Wednesday, November 5, 2025

संस्कृति र अर्थतन्त्रसँगै संकटमा ‘असला माछा’

सुजता लिम्बू
४ असोज, संखुवासभा।

कुनै समय सभाखोला आसपासका स्थानीय बासिन्दाहरूले असला माछा बेचेर महिनामा ४० हजार रूपैयाँसम्म कमाउँथे । अहिले त्यो आम्दानी हजार रूपैयाँसम्म झरेको छ ।

अवैध प्रवृत्ति, अव्यवस्थित हाइड्रोपावर निर्माण, जलवायु परिवर्तन र प्रदूषणका कारण असला माछाको संख्या दिनप्रतिदिन घट्दै गएको छ । असला माछा मात्र होइन, योसँग जोडिएको स्थानीय संस्कृति, धार्मिक आस्था र परम्परागत जीविकोपार्जनसमेत संकटमा परेको छ ।

अर्थ, अस्तित्व र पहिचान तीनै पक्षमा गहिरो धक्का परेको यो संकटले स्थानीयको अर्थतन्त्रमा समेत परिवर्तन आएको छ । बाह्रबिसेकी कोपिला लिम्बूको दैनिकी माछा मारेरै बित्छ । पहिलेभन्दा अहिले धेरै मेहेनत गर्नुपर्छ किनकि खोलामा माछा भेटिन धौ धौ छ । १० वर्ष पहिले एकैदिन ५ केजीसम्म माछा मारेको सम्झना छ उनलाई । अहिले त १ किलो पाउन ३ दिनसम्म लाग्छ।

पहिले महिनामा ३० देखि ४० हजार रूपैयाँसम्म माछाबाट कमाइ भएको याद छ उनलाई । अहिले उनको आम्दानी खस्किएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘अहिले माछा नै पाउँदैन, आम्दानी पनि उही ५ देखि १० हजारसम्म हुन्छ ।’

खोलामा ब्लाष्टिङ गर्ने, करेन्ट लगाउने, अव्यवस्थित हाइड्रो पावर निर्माणले गर्दा पनि माछाको संख्या घट्दै गएको उनको बुझाइ छ । उनका अनुसार ब्लाष्टिङ गर्दा, करेन्ट लगाउँदा सानाठूला माछासँगै तिनका भ्रूण समेत सखाप भएको हो ।

यता हाइड्रोले खोलाको पानी धमिलिने र सुक्ने क्रम बढ्दै गएकाले माछाको संख्या घट्न थालेको उनको बुझाइ छ । ‘पहिले जाल लगाएर, ढडिया थापेर रैथाने पाराले माछा मार्ने चलन थियो । त्यसले पानीको स्रोत र माछालाई असर गर्दैन,’ कोपिला भन्छिन्, ‘अहिले ब्लाष्टिङ, करेन्ट, हाइड्रोले माछालाई असर पारेको हो ।’

उनले सभाखोलाको असला माछा सुकाएर जिल्लाभित्रको आसपासको बजारदेखि तराईका विभिन्न जिल्ला र विदेशमा समेत कोसेलीका रूपमा बेच्छिन् । संखुवासभाकै तुम्लिङटारका टीकाराम कुमालले पनि पहिलेको तुलनामा असला माछाको संख्या घट्दै गएको सुनाउँछन् ।

१० वर्षअघि जाल हानेर माछा मार्दा खाली हात फर्किनु पर्दैन थियो । आम्दानी पनि राम्रै थियो तर अहिले खोलामा जोखिम धेरै भएपछि माछा कम पाउने गरेको उनी सुनाउँछन् । हुनत उनले आजभोलि व्यवसायिक रूपमा माछा मार्न छोडिसके । पहिले उनी माछाको आम्दानीबाटै घर खर्च धान्थे, समयसँगै माछाको संख्या घट्नु र आम्दानी पनि घट्दै गएकाले उनी आजभोलि खोला धाउन छोडे । उनी भन्छन्, ‘पहिले त माछा मारेर घर खर्च चलाइन्थ्यो, आजभोलि जाल खेल्न जान लगभग छोडेँ ।’

आजभोलि माछा मार्ने काम छोडेर घरैमा व्यवसाय सुरु गरेको कुमाल बताउँछन् । ‘पहिले जस्तो अहिले माछा पर्दैन, दुःख मात्रै हुन्छ ।’ उनी सुनाउँछन्,‘यसो ८–१० हजार हुन्थ्यो, अहिले खोलाको काम छोडेर कृषि पेसा गर्दै छु ।’

खाँदबारी नगरपालिका–१ का राजेन्द्र श्रेष्ठ पहिले जस्तो अहिले असला माछा प्रशस्त पाउन छोडेको बताउँछन् । उनी बाह्रबिसेबाट माछा बिनेर बिक्री गर्छन् । खोलामा करेन्ट लगाएर, ब्लास्टिङ गरेर माछा मार्ने प्रवृत्ति बढ्दै गएकाले माछा लोप हुन थालेको उनको बुझाइ छ ।

श्रेष्ठका अनुसार पछिल्लो समय अव्यवस्थित संरचना निर्माण, जलवायु प्रदूषणका कारण बेमौसमी बाढीले खोला धमिलो भएपछि माछा उम्किएर अरूण नदीहुँदै तराईसम्म पहाडको माछा पुग्छ । मानवीय क्रियाकलाप, बाँध र जलस्रोतमै कंक्रिटको विकासले गर्दा माछा निर्बाध यात्रा गर्न नपाउँदा असला माछा थप संकटमा परेको उनको भनाइ छ ।

श्रेष्ठलाई पनि पनि माछाबाट तीस देखि ४० हजार रूपैयाँसम्मको आम्दानी गरेको याद छ । तर अहिले आम्दानी घट्दै गएको उनको भनाइ छ । उनका अनुसार एक दशकअघि एउटा व्यक्तिले वर्षमा ५ देखि १० किलो माछा सजिलै माथ्र्यो, अहिले एक किलो माछा पाउन पनि मुस्किल भएको छ । उनका अनुसार असला १५ सय देखि २ हजार रूपैयाँसम्म बेच्ने गरेका छन् ।

‘टपरामा ६ सयसम्म बिक्री हुन्छ, पेरूङ्गोमा हजार, १५ सयदेखि २ हजारसम्म बेच्छौँ’, उनी भन्छन्, ‘अहिलेसम्म वार्षिक आम्दानीको अभिलेख राखेका छैनौँ ।’

मत्स्यपोखरीबाट जान्छ असला माछा…

संखुवासभाको चिचिला गाउँपालिका–४ मा रहेको मत्स्यपोखरीबाट बगेर निस्किएको पानी केही तल झरेपछि ओराङ खोलामा मिसिन्छ । ओराङ खोला चिचिला–५ र सभापोखरी–३ को सीमारेखा हुँदै बग्छ र ज्यामिरे नजिक पुग्दा लङ्खुवा खोलामा मिसिन्छ ।

यही लङ्खुवाको संगम बनेर बाह्रबिसे पुग्दासम्म अझ प्रबल बन्छ । बाह्रबिसेमा पुग्दा लङ्खुवा, भोटी र सभा खोलाहरूको त्रिवेणी सङ्गम हुन्छ । त्यस त्रिवेणीले आफूभित्र एउटा विशाल जीवन लहर समेट्छ र सभाखोलाको नाम पाउँछ । यही सभाखोला अघि बढ्दै विशाल अरूण नदीमा मिसिन्छ । जसलाई सप्तकोशीको मुटु मानिन्छ । त्यही अरूण नदीमा सभाखोलाको असला माछा पनि मिसिन पुग्छ ।

खासमा असला माछा मत्स्यपोखरीबाट जीवनको नयाँ धार खोज्दै ओराङहुँदै लङ्खुवा पार गर्छ र सभाखोलामा पुगेर मिसिन्छ ।स्थानीयको भनाइअनुसार असला माछा त्यो हिमशीतल पानीको अमूल्य देन हो । जुन मत्स्यपोखरीमा मात्रै उपलब्ध हुन्छ । सभाखोलामा पाइने माछा मत्स्यपोखरीमा नै जन्म हुने स्थानीय किरण राईले समेत बताए ।

उनका अनुसार सभाखोला, अरूण नदीमा पाइने असला माछा मत्स्यपोखरीबाट मिसिन जान्छ । उनी भन्छन्, ‘मत्स्यपोखरीमा मात्रै असला माछा पाइन्छ । सभाखोलामा पाइने माछा यहीँबाट जाने हो ।’

पोखरीमा माछा जन्मन्छ, यहीँ हुर्किन्छ तर जीवनको अर्को चरणमा त्यो असला माछा सभाखोलाको प्रवाहमा पुगेर मिसिन्छ । पोखरीमा धार्मिक विश्वासका साथ माछा मार्न दिइँदैन र स्थानीयले पनि कहिल्यै माछा नमार्ने उनी बताउँछन् । राईका अनुसार मत्स्यपोखरीभित्र माछा मा¥यो भने प्राकृतिक प्रकोप हुने, अन्य विपत्ति झेल्नुपर्ने विश्वास छ ।

त्यसो त पोखरीको अस्तित्वले पानी, धार्मिक आस्थालाई मात्रै होइन, त्यस ठाउँको संस्कृति र अर्थतन्त्रलाई पनि जीवन्त बनाएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा बताउँछन् । सभाखोलामा असलाको उपस्थिति केवल जैविक यात्रा मात्र होइन, सांस्कृतिक चिनारी रहेको उनको भनाइ छ ।

उनका अनुसार सभाखोलामा पाइने असला माछा मत्स्यपोखरीबाट जाने हो । शेर्पा भन्छन्, ‘पोखरीमा उत्पादन हुन्छ, उत्पादन भएको ठाउँमा माछा मार्दैनन्, त्यहीँबाट सभाखोलामा मिसिन जान्छ असला माछा ।’ धार्मिक आस्था र किंवदन्ती अनुसार मत्स्यपोखरीमा त्यहाँका स्थानीयले माछा मार्दैनन् ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार पोखरीमा माछा मार्दा गाउँमा अनिष्ट हुने विश्वास छ । मत्स्यपोखरी धार्मिक आस्था र पर्यटनसँग समेत जोडिएको उनको भनाइ छ । यसले गर्दा पनि पोखरीमा माछा संरक्षणमा खासै चुनौती नभएको उनको भनाइ छ ।

स्थानीयहरूले २ किलोमिटर दूरी पार गरी ओरङ खोलामा माछा मार्ने गरेको उनको भनाइ छ । पहिले खोलामा करेन्ट लगाउने, ब्लाष्टिङ गर्ने लगायतका गतिविधि गर्दै माछा मार्ने गरे पनि अहिले परम्परागत शैलीअनुसार जाल हानेर, ढडिया थापेर, बल्छी थापेर माछा मार्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

उनले भने, ‘हामीले जल मुद्दामा मुद्दा दर्ता गर्छौँ भनेपछि अहिले परम्परागत शैलीमा नै माछा मार्न थालेका छन् ।’ अवैध ढंगले माछा मार्न आए सामान जफत गर्ने र कारबाहीको दायरामा ल्याएपछि त्यस्तो गतिविधि रोकिएको उनको भनाइ छ ।
शेर्पा भन्छन्, ‘अहिले त्यो गतिविधि रोकिएको छ हाम्रो पालिकामा ।’ मत्स्यपोखरीमा कति माछा उत्पादन हुन्छ भन्ने प्रश्नमा उनले अनुमान गर्नै नसकिने बताए । उनका अनुसार मत्स्यपोखरीमा आफैँ प्राकृतिक रूपले उत्पादन हुने भएकाले कति संख्यामा छ भनेर अनुमान लगाउन सकिदैन ।

२ वर्षमा परिपक्क हुन्छ ‘असला’

साधारणतया असला माछा दुई वर्षको उमेर पुगेपछि परिपक्क हुन्छ । कृत्रिम तथा प्राकृतिक जलाशाय मत्स्य शाखाका अनुसार वर्षमा यो जातको माछाले २ पटक कार्तिक–मंसिर र माघ–फागुन महिनामा प्रजनन गर्छ । असला माछा नेपालमा पाइने स्वादिलो माछामा एक मानिन्छ । यो माछाको शरीर कत्लाहरूले ढाकिएको हुन्छ ।

यो माछाले ट्राउट माछाले जस्तै चिसो तथा बग्ने पानी मन पराउने हुँदा अंग्रेजीमा यो माछालाई स्नोट्राउट पनि भनिन्छ । यो माछा खोलाको मुहानतिर ‘उभौली’ तथा तलतिर ‘उधौली’ गर्ने माछा हो । यसैले पनि पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने राईहरूको उधौली–उभौली पर्वमा समेत सम्बन्ध रहेको सरोकारवालाहरू बताउँछन् ।

कृत्रिम तथा प्राकृतिक जलाशाय मत्स्य शाखाको खोज अनुसन्धानअनुसार उभौलीमा यो माछा प्रजनन गर्ने ठाउँमा जान्छ भने उधौलीमा यो दाना चर्न जान्छ । पानीको तापक्रम ११ देखि १६ डिग्री सेल्सियस छ भने १० देखि १२ दिनपछि फुलबाट मसिना भुरा निस्किन थाल्छ ।

आर्थिक वर्ष २०३१–३२ मा असला माछाको कृत्रिम प्रजनन मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा सफल भइसकेको छ ।

संस्कृतिसँग जोडिएको ‘असला माछा’

राईभित्रका केही जातिले उधौली अथवा उभौलिमा प्रकृतिको पूजा गर्दा खोला पूजा गर्छन् । जहाँ आलो असला माछा अनिवार्य चाहिने स्थानीय दुर्गादेवी राई बताउँछिन् ।

‘माङसुक’ (राईमध्ये लोहोरुङ जातिको कुल थान, सोह्र श्राद्धमा कुल देवता र पितृको पूजा गरिन्छ) गर्दा असला माछा अनिवार्य राख्ने र कुखुरा काटेर पूजा गर्ने परम्परा रहेको उनले बताए । उनका अनुसार यो पूजा धान पाकिसेपछिको पहिलो पूर्णिमाको दिन अर्थात् मंसिरे पूर्णिमामा र जौँ पाकेपछिको पहिलो पूर्णिमा वैशाख पूर्णिमामा गरिन्छ ।

उनका अनुसार राई, लिम्बू लगायतका आदिवासी जनजातिले खोला पूजा गर्ने चलन छ र यथावत् छ । स्थानीय बासिन्दा मेघराज तामाङका अनुसार खोला पूजा गर्नुको केही कारण छ, गाउँमा बिरामी पर्दा अहिले पनि धामीझाँक्री लगाउँछन् ।

बिरामी व्यक्ति दिनमा ठिक हुने र राति बिरामी पर्ने वा ज्वरो आउँदा चिसो हुने लक्षण देखिएमा धामीले जोखनामा खोला लागेछ भन्ने चलन रहेको तामाङको भनाइ छ ।

उनका अनुसार खोला लाग्दा अर्थात् प्रेत आत्मालाई मन्साउन भाले र असला माछा प्रयोग गरिन्छ । खोला र माछाको सांस्कृतिक पक्ष आस्थासँग जोडिएको बताउँदै उनले पूजामा प्रयोग हुने असला माछा आलो हुनुपर्ने बताए ।

त्यसो त माछा नेवार समुदायको संस्कृतिसँग पनि जोडिएको छ । जात्रा, भोजको थालीमा असलाको स्वाद मात्रै होइन यसको महत्त्व पनि उत्तिकै छ । खाँदबारी नगरपालिका– १ का किरण शाक्यले नेवार संस्कृतिमा माछा (न्यःमाचा)लाई शुभ प्रतीकको रूपमा मानिने बताए । दाजुभाइलाई माछा सगुनको प्रतीकका रूपमा दिएर दीर्घायु र निरन्तर समृद्धिको कामना गरिने गरेको उनको भनाइ छ ।

‘माछा जलमा स्वतन्त्र रूपमा तैरन्छ, पानी स्वयम् जीवनको मूल हो र माछा त्यसमा बाँच्ने प्राणी’, उनले भने,‘यो जीवन उन्नति र प्रगतिको प्रतीक हो । त्यसैले माइतीलाई चेलीले सगुनको रूपमा माछा दिएर दीर्घायुको कामना गर्दछन् ।’ यता कुमार मगरले पनि आफूहरूको सुखदुःखको काममा आलो माछा प्रयोग गरिने बताउँछन् ।

