Saturday, September 28, 2024

फोहोरको दुर्गन्ध : ‘नाक थुन्नु कि जुत्ता सिउनु’ !

काठमाडौं– बर्खासँगै काठमाडौं उपत्यकास्थित सडकका चोकचोकमा फोहोरको डंगुर थुप्रिदा दुर्गन्ध बढ्न थालेको छ। फोहोरको डंगुर रहेको क्षेत्रका बासिन्दा मात्र होइन पैदलयात्री पनि नाक थुन्दै हिँडिरहेका भेटिन्छन्।

लगनखेल, बसपार्कमा थुप्रिएकाे फाेहाेर (बाँया), नजिकै जुत्ता सिउँदै गाैतम राेका (दायाँ)। तस्वीर : हाकाहाकी।

लगनखेल, बसपार्क नजिकै जुत्ता सिउँदै आएका गौतम रोका भन्छन्, ‘असारदेखि बसपार्कमा फोहोर थुप्रिएको छ। नाक थुन्नु कि जुत्ता सिउनु।’ बिहीबार बिहान मास्क लगाएर जुत्ता सिउँदै गरेका रोका महानगरले फोहोर नउठाइदिँदा आफूहरूलाई समस्या भएको बताउँछन्।

‘फोहोर नै उठ्दैन। दिनभर फोहोरको दुर्गन्धले होला गत मंगलबार वान्ता पनि भयो। पखाला लागेपछि पाटन अस्पतालमा उपचार समेत गराएँ,’ आफ्नो पीडा सुनाए रोकाले।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ‘ल्याण्डफिल साइट’ मा व्यवस्थापन गरिँदै आएको छ। तर, बर्खा लागेसँगै सिसडोल जाने बाटो हिलाम्य हुनुका साथै पटक–पटक पहिरो खस्दा असार १५ गतेदेखि नियमित फोहोर उठ्न सकेको छैन।

यसरी फोहोर नउठ्दा लगनखेलस्थित बसपार्क मात्र होइन काठमाडौंका मुख्य चोकमा फोहोरको डंगुर छ। फोहोरका पोका सडक छेउमा मिल्काइएको प्रसस्तै भेटिन्छन्।

फोहोर लिने गाडी नआउँदा कतिपयले घरमै फोहोर थुपारेर राखेका छन्। ललितपुरको च्यासलकी धनमाया थापा भन्छिन्, ‘फोहोरको गाडी नआउँदा घरभित्रै फोहोर राख्नु परेको छ। फोहोर गन्हाएर श्वास फेर्न समेत गाह्रो भएको छ। रातदिन मास्क लगाएर बस्नुपर्ने बाध्यता छ।’

उनका अनुसार सो क्षेत्रमा फोहोर संकलन गर्ने गाडी नआएको एक हप्ताभन्दा बढी भयो। वर्षायाममा रोगको संक्रमण बढी हुने त्यसमाथि घरमै फोहोरको थुप्रोले दुर्गन्धले कुनबेला बिरामी परेर अस्पताल भर्ना हुनुपर्ने हो भन्ने पिरलो छ, थापालाई। ‘जता पनि फोहोर नै फोहोर। उस्तै दुर्गन्ध,’ थापाले भनिन।

काठमाडौं शान्तिनगरकी भागेश्वरी कठायत पनि फोहोरको दुर्गन्धले आजित छिन्। ‘फोहोर उठाउने गाडी हप्तामा दुई पटक आउथ्यो। तर, एक हप्ता भयो आएको छैन,’ उनले भनिन् ‘कोठा भरी दुर्गन्ध फैलिसकेको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन वर्षायामकोे शुरुवातसँगै झाडापखाला, जन्डिस, टाइफाइ, डेंगु जस्ता रोेगको सक्रमण बढी हुने बताउँछन्। त्यसमाथि वर्षातको समयमा उपत्यकाको फोहोर नउठदा संक्रमणको जोखिम हुने गरेको डा.पुनले बताए।

‘फोहोर रोगको घर नै हो। फोहोरबाट जीवाणु उत्पन्न हुन्छन्। यसले हैजा लगातका रोग फैलाउन सक्छ,’ डा.पुनले भने, ‘अहिले उपत्यकामा हैजा देखिएको छ। फोहोरलाई चाडोभन्दा चाडो उठाएर रोग फैलनबाट रोक्नुपर्छ।’

फोहोरको आसपास बस्ने रोग प्रतिरोधक क्षमता कम भएका गर्भवती, बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घ रोगीहरू संक्रमणमा पर्ने सम्भावना बढी हुने डा. पुन बताउँछन्।

फोहाेरजन्य रोगको संक्रमणबाट बच्न पानी उमालेर मात्र पिउने, साबुन पानीले राम्ररी हात धुने, फोहोर, झिंगा भन्केका र बासी खाना नखाने, हरिया सागपात तथा फलफूल राम्ररी धोएर मात्र खाने,जारको पानी र ट्याङ्करको पानीमा ध्यान दिने उनले बताए।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले फोहोर उठाउन अझै केहि समय लाग्ने बताएका छन्। ‘फोहोर नठ्दा ललितपुरबासीले समस्या भोग्नु परेको छ। यो समस्या समाधान गर्न अझै केहि दिन लाग्छ,’ मेयर महर्जनले भने ‘अहिलेलाई आफ्नै घरमा फोहोर व्यवस्थापन गर्न म नगरबासीसँग अपील गर्दछु।’

मेयर महर्जन सिसडोल ‘ल्याण्डफिल साइट’ सम्म पुग्ने बाटो पहिरोका कारण अवरुद्ध भएकाले फोहोर उठाउन नसकिएको बताउँछन्। ‘ओखरपौवामा पहिरो खसेकोले बाटो अवरुद्ध भएको छ,’ उनले भने, ‘साउनको ७ गतेसम्म समस्या सामधान हुन्छ भन्ने विश्वास लिएको छु।’ उनले फोहोरको दीगो व्यवस्थापनका लागि संघीय सरकारसँग छलफल भइरहेको बताए।

‘बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ चाडो निर्माण गर्न सरकारसँग अनुरोध गरेको छु,’ मेयर महर्जनले भने, ‘उपत्यकामा ७० भन्दा बढी फोहोरमा काम गर्न संस्थाहरु छन् उनीहरुसँग सहकार्य गर्नुपर्छ भनेर समेत भनेको छु।’

बत्तीसपुतली सडकखण्ड ।

ताजा समाचार

सम्बन्धित समाचार