Sunday, September 29, 2024

दीगो व्यवस्थापन नहुँदाको सकस : सडकमै मिल्काइन्छ फोहोर

काठमाडौं– ‘सडकमा फोहोर फाल्नु हुँदैन्। फोहोर फ्याँकेमा कारबाही हुन्छ।’ यो विषयमा ललितपुर कुमारी पाटीकी सुनिता थापा जानकार छिन्। तर, उनी अचेल रातिको समयमा सडकमै फोहोर मिल्काउन पुग्छिन्। यसरी रातिको समयमा सडकको चोकमा फोहोर फ्याँक्नु रहर नभएर बाध्यता रहेको उनी बताउँछिन्।

ललितपुरकाे बसपार्कमा थुप्रिएकाे फाेहाेर।

कारण हो– असार पहिलो सातादेखि काठमाडौं उपत्यकामा नियमति रुपमा फोहार उठ्न सकेको छैन। फोहोर संकलनका लागि गाडी आउनै छाडेपछि यसरी सडकमा फोहोर मिल्काउने सुनिता एक्ली होइनन्। अचेल काठमाडौंका सडकको चोकचोकमा फोहोरको थु्रपो देखिन्छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडो ‘ल्याण्डफिल साइट’ जाने बाटो बर्खायाममा बेलाबेलामा अवरुद्ध भइदिन्छ। र, हिलाम्य सडकका कारण नियमित रुपमा फोहोर उठ्न सकेको छैन। जसका कारण काठमाडौंका चोकमा अचेल फोहोरको थुप्रो देखिन्छ।

ललितपुर बङ्लामुखीकी सानुमाया महर्जनयसरी सडकमा फोहोर फाल्न नहुने नभएपनि विकल्प नरहेको बताउँछिन्। ‘पहिले फोहोर संकलन गर्ने गाडी टोलटोलमा आउथ्यो, अचेल आउनै छोड्यो,’ उनले भनिन्, ‘मुख्य सडकका चोकमा थुपारिएको फोहोर कहिलेकाँही उठ्ने गरेको छ। त्यसैले त्यही लगेर फ्याँक्ने गरेकी छु।’

ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जन बर्खामा नियमति फोहोर उठाउन नसकिने भएकाले अचेल टोलटोलमा गाडी जान नसकेको बताउँछन्। ‘मुख्य चोकमा नै फोहोरको थुप्रो हुन्छ, त्यहि फोहोर उठाउन पनि समस्या भइरहेको छ,’ उनले भने, ‘टोलमा गाडी नपुग्दा स्थानीय पनि सडकको चोकमै फोहोर थुपार्दै आएका छन्।’

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य पनि अहिले बर्खायाम चलिरहेकोले फोहोर व्यवस्थापनमा केहि कठिनाइ भइरहेको बताउँछन्। ‘शहर दुर्गन्धित नहोस् भनेर सकेसम्म फोहोर उठाइरहेका छौं,’ उनले भने, ‘पहिले दिनमा ४ देखि ५ टीप फोहोर सिसडोल जान्थ्यो। अचेल १ देखि २ टीप मात्र जाने गरेको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार