Tuesday, October 1, 2024

धरहरा पुनर्निर्माणमा फेरि अन्यौलता

काठमाडौं–धरहरा पुनर्निर्माणका लागि ३० वैशाख २०७५ मा आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौं पटक स्थगित भएको छ।

१२ वैशाख २०७२ को भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माण कसले गर्ने भन्नेमै तीन वर्ष बितेकोमा पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं पुनर्निर्माण थाल्ने गरी बोलपत्र आह्वान गरेको थियो।

तर, प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये एक कम्पनीको कागजात शंकास्पद भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि आर्थिक प्रस्ताव खोल्ने मिति पटकपटक स्थगित हुँदै आएको छ।

प्राधिकरणले पछिल्लो पटक मंगलबार प्रस्ताव खुला गर्ने भनेपनि फेरि स्थगित गरेर आगामी शुक्रबारका लागि मिति तय गरेको छ। ‘उजुरीका सम्बन्धमा छानबिन गरेर सोमबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश भएको छ,’ प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख, सहसचिव राजुमान मानन्धरले भने,‘अब स्थगित हुँदैन होला।’

पढ्नुहोस्  : यस्तो बन्दैछ २२ तले धरहरा

प्राधिकरणले करीब ४ अर्ब लागत कयम गरी धरहरा पुनर्निर्माणका लागि बोलपत्र आह्वान गर्दा ६ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये जेइक/लामा जेभी, सिआर ५ सिइसी/स्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी, जिआइइटीसी/रमन जेभी, सिआइसिओ/कालिका/रसुवा जेभीको आर्थिक प्रस्ताव पास भएको थियो। सहसचिव मानन्धरका अनुसार जेसीजिआईसिसी/आशीष जेभीको प्राविधिक प्रस्ताव फेल भएको थियो।

अब आर्थिक प्रस्ताव पास भएकामध्येबाट एउटा कम्पनीको बोलपत्र स्वीकृत गरी धरहरा पुर्निर्माणको काम अगाडि बढाउने तयारी रहेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी रहेकाले आर्थिक प्रस्ताव नै खोल्न पाइएको छैन। प्राधिकरणले यसअघि असारभित्र धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गरेको थियो।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४ फागुन २०७२ मा ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रम घोषणा गरेकोमा पुनर्निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिइएको थियो।

तर, नेपाल टेलिकमले हात झिकेपछि अहिले प्राधिकरण आफैं पुनर्निर्माणका लागि कस्सिएको हो। बाहिर ९ तला देखिने गरी २२ तलाको धरहरा बनाउने प्राधिकरणको तयारी छ।

२०७२ वैशाख १२ गतेको भूकम्प अघि धरहरा ९ तलाको थियो। १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो। तर, भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको भूकम्प २०७२ को भूकम्पमा पूरै ढलेको थियो। धरहरा विक्रम सम्वत १८८२ मा भीमसेन थापाले बनाएका थिए।

पढ्नुहोस्  : धरहरा पुनर्निर्माणका लागि ६ कम्पनीको आवेदन

 

ताजा समाचार

सम्बन्धित समाचार