Monday, September 30, 2024

अब पानी दूषित गरे तीन वर्ष र वातावरण प्रदूषण गरे पाँच वर्षसम्म कैद

काठमाडौँ–पिउने पानी वा पिउने पानीको मुहान दूषित पारेमा तीन वर्ष दण्डजरिवाना हुने भएको छ।  भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन–२०७४ मा उक्त व्यवस्था छ।

ऐनको दफा १११ मा ‘पानी दूषित पार्न नहुने’ सम्बन्धी व्यवस्था छ। उपदफा १ मा भनिएको छ, ‘कसैले सर्वसाधारणले पिउने पानी वा पिउने पानीको मुहानलाई पिउन नहुने गरी दूषित गर्न वा पिउने बाहेक अन्य कुनै काममा प्रयोग हुने पानीलाई त्यस्तो काममा प्रयोग गर्न नहुने गरी दूषित पार्न नहुने’।

उपदफा १ बमोजिम कसूर गर्ने वा गराउनेलाई पिउने पानी वा पानीको मुहान दूषित गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दूषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय व्यवस्था तोकिएको छ ।

त्यस्तै, ऐनको दफा ११२ मा ‘वातावरण प्रदूषित गर्न नहुने’ सम्बन्धी व्यवस्था छ। उपदफा १ अनुसार कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पुर्याउने गरी फोहोरमैला उत्पादन, प्रशारण वा निष्काशन गर्न वा थुपारेमा दण्डजरिवाना हुनेछ।

यदी कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पुर्याएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

उपदफा २ मा कसैले सर्वसाधारणको स्वास्थ्यमा हानि पुर्याउने गरी जीउ ज्यानको लागि खतरा हुन सक्ने गरी प्रदूषण गर्न वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गर्न वा थुपान नहुने व्यवस्था छ।

सोही व्यवस्थाको उल्लंघन गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार