Monday, September 30, 2024

सार्वजनिक यातायातमा जहिल्यै सास्ती, यस्तो छ ७ यात्रुको अनुभव

काठमाडौं– तपाईँ-हामीमध्ये प्रायः कार्यालय, स्कूल, कलेज अनि घर आउन-जान दैनिकरुपमा सार्वजनिक यातायातको प्रयोग गर्छौं। तर, दैनिक रुपमा प्रयोग गरिने सार्वजनिक यातायातमा यात्रुले निर्धक्क रुपमा यात्रा गर्छन् त ?

देशकै राजधानी काठमाडौंमा गुड्ने सार्वजनिक यातायातमा सर्वसाधरणले कयौं समस्या झेलिरहेका हुन्छन् । विशेषगरी, बालबालिका, महिला र वृद्धवृद्धालाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्न झनै समस्या देखिने गरेको छ। दुर्घटनाको भय मात्र होइन दुव्र्यवहार पनि खेप्नुपरेको घटना पटकपटक सार्वजनिक हुने गरेका छन् ।

एक्सन एड र प्रेरेणाले सन् २०१४ मा गरेको एक अध्ययन अनुसार ९५ प्रतिशतभन्दा बढी महिलाले सार्वजनिक स्थानमा यौन दुव्र्यवहार व्यहोर्नुपरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा कम गर्न ‘सेफ्टी पिन अभियान’ सञ्चालन समेत गरेको थियो ।

प्रहरीका अनुसार अभियानका क्रममा काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा ८८ प्रतिशतले महिलामाथि यौन दुव्र्यवहार गरेको पाइएको थियो ।

सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरूले कस्ता खालका समस्या भोगेका छन् ? यात्राका क्रममा आफूलाई कतिको सुरक्षित महसुस गर्छन् ?

हाकाहाकीले केही यात्रुहरूसँग गरेको कुराकानी जस्ताको त्यस्तै :

 उमेरले पाका र शिक्षित व्यक्तिबाट दुव्र्यवहार हुन्छ : प्रतिका, स्मारिका केसी, राधिका भण्डारी (विद्यार्थी)
हामीहरू कलेज र स्कुल जाँदा सार्वजनिक सवारीसाधनको प्रयोग गर्छाैं ।

माइक्रो होस् या बस कोचाकोच हुन्छ। त्यसमै यात्रा गर्नुपर्छ। त्यसमाथि कतिपय पुरूष यात्रुहरूबाट दुव्र्यवहार हुने गर्छ। घरबाट कलेज आउँदा जाँदा यस्ता धेरै दुव्र्यवहार व्यहोरेका छौं ।

उमेरले पाका र शिक्षित व्यक्तिहरूले हामीजस्ता स–सानालाई देख्नै नहुने जस्तो । कोहीकोही त संवेदनशील अंगमा छुने गर्छन। यात्रुहरूको चाप भएको बसमा झन गाह्रो हुन्छ। बसको सिटमा बस्दा दुव्र्यवहार भएको महसुस गरेको छैन । बसको सिट बाहेक यसरी कोचाकोच गरेर यात्रु राख्ने सार्वजनिक यातायातलाई सरकारले अनुगमन गरेर कारबाही गनुपर्छ जस्तो लाग्छ ।

सुरक्षित यात्रा चाहान्छौं : चिनीमाया बमजन
बच्चासँग यात्रा गर्नु झन कठीन हुन्छ । गाडीका सहचालक बच्चालाई बस चढाउन र ओराल्न दिक्क मान्छन्। सिट भएपनि छैन भन्छन् । गाडीमा बसेपनि सिट पाइदैन ।

बसमा निकै भीडभाड हुन्छ, त्यसैमा आमाछोरी उभिएरै जानुपर्छ। चालकले झाप्प– झाप्प ब्रेक लगाउने गर्छन। कतिबेला के हुने हो डर लाग्छ । गाडीमै दुव्र्यवहार हुने डर पनि त्यत्तिकै हुन्छ। सार्वजनिक यातायात यात्रुका लागि खासै सुरक्षित त छैन । तर, गन्तव्यमा पुग्न प्रयोग गर्नैपर्ने बाध्यता छ।

हामी सुरक्षित यात्रा चाहान्छांै । त्यसका लागि बसको सिट अनुसार मात्र यात्रु बसाल्नुपर्छ। त्यसो गरेमा उपत्यकाको यात्रा केही हदसम्म सुरक्षित हुन्छ होला।

जहिले कोचाकोच गाडी : शान्ति प्रधान
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा समस्या नै हुन्छ । सिट पाएमा त सुरक्षित रूपमा गन्तव्यमा पुगिन्छ । सिट पाएन भने त झन ठेलाठेल गर्दै गन्तव्य जानुपर्छ। गर्मी महिनामा अझ समस्या हुन्छ । धुलोधुँवा खादै गाडी कुर्नुपर्छ।

गाडीमा जहिले कोचाकोच यात्रु हुन्छन्। बसको सिट सफा, धुँवा नफाल्ने गाडी र सिट अनुसारको यात्रु राख्ने गरी सरकारले नियम बनाउनु पर्छ। जसले गर्दा सबै नागरिकले जुन गाडीको प्रयोग गर्दापनि सुरक्षित महसुस गरून ।

भाडामा किचकिच हुन्छ : नच्छे बहादुर महर्जन
उपत्यकामा चल्ले सार्वजनिक यातायात जहिले हतारमा हुन्छन्। यात्रुलाई गाडीमा चढाउँदा पनि हतारमा र ओर्लदा पनि त्यस्तै । कतै लडेर दुर्घटना हुन्छ की भन्ने डर लाग्छ । प्रत्येक सार्वजनिक यातायातमा भाडादर राखिएको हुन्छ तर, तोकिएको भन्दा बढी लिन्छन्।

बढी किन लिएको भनेपछि विवाद गर्छन। कस्तो एक÷दुई रूपैयाँमा पनि किचकिच गरेकोभन्दै उल्टै गाली गर्छन्। गाडीको क्षमताभन्दा बढी यात्रु राख्ने, मनपरी भाडा उठाउने सवारीसाधनका चालक तथा सहचालकलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

सिट फोहोर हुन्छन् : विमला कार्की
प्रायः सार्वजनिक सवारीसाधनका सिट सफा हुँदैनन् । मैलो सिटमा बस्नै मन नलाग्ने । त्यसमाथि धुँवा र धुलो उडाउँदै बस कुदाउँछन्। सडक पेटीमा हिँड्ने सर्वसाधरणलाई पनि सास्ती भइरहेको हुन्छ। सफा, सुन्दर अनि दुव्र्यवहारमुक्त सार्वजनिक यातायातको कल्पना गरिरहेका छौं। तर, त्यो आजसम्म सम्भव भएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार