Thursday, September 26, 2024

सेनाको स्कटिङमा ‘रुपसी’ र ‘भद्र’ काे काठमाडौं यात्रा

काठमाडाैं–चीन सरकारलाई उपहार स्वरुप प्रदान गरिने एक जोडी गैंडालाई मंगलबार ट्रकमा राखेर चितवनबाट काठमाडौंका लागि प्रस्थान गराइएको छ।

विशेष प्रकारको खोरलाई दुुईवटा छुट्टाछुट्टै मिनिट्रकमा राखेर ‘रुपसी’ र ‘भद्र’ लाई काठमाडौ पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

‘रुपसी’ र ‘भद्र’लाई नेपाली सेनाले स्कटिङ गरी सातदोबाटोसम्म ल्याउने उनले जानकारी दिए । ‘नेपाली सेनाका सह–सेनानीको कमाण्डमा रहने टोलीले गैंडा राखिएको ट्रकको अगाडि र पछाडी बसेर स्कटिङ गर्नेछ,’ उनले भने, ‘गैंडा ल्याउने ट्रकसँगै निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक प्राविधिक किरण रिजाल र कोषका अरु ३ जना केयर टेकरसहितको टोली चढ्ने ३ वटा जीप पनि आउने छन्।’

गैंडा काठमाडौंसम्म छाड्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल लगायत आइरहेका छन्। भद्र डेढ वर्षको भाले र रुपसी २ वर्षकी पोथी हो ।

बर्खायाममा अविरल वर्षासँगै खस्ने पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै ती गैंडालाई एक दिन अगाडि नै चितवनबाट हिँडाइएको हो ।

नेपालले चीनलाई दुई जोडी गैंडा उपहारस्वरुप दिने भनिएकोमा एक आर्थिक वर्षमा एक जोडी मात्र दिन मिल्ने व्यवस्था छ। जसले गर्दा अर्काे जोडी गैंडा आगामी आर्थिक वर्षमा हस्तान्तरण गर्ने तयारी छ ।

गैंडा प्रकृति संरक्षण कोषमा राखिने

‘रुपसी’ र ‘भद्र’ नामका ती गैंडा काठमाडौंमा ल्याइएपछि खुमल्टारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा राखिने भएको छ । ‘चितवनबाट जुन ट्रकमा हालेर ल्याइएको हो, त्यही ट्रकमा नै बिहीबार बिहानसम्म सातदोबाटोमा राखिने छ,’ राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने । सुरुमा जावलाखेलस्थित सदर चिडियाखाना र पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परिसारमा राखिने भनिए पनि अन्तिम घडीमा आएर खुमलटार लग्ने निर्णय गरिएको हो ।

चिडियाखानामा लैजादा गैंडाका कारण अन्य वन्यजन्तुमा कन्टामिनेसन हुने सम्भावना रहन्छ। त्यसैगरी विभागमा लैजाँदा त्यहाँ भिडभाडका लागि पर्याप्त स्थानको अभाव हुने भएकाले खुमलटारलाई उचित स्थान रोजिएको विभागको भनाइ छ । कोषको परिसरमा रहेको घाँसे मैदानमा गाडी पार्किङ गरेर राखिनेछ । आवश्यक हेरचाह र अन्य स्वास्थ्य उपचारमा टोलीले चितवनदेखि नै साथ दिइरहेको छ ।

बिहीबार प्रमबाट हस्तान्तरण

बिहीबार बेलुकी चीन प्रस्थान गर्ने ती गैंडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गर्ने कार्यक्रम छ । बिहीबार विहान राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरिने विभागका महानिर्देशक खड्काले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले नेपालका लागि चिनियाँ राजदुत यु होङलाई गैंडा हस्तान्तरणको विधिवत् कागजात दिने तयारी छ।

ती गैंडालाई चीनले बिहीबार अपरान्ह ४ बजे कार्गो विमानबाट लैजाने कार्यक्रम छ । जसका लागि चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् ।

गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च जनाइएको छ। जुन रकम चीन सरकारले नै बेर्होेन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विशेष खोर चीनसम्मै, गाडी विमानस्थलसम्म

‘रुपसी’ र ‘भद्र’लाई चीन पठाउन हालेर ल्याइएको विशेष प्रकारको खोर चीनसम्म नै पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार चितवनबाट खोर हालेर ल्याइएका ट्रक भने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलसम्म मात्र पुग्नेछन् । ती गैंडालाई त्यहाँबाट चिनियाँ कार्गो विमानमा हालेर चीन लगिने अधिकारीहरूले बताएका छन् ।

ग्वान्जाओको चिमेलोङ सफारी पार्कमा राखिने

‘रुपसी’ र ‘भद्र’ लाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिने छ । गैंडासँगै पशु चिकित्सक, सहायक प्राविधिक र ३ जना केयर टेकर पनि चीन जाने छन् । निकुञ्जका वरिष्ठ पशु अधिकृत डा कमल गैरै, कोषका सहायक प्राविधिक किरण रिजाल र कोषका ३ जना केयर टेकर पनि चीन जाने छन् । विभागका सूचना अधिकारी नारायण रुपाखेतीका अनुसार २ जना केयर टेकरले १२–१२ घण्टा ‘रुपसी’ र ‘भद्र’ लाई निरीक्षण गर्नेछन् ।

उनीहरुले पार्कमा रहेका पशु चिकित्सक र अरु केयर टेकरलाई ‘रुपसी’ र ‘भद्र’का बारेमा जानकारी दिनेछन् । चीन सरकारकै तलब भत्तामा रहने ती कर्मचारी केही दिनको बसाइँपछि स्वदेश फर्कनेछन् ।

पार्क स्थापनाको २० वर्ष पूरा गरिसकेको चिमेलोङमा २० हजार दुर्लभ प्रजातिका जीवजन्तु रहेका छन् । यसको क्षेत्रफल १३ लाख ३३ हजार सय ४ वर्ग मिटर रहेको छ ।

चीनलाई २ जोडी गैँडा दिएवापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन चीनले दिइसकेको छ । यसअघिका अभ्यास अनुसार नेपालले गैंडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याएको थियो ।

विश्वमै दुर्लभ एकसिंगे गैंडा

एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गरेपनि अहिले आएर सो गैंडा नेपाल र भारतका केहि भागमा मात्र पाइने गरिएको छ ।

१२ वर्षपछि गैंडा उपहार पठाइँदै

नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चितवन राष्ट्रिय निकुञ्जले बिभिन्न देशमा २६ गैँडा उपहारस्वरुप पठाइएको छ । नेपालले अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार