पर्दै बिलायर जान्छ,’ उनी भन्छन्।

पहिले एउटै परिवारका ३/४ सय चौरी हुन्थे। खर्क पूरै चौरीले भरिने गर्थे। ‘तर, अचेल चौरी खर्क बगर भएका छन्,’ उनी भन्छन्। गुरूङकै पनि पहिले २ सय चौरी थिए, अचेल ७० वटा मात्र छन्।

त्यतिखेर चौरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसार माथिका हिमाली काख हुँदै तिलीचो वेसक्याम्प र मुस्ताङ नजिकका खर्कमा पुर्याउँदा बर्खा सकिने गरेको अनुभवन उनीसँग छ। ‘पहिले हिउँद लागेपछि बेसी झर्थ्यौं,’ गुरुङले सुनाए।

६५ वर्षीय चौरीपालक तप्के गुरूङ पनि उहीले गर्मीयाममा पनि जाडो हुने गरेकोमा अचेल हिमालमा समेत हिउँ देख्न नपाइने गरिएको बताउँछन्। ‘यसरी दिनानुदिन वातावरणमा खलवल आउँदा चौरीपालन पेशा नै धरापमा परेको छ,’ उनी भन्छन्।

जीवनको आधा उमेर चौरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा उस्तै छ। नारको लेकमा रहेका चौरी खर्क पिच्छेका घटना र उनको जीवन कथाले जो कोहीको मनमा छुन्छ।

कांला लेकदेखि ४ हजार ६ सय मिटर उचाइँमा रहेको आइस लेक र फु को क्याङदेखि तिब्बतको सिमानासम्मका खर्कमा बस्दाको अनुभव रहेको उनले सुनाए।

उनको जीवनमा हिउँमा भासिएका चौरी निकाल्नेदेखि हिउँ चितुवाबाट घाइते चौरीको स्याहार सुसारको लामो अनुभव छ। उनी गोठमा बसेर चौरीको दूध, घ्यूबाट बन्ने चिज, छुर्पी जीविकोपार्जन गर्दै आएका छन्।

यहाँका बासिन्दा चौरीको ऊनबाट आफूले लागाउने कपडा– फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर गुजारा चलाउने गर्दछन्।

अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौरी राख्ने अनि जडिबुटी जम्मा गर्ने र हिउँदमा खर्क बेसीमा सर्दा जडिबुटी बोकेर झर्ने मनाङबासीको पुरानै चलन हो।

लेकमा रहँदा संकलन गरेको जडिबुटी लमजुङ, तनहुँ, पोखरा, काठमाडांै लगायतका ठाउँमा बेचेर वा चामलसँग साटेर गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका चौरीपालक खम्बा गुरुङको अनुभव छ।

हिजोआज बेमौसमा हिमपात हुने, हिमपहिरोले खर्क पुरिने समस्याले चौरी पाल्न असहज भएको उनी बताउँछन्। ‘चौरीखर्कमा जाँदाआउँदा वरिपरी घोरल, मृग, बँदेल, नाउरलगायतका जनावरलाइ हिउँचितुवले लखेटेको देख्न पाइन्थ्यो। तर, अचेल मृग, हिउँचितुवा देखिदैनन्,’ उनी भन्छन्।

विशेषगरी चौरी खर्क ४ हजार मिटरभन्दामाथि हुने हँुदा चौरीलाई उचित हावापानी मिल्ने अर्का चौरी पालक सुरेश थकालीले बताए। थकालीका अनुसार चौरीलाई हिमालकै काखमा राख्नुपर्छ भन्ने होइन तर, यसलाई निश्चित प्राकृतिक बासस्थानमा राख्नै पर्छ।

नाफ्का मिङमर लामाको अनुभवमा हिमालको काँखबाट बग्ने पानीका मुहान सक्न थालेका छन्, भने जडिबुटी पनि कम पाइन्छन्। ‘पहिले गोठाला हुलकाहुल चौरीका बथान लिएर हिँड्थें। तर, अचेल एक–दुई वाट गोठ मात्र देखिन्छन्, खर्कको अभावले कतियले चौरी पाल्न छाडिसके।’

वातावरण विद् डा. भोला विडुवाका अनुसार बेमौसमी हिमपात हुनु, बढी गर्मीका कारण हिउँ पग्लिएर हिउँपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हँुदै जानु, चौरीमा रोगको संक्रमण देखिनुले जलवायु पविर्तनरको प्रत्यक्ष असरको संकेत गर्दछ।

‘हिउँपहिरो, बेमौसमी हिमपात हुनु नै चौरीखर्कमा देखिएको असर हो। हिउँपहिरोको कारण खर्क पुरिनुको साथै घाँसपात कम उम्रनु पनि चौरीपालकाई ठूलो समस्या भएको छ,’ उनले भने।

अचेल मनाङका ¥याक खर्क, आईसलेक, नाम्केलेक, डाँफे लेक, क्याङ, भिमताङलगायतका खर्कमा चौरीपालन गरिँदै आएको छ।

जिल्ला सेवा कार्यालय मनाङका वरिष्ठ पशु विकास अधिकृत डा. सूर्यप्रसाद पौडेलका अनुसार हालसम्म याक÷चौरीजम्मा ३ हजार २ सय ७२ संख्यामा रहेका छन्।

यहाँ हाल सम्ममा १५ वटा चौरी फार्म घरेलु तथा साना उद्योग कार्यालय दर्ता भएका छन्। त्यस्तै दर्ता विनाका १५ वटाभन्दा बढी चौरी फार्म रहेका छन्। यसरी दिनानु दिन चौरीको संख्या घट्नुको कारण खर्कको अभाव पशु चिकित्सक डा. पौडेलले बताए।

उनका अनुसार चरनको अभाववाट चौरीमा कुपोषण, निमोनिय जस्ता रोग देखा परेका छन्। चौरीमा देखापरेका रोगहरुको रोकथाम र खर्कमा भएका समस्या समाधानका लागि घाँस रोप्ने काम भएको बताउँदै उनले भने, ‘चौरी पालनलाई कसरी सहज बनाउन सकिन्छ र चौरी खर्कको बैकल्पिक उपायको बारेमा अध्ययन भइरहेको छ।’ केही चौरीपालकले पशु बीमा गरेका छन्।

चौरीपालक सुरेश हालको २२ सय मिटर अग्लो स्थानमा चौरीगोठ राखेको बताए चौरीपालकले व्यवसायलाई निरन्तरता दिने हो भने बैकल्पिक खर्क निर्माण गरिनुपर्ने थकालीले बताए। थकालीका अनुसार गाउँका खाली पाटनमा चौरी खर्क बनाउन सकिन्छ। दानाको व्यवस्था गरेर घरमा नै गाईझै पाल्न सकिने उनको भनाइ छ।

सामुदायिक खर्कले ३७ हजार ७ सय ६० हेक्टर जमिन ओगटेको छ। पछिल्लो समय हिमपहिरोको कारण अधिकांश खर्क बगरमा परीणत भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार