Monday, October 28, 2024

देशभर नै पहिरोको जोखिम, यस्ता छन् कारण

काठमाडौं– देशभर मौसम सक्रिय भए लगत्तै बाढी र पहिरोको जोखिम बढेको छ । प्रमुख नदीहरुमा पानीको सतहका बढेका खबरहरु आईरहेका छन् भने पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो गईरहेको छ ।

पहिरोमा परेर केहीको मृत्यु समेत भएको छ । पहिरोका कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् जसले गर्दा सयौ यात्रुहरु अलपत्र परेका छन् । पछिल्लो वर्षहरुमा पहिरोको जोखिम झन बढेको जानकारहरुको भनाई छ । विशेषत पछिल्ला वर्षहरुमा जथाभावी रुख काट्ने, विकासको नाममा डोजर चलाउने लगायतका कार्यले पहिरोको जोखिम बढीरहेको छ।

कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेको विज्ञहरुले बताएका छन् ।

जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो ।

राष्ट्रिय समाचार समितीसँग कुराकानी गदै भूगर्भ्विद् डा कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको बताएका छन् । बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो ।

यस्तै अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । केही दिन पहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने देवकोटाको दाबी छ ।

चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ ।

यस्तै महाभारत पर्वत शृङ्खला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै डा देवकोटाले भने, ‘प्राकृतिकरुपमा नै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिकरुपमा नै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।’

पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको उनको भनाई छ । ‘सडक निर्माण गर्दा बढी मात्रामा मेशिन तथा अन्य उपकरणको प्रयोग गरियो । कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेशिनको प्रयोग नै पहिरोको कारण बनिरहेको छ,’ उनले भने ।

त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेशिनको प्रयोग गरिएका कारण सो सडकखण्डमा दैनिक पहिरो खसेको डा देवकोटाको भनाइ छ । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उनको भनाई छ ।

विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

डा देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । यस्तै पासाङ ल्हामु राजमार्ग, पृथ्विी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी हालतमा राख्नुपर्ने आवश्यकता देखिएको छ । राससको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार