Tuesday, October 1, 2024

नगदेबाली बन्दै मकै

नेपालगञ्ज–उब्जाएर चाँडै नै नगदमा परीणत गर्न सकिने भएपछि पछिल्लो समय बाँकेमा मकै पनि नगदेबाली बन्दै गएको छ। मकै अन्नबालीमा पर्ने भएपनि खेतबारीबाटै बिक्री गरेर नगद आर्जन गर्न थालिएपछि मकैको परिचय नै फेरिन थालेको हो।

बाँके हिरमुनियामा मकैबारी। किसान मकै सुकाउन घोगाभन्दा माथिल्लो भाग काट्ने गर्छन।

पछिल्लो समय बाँकेको हिरमुनिया गाउँका किसानहरूले वर्षमा दुई पटक मकै उत्पादन गर्ने गरेका छन्। विशेषगरी, हिउद र बर्खायाममा मकै लगाइने गरिएको छ।

कुनै बेला मकै पिंधेर रोटी, ढिँडो खाने गरिएकोमा पछिल्लो समय हरियो मकै नै बिक्री हुने गरेको छ। मकैका विभिन्न परिकार बन्न थालेका छन्।

व्यापारीहरू हिरमुनियाका किसानले उत्पादन गरेको मकै किन्न बारीमै पुग्छन्। हरियो मकै प्रतिघोगा ५ देखि १५ रुपैयाँका दरले बिक्री हुने गरेकोे हिरमुनियका किसान जयपाल मौर्यले बताए। उनका अनुसार व्यापारीहरू खेतबारीमै पुगेर भाच्नका लागि तयार रहेको मकै प्रति कठ्ठा १२–१३ हजारमा किन्न थालेका छन्।

हिरमुनियाको मकै नेपालगञ्ज, कोहलपुर, बर्दिया, दाङ र सुर्खेत सम्मका बजारमा जाने गरेको किसानहरूले बताएका छन्।  अन्य बालीको तुलनामा कम लागत र मेहनतमै मकै बालीबाट धेरै आम्दानी हुन थालेपछि बाँकेमा मकैखेती फस्टाउदै गएको अगुवा किसान इब्राहिम खाँ बताउँछन्।

किसानहरूका अनुसार मकैमा तरकारी खेतीमा जस्तै जोखिम रहँदैन। ‘तरकारी बिकेन भने सडेर खेर जान्छ। तर, मकैको हरियो घोगा बिकेन भने सुकाएर दाना बनाएर बिक्री गर्न सकिन्छ। हरियो मकै जस्तै दाना मकैको पनि माग धेरै छ । हामीले पुराउनै सकेका छैनौं,’ उनी भन्छन्।  खाँका अनुसार मकै रोपेपछि एक पटक झार गोडेर सिंचाइ गरिदिए मकै तयार हुन्छ। मकै प्रतिकठ्ठा ३ देखिसाढे ४ क्वीन्टलसम्म उत्पादन हुने गरेको उनले बताए।

आर्थिक वर्ष २०७२-०७३ मा बाँकेको हिरमुनियामा ३ सय ५० हेक्टरमा मकै खेती भएकोमा पछिल्लो समय खेती विस्तारको क्रम बढेको छ। २०७-०७४ मा ४ सय ३० हेक्ब्टरमा मकैखेती भएकोमा २०७४-०७५ मा ६ सय २१ हेक्टरमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्राले बताए।

बाँकेको हिरमुनियामा पसाएकाे मकैखेती। याे फाेटाे गत असारकाे हाे।

परियोजनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा र डुडुवा गाउँपालिकाका ३ वटा वडामा काम गरिरहेको छ। किसानलाई मकैखेतीमा आकर्षित गर्न कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता संस्था तथा कृषक उद्यमीसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

मकै खेतीका लागि माटो परीक्षण, बीऊबिजनको गुणस्तर, बाली संरक्षण, मकैखेती गर्ने उन्नत प्रविधि र मकैखेतीमा प्रयोग हुने यन्त्र, औजार तथा उपकरणका बारेमा किसानलाई छलफल, तालिम, भ्रमणका माध्यमबाट जानकारी गराइँदै आएको मिश्राले बताए।

नेपालमा रामपुर कम्पोजिट, अरुण २, मनकामना ३, देउती, पोषिलो, अरुण ४ जस्ता उन्नत जातमा मकैखेती हुँदै आएको छ। पछिल्ला वर्षमा बाँकेका किसानले नेपालमा सूचीकृत भएको राजकुमार जातको हाइब्रिड मकै लगाउदै आएको बकौली कृषक समूह, हिरमुनियाका अध्यक्ष विनोद बर्माले बताए।

अध्यक्ष बर्मा भन्छन्, ‘१५ वर्षदेखि मकैखेती गर्दै आएको भए पनि पहिला उन्नत विधि तथा प्रविधिका बारेमा थाहा थिएन। भारतीय बजारबाट पाइनियर जातको हाइब्रिड बीऊ लगाउथ्यौ । अहिले हाइब्रिड मकैको बीऊ लगाउन थालेका छौं।’
उनका अनुसार उक्त जातको मकै प्रतिहेक्टरमा साढे तीनदेखि चार क्वीन्टल उत्पादन हुने गरेको छ।

किसान रतीराम कुम्हारका अनुसार मकै जोन परियोजनाले किसानलाई अनुदानमा मोटर, बोरिङ्ग, पम्पिङ्गसेट र डेलिभरी पाइप ट्रयाक्टर, कल्विेटर, ट्राली, थ्रेसर, त्रिपाल, तौल गर्ने मेसिन र मिनी टेलर जस्ता कृषि उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको छ। किसानले उत्पादन गरेको मकैलाई भण्डारण गर्न मकै जोन परियोजनाको सहयोगमा हिरमुनियामा मकै भण्डार गृह निर्माण भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका ३५ वटा कृषक समूहका १ हजार ५ सय किसानले ६ सय २१ हेक्टरमा मकैखेती गर्दै आएका छन्। डुडुवा गाउँपालिका ६ का वडाध्यक्ष मोहनराम मिश्राका अनुसार पहिला हिरमुनिया गाउमा ब्यक्तिगत प्रयोजनका लागि मकै खेती हुँदै आएको थियो। मकै जोन लागू भएदेखि व्यवसायिक रुपमा मकैखेती हुन थालेको छ ।

मकैमा सिंचाइ गर्दै कम्दीका किसान इब्राहिम खाँ। याे फाेटाे गत जेठकाे हाे।

ताजा समाचार

सम्बन्धित समाचार