Sunday, September 29, 2024

बायोग्यास बनाउने योजनाले धमाधम चर्पी

धनगढी–कैलालीकाे धनगढी उपमहानगरपालिका–१५ उर्माका विनोद रानाले पसल थापेको वर्षौ भयो। उनको आफ्नो पक्की घर समेत छ। तर, चर्पी (शौचालय) बनाएको केही वर्ष मात्रै भयो। उनको मात्रै होइन, गाउँमा सबै जसो राना समुदायको घरमा चर्पी थिएन।

धनगढी १५ उर्मामा विनोद रानाले घरमा बनाएको गोवर ग्यास सहितको चर्पी । तस्वीर : मुकेश टेंर्रा

यो समुदायका बासिन्दा वर्षौंदेखि आँगन, नदी, बाटो, किनार र जंगलमा दिसापिसाव गर्ने गर्थे। तर, केही वर्ष पहिले तत्कालीन उर्मा गाउँ विकास समितिमा सरुवा भएपछि गाविस सचिव खडकबहादुर शाहलाई भवन वरपर जताततै गरिएको दिसाले हैरान पारेको थियो। त्यति मात्रै होइन, बाहिरबाट गाउँमा पाहुना आएमा चर्पीको व्यवस्था गर्न गाविस भवनको चर्पीको ढोका तोड्ने प्रवृत्तिले झनै सताएको थियो।

त्यसपछि उनले अगुवाहरुलाई बोलाएर चर्पी बनाउने विषयमा छलफल चलाए। र, चर्पी बनाउनेलाई सहयोग गर्ने योजना नै बनाइयो । तर, त्यो प्रयास पनि फेल भयो, कसैले पनि चर्पी बनाएन। जहाँ इच्छा त्यहाँ उपाय भनेझै शाहको इच्छा उर्माका सबै राना समुदायको घरमा चर्पी बनेको हेर्नु थियो । त्यसैले शाहले आर्थिक वर्ष २०६८-६९ मा चर्पी होइन, घरघरमा गोवरग्यास (बायोग्यास) बनाउने योजना गाउँ परिषदबाट पास गराए। र, कार्यान्वयन गराए।

तत्कालीन उर्मा गाविसका राना समुदायमा अहिले चर्पी वनाउने अभियान चलेको छ। सो अभियानले गर्दा राना बस्तीको घर घरमा चर्पी बन्यो । र, विस्तारै राना समुदायमा चर्पीका दिसा बस्ने बानी लाग्यो।

विनोद गाउँबासीले अभियानकै रुपमा धमाधम चर्पी बनाइरहेको बनाउँछन्। चर्पी सहितको गोबर ग्यास बनाउन ढुंगा, गिट्टी र बालुवा निःशुल्क पाएपछि आफूहरुले त्यसै वर्ष बनाएको उनले बताए। हालसम्म उर्माका ६० परिवारले चर्पीसहितको गोबर ग्यास बनाएका छन्। हाल गाउँका सबै परिवारले चर्पी बनाएका छन्। गाउँ चर्पी र बायोग्यासको नमूना गाउँ जस्तै भएको वडा नम्बर १५ का वडा अध्यक्ष फूलराम चौधरीले बताए।

उर्माको राना समुदाय आर्थिक रुपमा खासै कमजोर छैनन्। उनीहरुले मध्ये केहीले पक्की घर समेत लगाएको वर्षौ वितेको छ। तर, पनि उनीहरुको चर्पी बनाएका थिएनन्। तत्कालीन गाविसले ढुंगा र बालुवा दिएपछि उनीहरुले पनि चर्पी बनाएका हुन्।

चर्पी वनेपछि गाउँ सफा सुग्घर भएको छ। दिसापिसाव गर्न बाटो, सडक, जंगल र नदी किनार दौडिनु नपरेको उर्माका विनोद रानाले बताए। चर्पीसँगै बनेको बायोग्यासले खाना पकाउन सजिलो भएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार