Tuesday, April 15, 2025

पर्यटन उद्योग वायु प्रदूषणको चपेटामा

३० चैत, काठमाडौं ।
वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै गएको सरोकारवालाले बताएका छन् । उच्च वायु प्रदूषण हुँदा नेपाल आउने पर्यटकले भ्रमण तालिका छोट्याउने तथा रद्द गर्ने क्रम बढेको उनीहरूको गुनासो छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र नेपाल पर्यटन बोर्डले शनिबार (३० चैतमा) आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वायु प्रदूूषणको असर’ विषयक अन्र्तक्रियाका वक्ताहरूले विश्वकै उच्च प्रदूषित सहरहरूमा काठमाडौं सूचीकृत हुँदा पर्यटन उद्योग प्रभावित बनेको बताए ।

प्रदूषण कारण हवाई उडान नियमित नहुने, विभिन्न स्वास्थ्य समस्याहरू देखापर्ने, नेपाल आइपुगेका पर्यटकहरू पनि हिमश्रृंखलाको दृश्यावलोकन गर्न नपाउँदा निराश बन्ने गरेकाले पर्यटन उद्योगमा नकारात्मक प्रभाव बढ्दै गएको उनीहरूको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ तर प्रदूषणका कारण नेपालको सुन्दर छवि धमिलिने जोखिम बढेको छ ।’ नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको तथ्य भए पनि यो क्षेत्र अझै प्राथमिकतामा रहन नसकेको उनले बताए ।

नेपालको पर्यटन क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष/परोक्ष रोजगार दिएको उल्लेख गर्दै जोशीले भने, ‘ पर्यटन क्षेत्रबाट अझै लाभ लिन जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायत पर्यटकीय क्षेत्रलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्छ ।’

वायु प्रदूषणले तत्कालका लागि पर्यटक आवागमन घटाउने, यस्तो समस्या हरेक वर्ष दोहोरिँदा पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुुग्ने उनको ठहर छ । कार्यक्रमका अन्य वक्ताहरूले वातावरण जति स्वच्छ र स्वस्थ बन्छ त्यति नै पर्यटकीय क्षेत्र दिगो र विश्वासिलो बन्ने धारणा राखे ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले भने, ‘नेपालको मौसम सूचना प्रणाली प्रभावकारी र चुस्त बन्दा त्यसको लाभ पर्यटन क्षेत्रले पनि लिएको छ तर प्रदूषणले यो क्षेत्र (पर्यटन क्षेत्र) प्रभावित बनिरहेको छ ।’ प्रत्येक पालिकाले प्रभावकारी कदम नचालेसम्म वन डढेलो नियन्त्रण र प्रदूषण रोकथाम निष्प्रभावी बन्ने उनको तर्क थियो ।

विज्ञहरूका अनुसार सुख्खा याममा ९० प्रतिशत भन्दा बढी वायुु मानव स्वास्थ्य अनुुकूल हुँदैन । नेपालमा वार्षिक ४७ हजार हाराहारी व्यक्तिको अस्वस्थकर वायुुकै कारण निधन हुने गरेको छ । विगत २ सातायता काठमाडौंसहित देशका धेरै भेगमा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेपछि अस्पतालमा बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ ।

वायु गुणस्तरविज्ञ डा. भूूपेन्द्र दासका अनुसार नेपालमा अन्तरदेशीय वायु, कृषि, उद्योग/कलकारखाना, खुला क्षेत्रमा बालिने फोहोरमैला, वन डढेलो, पुराना सवारी साधन प्रदूषणका मुख्य कारण हुन् ।

‘नेपालमा ९० प्रतिशत भन्दा बढी प्रदूषण तराई, साढे ६ प्रतिशत मध्य पहाड र ३ प्रतिशत हाराहारी प्रदूषण हिमाली क्षेत्रबाट हुने अध्ययनले देखाएको छ’, उनले भने, ‘प्रदूषण बढ्नुमा मानवीय गतिविधि नै मुख्य कारण हो ।’ केही वर्षयता वन डढेलो मुख्य कारण बन्दै गएको दासले बताए ।

नेवापसका अध्यक्ष चन्द्रशेखर कार्की, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सचिव विष्णु पाण्डे, पर्यटन व्यवसायी चक्र कार्की, जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल लगायतले स्वच्छ वायुुले मात्रै नेपालको पर्यटन उद्योग फराकिलो बनाउने धारणा राखे ।

मौसमविद् कँडेलका अनुसार प्रदूषण घटाउन हिउँदे र मनसुन पूवाद्र्धको समयमा हुने वर्षाको भूमिका महत्वपूूर्ण रहन्छ । ‘वर्षा गराउने प्रणाली वाह्य मौसमी प्रभाव हो’, उनले भनिन्, तर प्रदूषण घटाउन आन्तरिक रूपमै विभिन्न क्रियाकलाप गर्न सकिन्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार