Sunday, September 21, 2025

हात्ती गाउँपसेपछि रातभर जाग्राम

५ असोज, कञ्चनपुर।

रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् । हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए ।

उनले साढे ४ बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ । उनी भन्छन्, ‘खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ ।’ हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको सुनारले बताए । यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन । उनले भने, ‘हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौँ ।’

वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । ‘रातिको समयमा ३०–४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्, उनले भनिन्, ‘बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ ।’ अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले समस्या बताइन् ।

हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् । अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन् । ‘मजदुरी गरेर कमाएको पैसाले खेती लगाउछौँ, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन’, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भने, ‘खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ ।’

यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् । केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार