Monday, September 30, 2024

कर्णाली प्रदेशको राजधानीको फोहोर जंगलमा

सुर्खेत–वीरेन्द्रनगर प्रवेश गर्ने क्रममा बाटोमा भेरी सामुदायिक वन पर्छ, जहाँ फोहोरको डंगुर छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको फोहोर जंगलमै फ्याक्दा वातावरण दुर्गन्धित बनेको छ।

धुलियाविट नजिकै रहेको भेरी सामुदायिक वनमा वर्षौदेखि सिंगो वीरेन्द्रनगरको फोहोर फालिन्थ्यो। गत वर्षबाट वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर १ को तारेभिरमा ल्यान्डफिल साइट सञ्चालनमा आयो। ल्यान्डफिल साइट सञ्चालनमा आएपछि वीरेन्द्रनगर नगरपालिकाले २०७४ असोजबाट उक्त सामुदायिक वनमा फोहोर फाल्न छाडेको छ। तर, वनमा फोहोरको डंगुर लाग्न छाडेको छैन।

सामुदायिक वनमा फोहोरको डंगुर लाग्न नछाडेको विषयमा वीरेन्द्रनगर नगरपालिकाका सरसफाइ सहायक टंक आचार्यको प्रतिक्रिया छ, ‘त्यहाँ फोहोर कसले फाल्छ, भन्ने पत्ता लाग्न सकेको छैन।’ अाचार्य रातिको समयमा फोहोर फाल्ने गरिएकाे बताउँदै भन्छन्, ‘त्यहाँ रातिको समयमा म्याद सकिएका वस्तुहरु फालिने गरेको छ, जसले गर्दा त्यहाको वातावरण नै दुर्गन्धित बनिरहेको छ।’

स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा अघि नगरपालिकाले नै सबै वडाको फोहोर उठाउने गरेको थियो। तर, अहिले वडा कार्यालयबाट नै आ–आफ्नो वडाको फोहोर उठाउने गरिएको छ। ‘अहिले वडा कार्यालयले आफैं रकम विनियोजन गरेर फोहोर व्यवस्थापन गर्ने गरेका छन्,’ आचार्यले भने, ‘वडा कार्यालयले फोहोर उठाए वापत कर शुल्क उठाउने गरेको छ।’

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको काम गरिरहेको ‘द ग्रिन सिटि सेनिटेसन’ सँगको सम्झौता २०७५ असारमा सकिएपछि वडा नम्बर ६ ले २ महिना थप गरेको छ।

वडाको फोहोर संकलनका लागि नयाँ ठेक्का खुलाइएको वडा अध्यक्ष मोति कँडेललले जानकारी दिए । कँडेलका अनुसार ठेक्का सम्झौता भएको संस्थाले नै असोज १ बाट वडा नम्बर ६ मा फोहोर संकलनको काम सुरु गर्नेछ। वीरेन्द्रनगर नगरपालिकाका १६ वडा मध्य वडा नम्बर ६ मा अत्याधिक फोहोर संकलन हुने गरेको छ।

ल्यान्डफिल साइटसम्म फोहोर पुर्‍याउन सकस
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि एक वर्षदेखि प्रयोग गर्दै आएको तारेभीरको ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउन सकस भएको छ।

वर्षाको भेलले तारेभिरसम्म पुग्ने कच्ची सडक बिगारेपछि ल्यान्डफिल साइटसम्म नगरको फोहोर पु¥याउन ठप्प भएको हो।
नगरपालिकामा दिनहुँ जसो संकलन हुने फोहोर व्यवस्थापन हुन नसक्दा नगरपालिकालाई झनै समस्या भएको हो।

सामान्य वर्षातमा पनि तारेभिर सम्म पुग्ने सडकमा पहिरो जाने भएकाले पानी पर्दा नगरको फोहोर व्यवस्थापनमा चुनौती छ। तारेभिर सम्म पुग्ने अधिकांश सडक कच्ची छ।

नगरपालिकाले तारेभीरमा अस्थायी ल्यान्डफिल्ल साइट सञ्चालनमा ल्याए पनि सडक अव्यवस्थित नहुँदा समस्या भएको हो।
वीरेन्द्रनगरको फोहोर व्यवस्थापनको जिम्मा पाएको ‘द ग्रिनसिटी’ का व्यवस्थापक शशी केसीले वर्षा लागेदेखि फोहोर संकलनमै समस्या पर्ने गरेको बताए।