अर्थ र अस्तित्वसँगै जोखिममा असला माछा

त्यसो त असला माछाको यात्रा मत्स्यपोखरीदेखि सभाखोलासम्मको मात्र होइन । यो जीवन, संस्कृति, खानपान र अर्थतन्त्रको पनि साझा यात्रा हो तर पछिल्लो समय यसको अस्तित्व नै डगमगिएको छ ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, करेन्ट लगाएर, ब्लाष्टिङ गरेर माछा मार्दा सभाखोलामा असला माछाको संख्या घट्दै गएको स्थानीय बासिन्दा बताउँछन् । सभाखोला आसपास (धुपु, पाँचखपन र बाह्रबिसे) मा माझी समुदायभन्दा पनि राई, लिम्बू ,मगर, लगायत मिश्रित समुदाय बसोवास गर्छन् ।

जसले दशकौँदेखि माछा मार्दै व्यापार गर्ने गरेका छन् । तर पछिल्लो माछाको संख्या घट्ने क्रम बढेसँगै उनीहरूको पेसा नै संकटमा पर्ने गरेको सरोकारवालाहरू बताउँछन् । स्थानीय मेघराज तामाङका अनुसार सभाखोला आसपास मगर समुदायको जनघनत्व धेरै छ । उनीहरू माछा मार्ने र माछाको व्यवसाय गर्ने गर्छन् ।

माझी समुदाय अरुण नदी छेउछाउ बसोवास गर्छन्, उनीहरू माछाभन्दा पनि डुंगा ख्याउने काम गर्थे। अहिले त्यो पनि छोडिसकेको तामाङको भनाइ छ ।

असला माछाको अभिलेख छैन

नेपालमा असला माछा कुन–कुन भेगमा पाइन्छ भन्ने स्पष्ट अभिलेख नभएको केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रले जनाएको छ ।

केन्द्रकी वरिष्ठ मत्स्य विकास अधिकृत तथा प्रवक्ता सुमित्रा लौडारीका अनुसार असला माछाबारे छुट्टै तथ्यांक राखिएको छैन । उनले भनिन्, ‘असला भनेर छुट्टै तथ्यांक छैन। कुन क्षेत्रमा कति मात्रामा पाइन्छ भन्ने अनुसन्धान भएको छैन ।’ यद्यपि, उनले प्राकृतिक जलाशय (नदी, ताल, पोखरी)बाट वार्षिक करिब २१ हजार मेट्रिक टन माछा उत्पादन हुने बताइन् ।

नेपालमा प्राकृतिक स्रोतबाट उत्पादन हुने माछाको मात्रा उल्लेखनीय छ, त्यसमा असला र शहरको मुख्य भूमिका लिइन्छ । तर प्रजातिगत विवरणमा अझै काम गर्न बाँकी छ । असला माछाको कृत्रिम प्रजननको प्रारम्भिक प्रयास त्रिशूली नदी नजिकको धुम्से क्षेत्रमा सुरू गरिएको लौडारीले जानकारी दिइन् ।

मत्स्यविज्ञहरूका अनुसार यो पहिलोपटक रैथाने प्रजातिको संरक्षणलाई व्यवसायिक उत्पादनसँग जोड्ने प्रयास हो । यता पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशसँग पनि वर्गीकरण गरिएको माछाको तथ्यांक छैन ।

ऐनको प्रभावकारी कार्यान्वयन छैन

कोशी प्रदेश मत्स्यविकास निर्देशनालयले गरेको एक सर्वेक्षण प्रतिवेदनअनुसार ऐन प्रभावकारी कार्यान्वयन नहुँदा कोशी प्रदेशका रैथाने जातका माछाहरू लोपोन्मुख बनेका छन् ।

तत्कालीन सरकारले विक्रम संवत् २०१७ मा जलचर संरक्षण ऐन निर्माण गरेको थियो । उक्त ऐनका हरेक दफामा जलचर प्राणीको संरक्षण गर्नुपर्ने उल्लेख छ । यस्तै कानून उल्लंघन गरे दण्ड सजायको व्यवस्था पनि छ ।

विद्युत, विषादी र बारुद प्रयोग गरी माछाको बीउ नै मासिने गरी गलत प्रविधिको प्रयोगले असला जातको माछाको संख्या घट्न थालेको र ‘माछा मारेर जीविकोपार्जन गर्ने समुदायहरू समस्यामा पर्न थालेको प्रतिवेदनमा उल्लेख छ । यो सर्वेक्षण २०८१ मा गरिएको हो ।

मत्स्य विकास निर्देशनालय कोशीकी मत्स्य विकास अधिकृत नेल्सन पोखरेलले पहिले पहिले धेरै मानिसहरू धान पाक्ने बेला भदौ महिनादेखि असोज महिनासम्म माछा मार्ने र स्थानीय बजारमा बेची जीविकोपार्जन गर्ने चलन भए पनि पछिल्लो समय त्यो हराउँदै गएको बताउँछिन् ।

कतिपय धार्मिक तथा सांस्कृतिक स्थलमा असला जातका माछा संरक्षण गरिएको उनको भनाइ छ । उनका अनुसार संखुवासभाको मत्स्यपोखरीमा असंख्य असला माछा रहेका छन् । असला माछाको खास रैथाने प्रजाति संखुवासभा जिल्लामा रहेको र व्यावसायिक हिसाबले पालन प्रविधिमा असला माछालाई लान सकिने प्रचुर सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खोटाङको भुलभुले दूध कुण्डमा पनि धार्मिक आस्थाका कारण असला माछा संरक्षित छन् । प्रतिवेदनअनुसार परम्परागत रूपमा जलचर समाती जीविकोपार्जन गर्ने समुदायको संख्या समेत निकै ठूलो छ ।

प्राकृतिक जलाशयहरूमा पाइने लोपोन्मुख तथा स्थानीय प्रजातिका माछाहरूको प्रवर्धन तथा संरक्षणका लागि खोला नदी किनारमा माछा मारी जीविकोपार्जन गर्ने समुदायलाई समेटेर जनचेतनामूलक साथै सेवा टेवा कार्यक्रम सञ्चालन गर्नु जरुरी रहेको पोखरेलको भनाइ छ ।

रैथाने जातका माछा संरक्षणका साथै संस्कृतिसँग जोडिएका समुदायलाई माछा मार्नका लागि सिफारिस गरिएको हाते जालमात्र प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । माछाको प्रजनन हुने समयमा माछा मार्न प्रतिबन्ध लगाउने ,मत्स्य जैविक विविधताको रक्षा गर्न महत्वपूर्ण वासस्थानमा माछा मार्न प्रतिबन्ध लगाई निश्चित समय र मौसममा मात्र माछा समात्ने कार्य गर्नुपर्नेमा उनको जोड छ ।

चिसो पानीमा पालन गर्न सकिने जातका माछाको व्यापक सम्भावना सोलखुम्बुमा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहमा के छ संरक्षणको प्रयास ?

सभापोखरी गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर पुलामी मगरका अनुसार खोलामा करेन्ट लगाएर, कार्तोस पड्काएर माछा मार्ने क्रम बढ्दै गर्दा माछाको प्रजनन प्रक्रियासँगै माछाका भुराहरूको पनि अन्त्य हुने भएकाले पहिलेको तुलनामा असला माछा लोप हुँदै गएको हो ।

खोलामा मानवीय क्रियाकलाप रोक्न स्थानीय सरकारले जरिवानासहितको सजाय तोकेको उनले जानकारी दिए । माछाको संख्या घटने क्रम बढेकाले परम्परागत शैलीमा माछा मार्नलाई ठेक्का सिस्टम लगाएको उनले बताए । खोलामा करेन्ट लगाए, ब्लाष्टिङ गरेमा तीस हजारदेखि १ लाख रूपैयाँसम्मको जरिवाना तोकिएको उनको भनाइ छ ।

सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले असला माछा संरक्षणका लागि अवैधरूपले माछा मार्नेलाई नगदसहितको जरिवाना तोकिएको जानकारी दिए । उनका अनुसार सुरूमा २० हजार रूपैयाँ जरिवाना रकम तोकिएको थियो, त्यसले केही न्यूनीकरण भए पनि रोक्न चुनौती थियो । पछि कार्यपालिका बैठकले संशोधन गरेर एक लाख जरिवाना तोकिएपछि अवैध तरिकाले माछा मार्ने क्रम रोकिएको उनको भनाइ छ ।

हालसम्म अवैध रूपमा माछा मार्ने २० जनालाई कारबाही गरिएको उनले बताए । उनले भने, ‘पछिल्लो समय एक लाख जरिवाना तोकेपछि रोकिएको छ ।’

गत १० साउनमा थाहा सञ्चार अनलाइनमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार