Sunday, October 27, 2024

सरकारसँग छैन् चट्याङ पूर्वानुमान संयन्त्र

काठमाडौँ–नेपालमा चट्याङबाट वर्षेनी सय भन्दा बढी मर्ने गरेको विपद व्यवस्थापन महाशाखाको तंथ्याङ्कले देखाउँछ। तर, चट्याङको पूर्वानुमान क्षेत्रमा भने कसैको ध्यान पुगेको देखिदैन् ।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेका अनुसार गत वर्षमात्रै एकसय पाँच जनाको चट्याङका कारण मृत्यु भयो। जसमा ५५ जना पुरुष र ५० जना महिला थिए । २८४ जना घाइते भएका थिए। उनी भन्छन्, ‘विशेषगरी चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

यसरी चट्याङबाट वर्षेनी सयभन्दा बढी मानिस मर्ने र तीनसयको हाराहारीमा घाइते हुन्छन् तर यसतर्फ सरकारी निकायको कुनै ध्यान पुगेको छैन् । यसको मुख्य जिम्मेवारी वोकेको सरकारी निकाय गृहमन्त्रालयले यस विषयलाई खासै चासो नदिएको बताउँछन् चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा ।

उनले भने, ‘हामीले लामो समयदेखि नेपालमा बढी मात्रामा चट्याङ पर्नुको कारण खोजी गरिरहेका छौँ, अनुसन्धान भइरहेको छ । त्यसबाहेक सरकारी निकायसँग समन्वय गरेर पनि काम गरिरहेका छौँ तर गृहमन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको छैन् ।’

चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमान लागएजस्तै चट्याङ पूर्वानुमान लगाउन सकिने उनको धारणा छ । ‘विश्वका अन्य देशहरूमा चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि सरकार तथा सम्बन्धित निकायले चट्याङ पूर्वानुमानका संयन्त्रहरू स्थापना गरी त्यसबाट पूर्वानुमान लगाइहेका हुन्छन्, र त्यो ९० प्रतिशत सम्म सही हुनजान्छ, त्यस्तो अवस्थामा सर्वसाधारण सतर्क हुन्छन्, तर नेपालमा त्यस्तो मेशिन भित्रिन सकेको छैन्’ उनले भने, ‘नेपालमा चट्याङ पूर्वानुमान यन्त्र अत्यावश्यक जस्तै भैसकेको छ।’

सरकारले यस विषयमा राम्रोसँग चासो दिन नसकेको स्वीकार्छन् विपद तथा द्वन्द्व महाशाखाका प्रमुख न्यौपाने । ‘चट्याङ विशेषज्ञहरूले भनेजस्तो पूर्वानुमानका यन्त्रहरू हामीले ल्याउन सकेका छैनौँ, अन्य विपद जस्तो यसका लागि भनेर विशेष काम गरिएको छैन,’ उनले भने, तर सरकारले केही पनि गर्दै नगरेको भने होइन, विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ, अन्य कार्य योजनाहरू पनि बनिरहेको छ । कतिपय स्थानहरूमा स्थानीय तह आफैँले यस्ता कामहरू गरिपनि रहेका छन् ।’

प्राकृतिक रुपमा हुने यस्ता घटनाबाट बच्न प्रत्येक घरमा अर्थिङ लगायत चट्याङबाट बच्ने यन्त्र जडान गरिनुपर्ने उनको धारणा छ । ‘चट्याङ भनेको प्राकृतिक कुरा हो कतिबेला पर्छ भन्न सकिँदैन, त्यसैले अब घर घरमा चट्याङबाट बच्ने संयन्त्र जडान गर्ने योजनामा हामी छौँ, अहिले बनिरहेको नयाँ घरहरूमा त भइनै हाल्छन्, पुरानामा पनि त्यस्ता यंन्त्र राख्ने तयारीमा छौँ, कार्ययोजना बन्दैछ ।’

सरकारले बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपलाई मात्र ध्यान दिँदा झट्ट हेर्दा सानै देखिए पनि खतरनाक चट्याङको विषयमा केही नगर्ने हो भने वर्षेनी सयौँ मानिसको ज्यान सित्तैमा गुमाउने पर्ने गुनासो गर्छन् नुवकोट घर भइ ललितपुर बस्दै आएका शिवराम भट्ट ।

याे पनि पढ्नुहाेस
चट्याङ के हो ? यसको क्षतिबाट कसरी बच्ने ? 

ताजा समाचार

सम्बन्धित समाचार