मुसलधारे पानी परेका बेला पनि फोहोर उठाउने गरेको तर, ल्यान्डफिल्ल साइटसम्म फोहोर पु¥याउनै नसकिएको केसीको भनाइ छ। नगरपालिकाले तारेभीरमा अस्थायी ल्यान्डफिल साइट सञ्चालनमा ल्याए पनि सडक व्यवस्थित गर्न नसक्दा दुई पटक गाडी पल्टिसकेको दुखेसो पोखे।  अहिले वीरेन्द्रनगरको शहरी क्षेत्रमा दैनिक रुपमा करबि पाँच टन फोहोर उत्पादन हुँदै आएको छ।

विकल्प सामुदायिक वन नै ?
वर्षातका कारण ल्यान्डफिल साइटसम्म फोहोर पुर्‍याउन सकस भए पछि नगरपालिकाले फोहोर फाल्नका लागि विकल्पका रुपमा भेरी सामुदायिक वनलाई प्रयोग गर्ने तयारी गरेको छ।

तारेभीरमा ल्यान्डफिल साइट नबन्दासम्म नगरपालिकाले फोहोर फाल्दै आएको भेरी सामुदायिक वनमा वर्षातको समयसम्म वीरेन्द्रनगरको फोहोर फाल्नका लागि वनसँग आवश्यक सम्झौता भएको सरसफाई सहायक आचार्यले जानकारी दिए।

रातिको समयमा लुकिछिपी फालिने फोहोरले दुर्गन्धित बनेको भेरी सामुदायिक वनमा फेरी सिंगो वीरेन्द्रनगरको फोहोर थप्न लागिएको हो। सामुदायिक वनमा जथाभावि फोहोर फाल्दा जंगल वरिपरीको सम्पूर्ण क्षेत्र नै फोहोर र दुर्गन्धित हुँदा बसमा यात्रा गर्दा समेत नाक बुझ्नुपर्ने अवस्था रहेको छ।

स्थायी ल्यान्डफिल साइट कहिले ?
नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि निकै चासो देखाएका थिए। तर, बजेट अभाव र स्थान अभावले गर्दा अलमलमा परेका जनप्रतिनिधिले अहिले भने तारे भीरलाई नै वैज्ञानीक ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्ने तयारी गरेका छन्।

एकातिर ल्यान्डफिल साइट बनिसकेको छ अर्कोतिर वैज्ञानिक ल्यान्डफिल साइट बनाउने तयारी गरिएको छ । तर, पनि फोहोर फाल्न सामुदायिक वन नै प्रयोग गर्नुले वीरेन्द्रनगर नगरपालिकाको अलमल देखिएको छ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थायी ल्यान्डफिल साइटको खोजी गर्न लागेको छ।

वषौदेखि फोहोर व्यवस्थापनको चुनौतीको सामना गरिरहेको वीरेन्द्रनगर नगरपालिकालाई प्रदेश राजधानी घोषणा भएसँगै वीरेन्द्रंनगरमा बसाइँ सरेर आउने मानिसको चाप बढ्दै गएकाले नगरपालिकालाई फोहोर व्यवस्थापनमा झनै चुनौती थपिएको हो ।

यद्यपी, तारेभीरमा बनाउने भनिएको स्थायी ल्यान्डफिल साइटको खाका भने तयार भइनसकेको नगरपालिकाका सरसफाइ सहायक आचार्यको भनाइ छ। ‘स्थायी ल्यान्डफिल साइट निर्माणका लागि हामि प्रक्रियामा छौँ, केहि समयभित्रै जग्गा भोगाधिकारको प्रक्रिया मिल्छ,’ उनले भने।

नगरपालिकाको महत्वको योजनाका रूपमा हाल प्रयोगमा रहेको तारेभीरलाई नै वैज्ञानिक ल्यान्डफिल साइट निर्माणका लागि वार्षिक रुपमा बजेट विनियोजन गर्ने गरी यस आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिसकेको आचार्यले जानकारी दिए ।

वातावरणीय प्रभाव मूल्यांकन गरेर नगरपालिकाले वैज्ञानिक ल्यान्डफिल साइटलाई बहुवर्षीय योजनाका रुपमा सञ्चालन गर्न लागेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार