Thursday, October 16, 2025

उपत्यकामा दुर्लभ काँसे घाँसेचरीको अभिलेख

१ भदौ, काठमाडौँ।

विश्वमै दुर्लभ मानिएको पक्षी काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) काठमाडौँ उपत्यकामा पहिलोपटक अभिलेख भएको छ ।

भक्तपुरको मनोहरा खोला तटमा यो पक्षी भेटिएको हो । सो पक्षी मनोहरा खोलाको तटमा लगातार ४ दिनसम्म देखिएको हो । गत २८ साउनदेखि ३१ साउनसम्म पोथी काँसे घाँसेचरी नियमित भेटिएको हो ।

वन्यजन्तु फोटोग्राफरहरू प्रताप गुरूङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले वयस्क हुँदै गरेको यो चराको तस्बिर कैद गरेका छन् । पक्षीविद्हरूका अनुसार यो चरा गृष्मकालीन आगन्तुक हो । पूर्वको कोशी टप्पुदेखि पश्चिमको शुक्लाफाँटा तराईको भू–भागको २ सय ५० मिटर उचाइसम्म अभिलेख भएको यो चरा पहिलोपटक काठमाडौँ उपत्यकामा पाइएको नेपाल पक्षीविद् संघले जनाएको छ ।

संघका अनुसार थोरै संख्यामा यो पक्षीका रैथाने प्रजाति नेपालमा छन् । आधिकारिक संख्या भने यकिन छैन । अहिले उपत्यकामा देखिएको काँसे घाँसेचरी चैत दोस्रो सातातिर नेपाल आउने गर्छ । चैत अन्तिम सातादेखि आवाज निकाल्दै विचरणमा निस्किन्छ ।

त्यसपछि प्रजननका लागि जोडी खोजेर ओथारो बस्ने स्वभावको हुन्छ । बच्चा हुर्काएर विचरणका लागि अभ्यस्त गराउने काँसे घाँसेचरी असोजपछि बच्चासँगै आफ्नो थातथलो फर्किने गर्छ । विश्वव्यापी रूपमा संवेदनशील सूचीमा सूचीकृत यो प्रजाति प्रायः भारत उपमहाद्वीपका अग्ला घाँसे मैदान र काँसघारीमा पाइन्छ ।

नेपाल, भारत, भुटान, बंगलादेशमा नियमित पाइन्छ । बासस्थान नष्ट हुँदै गएकाले यसको संख्या तीव्र गतिमा घटिरहेको छ । गृष्म आगन्तुक चरा गणना गर्ने क्रममा कोशी टप्पुमा ४ सय ५८ वटासम्म काँसे घाँसेचरी गणना भएको छ ।

काँसे घाँसेचरी झट्ट हेर्दा भँगेराझैँ देखिन्छ । घाँसे मैदान र काँसघारीमा बस्न मन पराउने र प्रायः लुकेर बस्ने स्वभावको भएकाले यसको तस्बिर/भिडियो खिच्न निकै गाह्रो हुने पक्षीविद्हरू बताउँछन् ।

यो चरा नेपालमा पहिलोपटक सन् १९८६ मा चितवनको राप्ती नदी किनारमा अभिलेख भएको थियो । त्यो बेला आर यल फ्लेमिंग जुनियरले यो पक्षीको आधिकारिक अभिलेख गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार