Monday, September 23, 2024

आइपुगे प्रदूषणको मापदण्ड जाँच्ने ४० मेसिन, फेल भएका गाडी साउनदेखि काठमाडौंमा ‘नो इन्ट्री’

काठमाडौं–यातायात व्यवस्था विभागले प्रदूषणको मापदण्ड जाँच गर्ने ४० मेसिन नेपाल आइपुगेको जनाएको छ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तह र देशभरका उपमहानगरपालिका र महानगरपालिकामा चारपांग्रे सवारीसाधनमा अनिवार्य रूपमा हरियो स्टिकर लिनुपर्ने नियम लागू गर्ने घोषणा गरे अनुरुप विभागले प्रदूषणको मापदण्ड जाँच गर्ने मेसिन ल्याएको हो।

विभागका निर्देशक तथा प्रवक्ता तुल्सीराम अर्यालका अनुसार डिजेल गाडीको प्रदूषणको मापदण्ड जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषणको मापदण्ड जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० मेसिन शनिबार नेपाल आइपुगेका हुन्।

आगामी साउन १ गतेबाट सवारीसाधनबाट हुने प्रदूषणको मापदण्ड जाँच गर्ने कार्य कडाइका साथ अगाडि बढाइने उनले जानकारी दिए । अर्यालका अनुसार विभाग अन्तर्गतका १५ वटा कार्यालय र ६ वटा सेवा कार्यालयमा असार १५ दिनभित्र मेसिन पठाइने छ। र, प्रदूषण जाँचबारे तालिम दिइने छ।

प्रवक्ता अर्यालका अनुसार साउन १ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्न गाडीले अनिवार्यरुपमा हरियो स्टिकर लिनैपर्ने हुन्छ । ‘काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न चारपांग्रे सवारीसाधनले अनिवार्यरुपमा हरियो स्टिकर लिनैपर्छ,’ उनले भने ‘प्रदूषण जाँचमा फेल भएका गाडीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने छैन ।’

उनका अनुसार काठमाडौं प्रवेश गर्न गाडीको प्रदूषण मापदण्ड जाँचका लागि विभिन्न क्षेत्रमा पोस्ट स्थापना गरिनेछ। चेकजाँचको क्रममा हरियो स्टिकर नलिएको वा प्रदूषण जाँचमा फेल भएको पाइएमा त्यस्ता गाडीलाई काठमाडौंभित्र प्रवेश गर्न रोक लगाइने उनले बताए।

उपत्यकामा प्रदूषणको मुख्य कारणमध्ये सवारीसाधनको धुँवा पनि भएकाले हरियो स्टिकर अनिवार्यपछि प्रदूषण घट्ने अपेक्षा विभागको छ।

विभागले यसअघि २०७५ वैशाखदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तह तथा मुलुकका अन्य भूभागका उपमहानगरपालिका र महानगरपालिकामा प्रवेश गर्ने सवारीसाधनको अनिवार्य रूपमा प्रदूषण जाँचपास गर्ने बताएको थियो। तर, मेसिन आपूर्तिमा ढिलाइ भएको भन्दै लागू गर्ने मिति आगामी साउनसम्मका लागि सारिएको थियो।

विभागले गत चैतमा टेण्डर आह्वान गरेर स्वीकृत गरेको थियो। प्रवक्ता अर्यालले टेण्डर आवह्न गर्न ढिलाई हुँदा र मेसिन बाहिरबाट ल्याउनुपर्ने भएकाले ढिलाई भएको बताए।

हाल विभागसँग प्रदूषणको मापदण्ड जाँच गर्ने तीनवटा मात्र मेसिन छन्। ती मेसिनबाट यातायात व्यवस्था कार्यालय ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं र सवारी परीक्षण कार्यालय काठमाडौंबाट सवारी प्रदूषण जाँच गरिँदै आएको छ।

प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिइन्छ। नियमानुसार निजी सवारीधनीले वर्षको एकपटक तथा सार्वजनिक सवारीसाधनले ६-६ महिनामा विभागबाट प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ।

सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा धुँवाको मात्रा २ दशमलब ४४ एचएस्यु हुनुपर्ने मापदण्ड छ। दुईपांग्रेका लागि प्रदूषण जाँच गर्ने व्यवस्था नभएकाले नियम लागू नहुने विभागले जनाएको छ। रातो स्टिकर पाएका सवारीसाधन मर्मतका लागि वर्कसपसम्म मात्रै सञ्चालन गर्न पाइन्छ।

वन तथा वातावरण मन्त्रालयले यही बैशाखमा सार्वजनिक गरेको वातावरणको वर्तमान अवस्थाबारेको स्थितिपत्रमा वायू प्रदूषणमा सवारी साधनको ३७ प्रतिशत भूमिका रहेको उल्लेख छ।

यातायात व्यवस्था विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल रहेका छन्।विभागले देशभरका सबै सवारीधनीलाई अनिवार्य रुपमा हरियो स्टिकर लिन सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार