Wednesday, October 2, 2024

वातावरणीय प्रभावलाई मध्येनजर गरेर मात्र विकासका परियोजना : मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी दिनहरूमा आउने वातावरणीय चुनौतीका विषयमा सबै सचेत हुनुपर्ने बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित ‘वातावरणसम्बन्धी सञ्चार बहस’ मा मुख्यमन्त्री शाहीले वातावरणीय प्रभावका बारेमा सबै जानकार हुनुपर्नेमा जोड दिएका हुन्। ‘भोलि आइपर्ने वातावरणीय चुनौतीका बारेमा अरु देशहरू सजग भएर ५० वर्ष पछिका लागि काम गरिरहेका छन्,’ विकासित देशहरुको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले भने, ‘पृथ्वीमा वातावरणीय नकारात्मक प्रभाव पनि पर्छ, यसको अध्ययन गर्दै अन्य देशहरुजस्तै हाम्रो मुलक र हामी पनि लाग्नुपर्छ।’

अहिले नेपामा अधिकांश मानिस आगामी दिनमा आइपर्ने वातावरणीय चुनौतीका बारेमा चिन्तित नभएको भन्दै उनले अब सबैले यसबारेमा सोच्नुपर्ने र सरकारले चुनौती समाधानका लागि सहयोग गर्नुपर्ने बताए। वातावरणीय प्रभावलाई मध्येनजर गर्दै कर्णाली प्रदेश सरकारले अब प्रत्येक विषयसँग सम्बन्धित विशेषज्ञ ल्याएर परियोजना बनाएर काम गर्ने मुख्यमन्त्री शाहीले बताए।

यस्तै, कर्णाली प्रदेशमा उच्च प्रविधिको नर्सरी स्थापना गरिने बताउँदै प्रत्येक घरले १० रुख अनिवार्य हुर्काउनुपर्ने नियम सरकारको नीतिभित्र रहेको जानकारी दिए। वातावरणीय समस्या समाधानको खोजी गर्नुपर्नेमा जोड् दिँदै उनले यससम्बन्धी शिक्षाको जरुरी रहेको बताए।

शिक्षा फेसन र प्रमाणपत्रका रुपमा हुन नहुने भन्दै मुख्यमन्त्री शाहीले आईपर्ने चुनौतीहरुलाई समाधान गर्न सक्ने खालको व्यावहारिक शिक्षाको आवश्यकता औँल्याए। प्राकृतिक स्रोत–साधनका हिसाबले कर्णाली प्रदेश धनी प्रदेशका रुपमा चिनिने उनले दावी गरे। प्रदेशमा भएका बहुमुल्य प्राकृतिक स्रोतसाधनको समुचित सदुपयोग गर्दै आर्थिक आम्दानीको बाटो बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा अगाडि नै त्यसबाट प्रने प्रभावका बारेमा अध्ययन गर्ने वातावरण प्रदेश सरकारले मिलाउने बताए।

मन्त्रालय वातावरण ऐन बनाउने क्रममा रहेको जानकारी दिँदै मन्त्री बुढाले ऐनमा प्रदेशभित्र हरेक विकास निर्माणका काम शुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्ने प्रावधान राखिने बताए। प्रदेशमा वातावरणसम्बन्धी छुट्टै निकाय स्थापना गरिने पनि मन्त्री बुढाले बताए।

यस्तै कर्णाली प्रदेश, प्राकृतिक स्रोतसाधन समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य अमरबहादुर थापाले वातावरणीय प्रभावलाई व्यवस्थित गर्ने कार्यमा समिति सरकारसंग छलफल गरेर अघि बढ्ने बताएका छन्। वातावरणीय प्रभावबाट आइलाग्ने समस्याका बारेमा सामान्य नागरिकमा समेत सचेतना हुनुपर्नेमा जोड् दिँदै सांसद थापाले सम्बन्धित विषयका विज्ञहरुबाट तल्लो तहसम्म जानकारी फैलाइनुपर्ने औँल्याए।

प्राकृतिक स्रोतसाध समितिका सदस्य तथा प्रदेशसभा सदस्य सोशिला शाहीले वातवरणीय प्रभावका कारण आउने समस्याको समाधानका लागि सजग बनाउने खालको नीति निर्माणका लागि आवाज उठाउने बताइन्।

सिम्ता गाउँपालिकाका अध्यक्ष एव्म गाउँपालिका महासंघ कर्णाली प्रदेशका संयोजक कविन्द्र कुमार केसीले ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने नीति आफूहरुले बनाएको जानकारी दिए। वातावरणीय प्रभावका कारण आउने समस्याहरुका बारेमा सबैमा ज्ञान हुनुपर्ने भन्दै अध्यक्ष केसीले जनप्रतिनिधिहरुले समेत त्यससम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालनमा जोड् दिनुपर्ने औँल्याए।

चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले विकासका कामहरु विनास नहुनेगरि सम्पन्न गर्नुपर्नेमा जोड् दिँदै योजनावद्ध ढंगले वातावरणीय असरलाई अध्ययन गरेर मात्र काम शुरु गर्नुपर्ने बताइन्।

वन उभोक्ता महासंघ सुर्खेतका अध्यक्ष चन्द्र थानीले विकास निर्माणका कामहरुमा लापरवाही गरिनु र त्यसको अनुगमन नगरिनुले वातावरणीय समस्या आईलाग्ने गरेको बताए। वातावरणीय असरबाट जोगाउन सरकारको नीति कार्यान्वयनका लागि सम्बन्धित निकाय लाग्नुपर्नेमा उनले जोड् दिए।

कार्यक्रममा ‘मिडियामा वातावरणीय मुद्दा’ का विषयमा प्रस्तुति राख्दै वातावरण पत्रकार समूहका सदस्य सविन शर्माले वातावरणीय प्रभावले आउने प्राकृतिक प्रकोपका बारेमा सञ्चारमाध्यमले सचेत गराउनुपर्नेमा जोड दिए। सञ्चारमाध्यमले वातावरणसम्बन्धी विषय उठाएर समाचार लेख्नुपर्ने भन्दै उनले वातावरणीय प्रभावबाट हुन सक्ने सम्भावित क्षतिका बारेमा अगाडि नै जानकारी गराउन सक्नुपर्ने बताए। प्रदेश, स्थानीय सरकार तथा सञ्चारमाध्यमहरुले वातावरणीय प्रभावको बारेमा नियमित अनुगमन गर्नुपर्ने सदस्य शर्माले सुझाव दिए।

प्रस्तुतिका क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक विनयकुमार मिश्रले समाजमा हुने विकासका कामहरुको दिगोपनामा ख्याल गर्न सके वातावरणीय रुपमा नकारात्मक प्रभाव नपर्ने बताए। पछिल्लो समय बढ्दो शहरीकरण र शहरी जीवनको सिको गर्ने प्रचलनका कारण नकारात्मक खालका वातावरणीय प्रभाव पर्न थालेकोले यसमा नागरिकहरु सचेत हुनुपर्नेमा उनले जोड् दिए ।

वातावरणीय प्रभावबाट हुने नकारात्मक असर कम गर्न हाल बनेका संरचनाहरुलाई परिमार्जन गर्नुपर्ने औँल्याउँदै उनले वातावरणीय खतरा र अनुकुलनलाई ध्यानमा राखी काम गर्नुपर्ने सुझाव दिए। वातावरणीय प्रभावसम्बन्धी जनचेतनामुलक कार्यक्रम, सूचना प्रसारणलगायतका कार्य गरेर असर कम गर्न सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने उनको भनाई थियो।

कार्यक्रम वातावरण पत्रकार समूहका काेषाध्यक्ष सोमनाथ लामिछानेको अध्यक्षतामा भएकाे हाे।

ताजा समाचार

सम्बन्धित समाचार